Logo

कोरोना कहरमा आध्यात्मिक सन्दर्भ



दीपक भण्डारी : अहिलेको विषम परिस्थितिलाई हेर्ने हो भने मानिसहरू आन्योलमा छन् किनकि एउटा सूक्ष्म तत्त्वले संसारको भौतिक अस्तित्वलाई निस्तेज पारेको छ । सारा संसार आफ्नो अस्तित्व बचाउनका लागि सङ्घर्ष गरेको छ र अध्यात्मलाई स्विकार्दै ईश्वरलाई सम्झेको छ । मानिस प्रश्न गर्दै छ – हामी केको लागि तँछाड–मछाड गर्दै समय खर्चेका रहेछौँ ? आखिर सबै कुराको केही अस्तित्व हुँदो रहेनछ–जीवन नै छैन भने । मानिस आफ्नो जीवनरक्षाको लागि सबै भौतिक कुरा त्यागी खुम्चिएर, अनुशासित भएर नियमका सिमित रेखाहरूमा सिमित भएर बाँच्ने प्रयास गरिरहेको छ । केही मानिस भित्री ईश्वरीय तत्त्वलाई अनुभूति गर्न नसक्दा बाहिर रहेका राक्षसी तत्त्वमात्र ग्रहण गरी आफैलाई समाप्त पारिरहेका छन् । कोही क्रोधले कोही लोभले, कोही मोहले, कोही मायाले, कोही भयले आफू भित्रभित्र खिइएका छन् । आफ्नो सुन्दर जीवनलाई समाप्त पारेका छन् । त्यसैले सकारात्मक सोच, सहयोगी भावना, धीरतालाई अँगाल्नु र विचलित नहुनु, मनलाई बाँध्न सक्नु अहिलेको आवश्यकता हो ।

अपेक्षा गर्नु ठूलो रोग हो । मानिसको आकाङ्क्षा ठूलो हुन्छ, त्यसको प्राप्ति गर्ने होडमा यथार्थलाई बिर्सिएर लागिपरेको हुन्छ । कर्म गर्न छोड्नुहुन्न तर कर्मको फल प्राप्ति आफूले अपेक्षा गरेसरह हुन्छ भन्ने आधार नभएकोले जस्तोसुकै परिस्थितिलाई सहर्ष स्वीकार्न सकियो भने मात्र यो जीवन सुखी र आनन्ददायक हुन्छ । जीवनलाई भयरहित बनाउनको लागि आशा त्याग्नुपर्छ । जीवनमा परमात्माको प्राप्तिको लागि जीवनरूपी विकारलाई शुद्धीकरण गर्न सक्नुपर्छ । जीवनका अमृतरूपी तत्त्वमा त्याग, दान, शान्ति, क्षमा, धैर्य, तेज आदिलाई अँगाल्न सके परमात्माको निकट पुग्न सकिन्छ । जीवनका विकार युक्त तत्त्वमा काम, क्रोध, लोभ, मोह, आशा र अहङ्कार आदिलाई त्याग्न सके जीवन आनन्दमय हुन्छ । जसरी जल स्वयंमा शुद्ध हुन्छ र त्यसमा अरू विकारी तत्त्वको मिश्रण भएपछि त्यसले शुद्ध जललाई अशुद्ध बनाइदिन्छ । त्यसैगरी हाम्रो भित्री आत्मा पनि शुद्ध हुन्छ र बाहिरी शारीरिक भोगविलासले गर्दा विभिन्न विकारलाई अँगाल्न पुग्छन् र भित्री आत्मालाई अशुद्ध बनाउँछन्, तर आफ्नो यो जीवनलाई परमात्मासँग जोड्नको लागि आफ्नो भित्री अस्तित्वलाई बुझ्न सक्नुपर्छ । यसरी छोटो समयको सुखको लागि अँगालिने तत्त्वले हाम्रो जीवनलाई अन्धकारतिर धकेलिराखेको हुन्छ । जीवनमा अमृत तत्त्वलाई लिन सक्यो भने जीवन उज्यालोतिर उन्मुख हुन्छ र आफूभित्र रहेको परमात्मालाई चिन्न सकिन्छ ।

म भन्ने अहमता राख्नु, लोकप्रियताको लागि मैले मात्र गरेको हुँ भन्ने देखाउन खोज्नु अज्ञानता हो । ममा स्वाभिमान हुनु राम्रो हो तर आफूभित्र अहमता आउनु भनेको आफूलाई दिन प्रतिदिन गिराउँदै जानु हो । ‘म, मेरो, मैले’ जस्तो भावनाबाट माथि उठी ‘हामी, हाम्रो, हामी’ले भन्ने भावना जागृत गर्न सके शान्ति र खुसी मिल्छ । आफूभित्र रहेको राग, द्वेष छोडिदिए कदापि क्रोध हुँदैन । इन्द्रियहरूलाई नियन्त्रणमा राख्न सके र आवश्यक कुरा लिएर अनावश्यक कुरा त्याग्न सके खुसी मिल्छ । मानिस भौगोलिक सीमा, धर्मको सीमा, जातको सीमामा आफूहरूलाई सिमित बनाएर स्वतन्त्र र स्वच्छन्द जीवनलाई मर्माहत बनाएको देखिन्छ । फराकिलो सोच बनाउने हो कि ! सोचलाई खुम्च्याउने हो ! भन्ने कुरा आफूमै भर पर्ने कुरा हो । म र मेरोबाट हामी र हाम्रोको सोच बनाउने कि ! हामी र हाम्रोबाट म र मेरोमा खुम्चिने ? ज्ञानीले आफूलाई फराकिलो बनाउँछन् र सबैलाई समेट्ने कोशिस गर्छन् । उनीहरू स्वार्थलाई त्याग्छन् र ईश्वरीय तत्त्वलाई बुझ्ने प्रयास गरी उसको निकट पुग्ने कोशिसमा हुन्छन् र आफ्नो जीवन धन्य बनाउँछन् । सबैलाई सन्मार्गमा हिँड्न अभिप्रेरित गर्छन् ।

जसबाट सत्–असत् समस्तवस्तुको यथार्थ ज्ञान हुन्छ ऊ ज्ञानी हो । छलकपट, झूट, चोरी, हिंसा, माया, मोह, आसक्ति, कामवासना त्यागेर धनदौलतको पछाडि नलागी निष्काम कर्म गरे मोक्ष प्राप्ति अवश्य हुन्छ र जीवन सफल हुन्छ । त्याग गर्ने क्षमता, अन्तस्करणमा शान्ति ल्याउनु, अरूको कुरा नगर्नु, प्राणीमात्रमा दया राख्नु, क्रुरता त्याग्नु, कमाएको वस्तुबाट अरूको सहयोग गर्नु, सकारात्मक सोच राख्नु ज्ञानी हुने बाटो समाउनु हो । अहङ्कार, बलजस्ता विकारले मन, चित्त, बुद्धि आदिलाई ढाकेको हुन्छ । यी विकाररूपी आक्षेप र आवरणले गर्दा हरेक प्राणीले आफै भित्र ईश्वर छ भन्ने कुरा अनुभूति गर्न सक्दैन र आफूभित्र रहेको ईश्वरलाई पनि चिन्न सक्दैन । साधुभाव र सत्यलाई प्रयोग गरेर कर्म गरियो भने त्यो नै तपस्या हो । सत्कर्मलाई निरन्तरता दिनु, फलको आशा नगर्नु, सन्तोषी हुनु नै आफूमै भएको परमात्माको नजिक पुग्नु हो । आत्मा सनातन छ, नित्य छ, फेरिन्न नासिन्न, स्थिर छ, पूर्ण छ । आत्मा न जन्मन्छ न मर्छ नै । शरीर साधन हो र आत्मा साध्य हो । नाश हुने त शरीर हो आत्मा त अमर हुन्छ । परमात्माको नजिक पुगेर गरिने कर्म सधैँ जीवित हुन्छन् र अमर हुन्छन् ।

मैले यो दान दिँदै छु, दिनु उचित छ र यसले अरूको उपकार गर्छ भन्ने जानेर र आपूmले यो दिँदा कसैलाई हानी नोक्सानी गर्दैन र आफूमा दिएको छु भन्ने दम्भ आउँदैन भने त्यो दान सात्त्विक दान हो । विवेक प्रयोग गरेर आवश्यक परेको व्यक्तिलाई दिने दान सात्त्विक दान हो, जसको प्रतिफलको आफूले केही आशा नै राखिँदैन । यसैगरी दीन–दुःखीको लागि गरिने सहयोग नै ईश्वरपूजा हो । आफूलाई पछि फलप्राप्ति हुन्छ भनी गरिएको दान राजसी दान हो । अनुचित ठाउँ, अनुचित समय, अनुचित व्यक्ति (अपात्र) र स्वार्थ मिश्रित दान तामसी दान हो । ढोँगीे प्रवृत्ति लिनु, अरूलाई देखाउनको लागि गरिने देखावटी काम गर्नु, आफ्नो स्वार्थको लागि दासत्वलाई स्वीकार्नु, हेपाहा प्रवृत्ति देखाउनु, अरूको कुरा सुन्नै नसक्नु र आफ्नो कुरा नै लाद्न खोज्नु, भेदभाव गर्नु, कसैप्रति आभारी हुन नसक्नु, आफ्नो गल्ती महशुस गर्न नसक्नु जीवनको सन्दर्भमा गरिएका ठूला भूल हुन् । यसबाट समग्रमा आफ्नै जीवनलाई ग्रहण लगाउनु हो, जीवनमा अन्धकार निम्त्याउनु हो ।

यस संसारलाई हेर्दा के देखिन्छ भने हामी जसको सानिध्यमा रहनुपर्छ, उसैको कमजोरी केलाउँछौँ र अझ ठूलो गल्ती के गर्छौं भने उसका कमजोरीलाई लिएर उसका गुणलाई बेवास्ता गर्छौं र घृणा गर्नतिर लाग्छौँ । अझ विडम्बना के छ भने हामी आफ्ना कमजोरी देख्दै देख्दैनौँ । जसले यो कुरा बुझ्ने प्रयास गर्छ र सबै वस्तु जीवको गुणमा केन्द्रित हुन्छ र त्यस वस्तु र जीवको गुणको आफ्नो जीवनमा फाइदा लिन्छ र आफूमा भएको गुणले अरू वस्तु र जीवलाई फाइदा पुग्ने काम गर्छ, त्यसले नै सही अर्थमा आफ्नो जीवनमा न्याय गर्छ । कसैको कमजोरी देख्नु भनेको उसको कमजोरीलाई स्वीकार्न नसक्नु हो ।

कमजोरलाई त्याग्नु आफूलाई बलियो नै बनाइराख्नु होइन, बरू आफ्नो समाजलाई कमजोर बनाउनु हो । समाज कमजोर हुँदा भविष्यमा आफूलाई नै कमजोर बनाउँदै जानु हो । कमजोरलाई त्याग्ने होइन, कमजोरको कमजोरीलाई परास्त गरी उसलाई पनि बलियो बनाउने हो र उसलाई आफूमा समाहित गरी झन् बलियो हुने हो र समाजलाई झन् बलियो बनाउने हो । सकारात्मक सोच जीवनको ठूलो ऊर्जा हो । सबैप्रति सकारात्मक सोच राख्न सके जीवन ऊर्जाशील हुन्छ । जसरी लडाइँमा होमिँदा चोट लाग्नु स्वाभाविक हो । कर्म गर्दा केही गल्ती हुनु पनि स्वाभाविक मान्न सकिन्छ । गल्तीमा स्वीकारोक्ति र क्षमा माग्न सक्नु नै जीवनमा अगाडि बढ्न ठूलो ढाल हुन सक्छ । जसरी हामी अरूको गल्ती देख्छौँ । हाम्रो आफ्नो पनि गल्ती हुन सक्छ भन्ने बुझ्नुपर्छ। हामी जहिले पनि क्षमाशील हुन सक्नुपर्छ, जीवनको लक्ष्य पनि प्राप्त हुन्छ र सांसारिक जीवन पनि सुन्दर हुन्छ ।

जीवन एउटा लडाइँ हो । यो लडाइँमा आफूमा भएको काम, क्रोध, लोभ, मोहादि राजसी र तमोगुणबाट उत्पन्न हुने राक्षसीतत्त्वलाई पनि मार्न सक्नुपर्छ र सबैमा भएको सत्त्व गुणबाट समुत्पन्न देवत्वलाई जगाउनुपर्छ । कर्मयोग र ज्ञानयोगलाई बुझ्दा कर्म गर्ने क्रममा भएका आफूसँग नै जोडिएर बसेका राक्षसीतत्त्वलाई पनि त्याग्न सक्नुपर्छ । कृष्णले अर्जुनलाई कर्मयोग र ज्ञानयोगको बारेमा ज्ञान दिन खोज्दा आफ्ना अति निकट आदर गर्नुपर्ने, माया गर्नुपर्ने व्यक्तिसँग नै लडाइँ गर्न प्रेरित गर्दा अर्जुन अन्योलमा पर्छन् । त्यस सन्दर्भमा कर्मयोग र ज्ञानयोगमा कुन श्रेष्ठ छ र कुनलाई अँगाल्दा उचित हुन्छ भनेर प्रश्न राख्दा आफ्नो प्रिय सखालाई कृष्ण भगवान् सम्झाउनुहुन्छ–अर्जुन तिमीले आफ्ना निकटको कुरा गर्छौ । अहिलेको अवस्था ल्याएको कसले हो र ! हाम्रो उद्देश्य धर्म संस्थापन हो ।

वर्तमान परिस्थितिमा बाहिरी विकारहरूलाई अँगाली धर्म विरोधी कार्यको लागि सहयोगी भूमिका निर्वाह कसले कसरी गरेका छन् भन्ने कुरालाई पनि बुझ्नुपर्छ, त्यसैले तिमीले नाश गर्ने भनेको त्यही बाहिरी तत्त्वलाई हो अर्थात् यो स्थूल शरीर हो, यो नाशवान् छ । उनीहरूको भित्री आत्मा अविनाशकारी छ, सधैँ अमर रहन्छ । यसको मृत्यु भन्ने कुरा नै हुँदैन । यहाँ तिमी निमित्तमात्र हौ, न तिमी मार्नेवाला हौ न कोही मर्ने हो । मानिसको आफ्नो भौतिक शरीर त्यागे पनि भित्री आत्मा अमर रहन्छ । जसरी भगवान् कृष्णको ज्ञान प्रवाहलाई बुझेर अर्जुनले आफन्तजनको भौतिक शरीरले अपनाएका विकारी तत्त्वलाई नष्ट गर्ने क्रममा उनीहरूको भौतिक शरीरलाई नाश गरे । त्यसैगरी हामीले पनि सकेसम्म भित्री आत्मालाई बुझेर बाहिरी भौतिक शरीरमा रहेका विकारलाई त्याग्न सक्नुपर्छ । कर्मयोगलाई बुझेर निरन्तर सही कर्म गर्नु र ज्ञानयोगलाई बुझेर सही र गलत छुट्याउन सक्ने प्रयत्न गर्नुपर्छ । सानो प्राप्तिमा खुशी हुने र सानो चिज गुमाउनुपर्दा दुखी हुने मानिसको स्वभाव नै हो तर यथार्थलाई बुझ्नने हो भने हामीले के लिएर आएका थियौँ –आफ्नो जन्ममा र के लिएर जाने हो र आफ्नो मृत्युमा । जे पाउँछौँ यही संसारबाट पाउँछौँ, केही गुमाउँछौँ भने यही संसारमा गुमाउँछौँ । केही प्राप्ति गर्दा यही संसारमा यथावत् रहेको वस्तुबाट नै प्राप्त गर्छौं । केही हामीबाट गुमेको छ भने यही संसारमा नै गुमेको छ । नाशवान् वस्तु नै गुमेको छ, क्षणिक आनन्दको वस्तु गुमेको छ । जसले हामीलाई चलाएको अविनाशी तत्त्व (आत्मा) त गुमेको छैन ।

यस भौतिक संसारमा जे जति आविष्कार भएका छन्, सबै ईश्वरको कृपा हो । मानव भएर जन्म लिनु र हरेक मानवमा ईश्वरीय शक्ति हुनु, कल्पना शक्ति हुनु र कल्पनालाई साकार पार्नेतिर अगाडि बढ्नु र भित्री रहस्यमा घोत्लिएर आजको चरम विकसित युगमा पुग्नु मानवजातिको ठूलो उपलब्धि हो । अहिले यस कोराना रूपी महामारीको अवस्थाले पनि प्रकृति र सृष्टिलाई मानवजातिले चुनौती दिन सक्दो रहेनछ भन्ने पुष्टि गरेको छ । मानवजातिले जति उपलब्धि हासिल गर्छ, यही प्रकृति र सृष्टिभित्र रहेका रहस्यको खोज र पत्ता लगाएर नै हो । प्रकृति ईश्वरको देन हो । हाम्रो जन्म हाम्रो मृत्यु उसकै हातमा छ । हाम्रो जन्मको निश्चित समय छ र मृत्युको पनि निश्चित समय छ । हरेक प्राणीको जन्म र मृत्युको कारण पनि छ । यस संसारमा केही हुन्छ भने पनि केही कारण हुन्छ । त्यो कारण उसैलाई थाहा छ, हामी त केवल निमित्त मात्र हौँ । त्यसैले अहिलेको परिस्थितिमा पनि संयम बनी आफूभित्र रहेको ईश्वरलाई अनुभूति गरी अनुशासित बनी आफ्नो कर्ममा लाग्नुपर्छ ।

हिंसा गर्नु भनेको अरू प्राणीलाई क्रोध, घृणाको नजरले हेरेर हानि पु¥याउनु पनिहो । त्यसैले हामीले शत्रुलाई पनि नराम्रो सोच्नुहुन्न । सकिन्छ भने उसलाई राम्रो गर्ने र उसलाई मित्रमा बदल्ने । त्यसो गर्न सकिँदैन नराम्रो नसोच्नु नै राम्रो हुन्छ । अरूले राम्रो गर्ने सोच राखी गरेको काम छ भने आफूले साथ दिने । साथ दिनु भनेको अवरोध सिर्जना नगर्नु पनि हो । कर्म गर्ने सिलसिलामा प्रतिस्पर्धा उचित हो तर अरूलाई अनैतिक तरिकाले अवरोध गर्नु पनि पाप हो । अरूको लागि पनि प्रगतिको बाटो खुला गरिदिनु धर्म हो । सधैँ आफ्नो मात्रै सफलता चाहनु र आफ्नो सफलताको लागि अरूलाई सफल हुन नदिनु आफू नै सधैँ शक्तिशाली हुने शासक प्रवृत्ति हो । अरूको सफलताको लागि साथ दिए समाज नै सफल हुन्छ र ईश्वरले सिर्जना गरको यो सृष्टिलाई झन् सुन्दर बनाउन सक्छौँ । नेतृत्वदायी भूमिका ग्रहण गर्नुपर्छ तर सधैँ आफू राज गर्ने मनोवृत्ति त्याग्नुपर्छ । जसरी जन्म र मृत्युबीचको पनि समय सीमा हुन्छ । हाम्रो कार्यक्षमताको पनि निश्चित सीमा हुन्छ, त्यसैले अरूलाई अवसर दिनको लागि कन्जुस्याइँ गर्नुहुँदैन । हामी यी कुरा मनन गरी अगाडि बढ्न सके यस सृष्टिको चक्रीय नियमलाई स्वीकारी आफ्नो जीवन सही मानेमा सफल बनाउने छौँ । आफ्नो निहित स्वार्थलाई नै प्राथमिकतामा राखी गरिने कामले क्षणिक आवश्यकता पूरा भएको महशुस भए पनि सन्तुष्टि कहिले प्राप्ति हुन सक्दैन र लोभ र आकाङ्क्षाको भुमरीमा फँस्दै जान्छ र जीवनलाई अन्तमा धिक्कार्न थाल्छ । त्यस्तो जीवन मरण पछाडि आफूसँगै हराएर जान्छ । आफ्नो कुनै निसानी वा अस्तित्व संसारमा छोड्न सक्दैन । यथार्थमा मानिस अरूको जीवनलाई सपार्न आफ्नो जीवनलाई सदुपयोग गर्ने गर्छ, ऊ आफ्नो मरणपछि पनि हरेक मानिसको स्मृतिमा रहन्छ र दृष्टान्त बनेर सधैँ बाँचिरहन्छ । त्यसैले मानिसले आफ्नो जन्मलाई साकार बनाउनको लागि स्वार्थलाई त्यागी केही राम्रो उदाहरणीय काम गर्न अग्रसर हुनुपर्छ ।

प्रकृतिमा हरेक प्राणीले हरेकको जीवनको लागि एक अर्कामा सहयोगी भूमिका निर्वाह गरेका हुन्छन् । अहिले विज्ञानलाई आधार मान्ने हो भने पनि कोरोना भाइरसले कसैको शरीरमा प्रवेश गर्नु भनेको उसको विनाशको लागि होइन बरु उसको शरीरमा सँगै समाहित भएर बस्नको लागि हो । हाम्रो शरीरले भाइरसलाई सहन नसकिराखेको अवस्थामा त्यसले आफ्नो स्वरूप परिवर्तन गर्छ र सकेसम्म अर्को प्राणीको शरीरमा मिली बस्न खोज्छ । अहिलेको कोरोना भाइरसले पनि स्वरूप परिवर्तन गरेको हामी समाचारमा सुन्ने गरेका छौँ, त्यो पनि त्यसै कारणले हो । त्यसैले हामीले बुझौँ कि भाइरससँग हामीले समाहित गर्न नसकेको हो । उसले हामीलाई नाश गर्न खोजेको होइन । यही उदारणलाई मान्ने हो भने पनि कसैसँग हामी मिल्न सक्दैनौँ भने उसको कारणले होइन आप्mनै कारणले हो – ऊसँग समेटिन नसक्नु, उसलाई अपनाउन नसक्नु । जसरी पानीविना बादल हुँदैन र बादलविना पानी । यस प्रकृतिमा सबैको आफ्नो महत्त्व हुन्छ । हाम्रो समाजमा पनि सबैको आफ्नो महत्त्व हुन्छ । हाम्रो घर–परिवारमा पनि सबैको आफ्नो महत्त्व हुन्छ । कुनै संस्थामा पनि आ–आफ्नो महत्त्व हुन्छ । सबै एकअर्कामा परिपूरक हुन्छन् ।

मान्छे आज धर्मको नाममा समूहमा विभाजित भएको छ र एकले अर्कालाई स्विकार्न सक्दैन । त्यसरी जन्मिएका समूहका नेतृत्वले पनि आफ्नो निहित स्वार्थको लागि सिधा, अज्ञानी मानिसको झुन्डलाई प्रयोग गरी अन्धोभक्त बनाई समाजमा नकारात्मक प्रभाव पारेको देखिन्छ । हाम्रो समाजमा मानिस केही कुरा अथवा कोहीप्रति चाहिनेभन्दा धेरै नै आसक्त भएको हुन्छ भने उसले अर्को वस्तु अथवा अरू कोहीप्रति न्याय गर्न सक्दैन । मानिस भेदभाव गर्छ भने उसले सबैको महत्त्व बुझ्न नसकेको मान्नुपर्छ । हामी हाम्रै समाज परिवारमा देख्ने गरेका छौँ कि अर्को व्यक्तिलाई पीडा दिन, होच्याउन, कसैप्रति चाहिनेभन्दा धेरै नै लगाव राख्ने प्रवृत्ति हावी भएको, तर त्यो राम्रो होइन । सबैसँग मिल्ने र सबैलाई मिलाएर राख्ने बहानामा सरल र सिधालाई सधैँ पेल्ने, कमजोरी देखाउने र जो बाठो प्रवृत्ति देखाएको हुन्छ – उसको कमजोरी लुकाइदिने अथवा नदेखे जस्तो गर्ने प्रवृत्ति पनि समाजमा व्याप्त छ, यस्तो कार्य कायरले र यथार्थलाई नबुझेको मान्छेले मात्र गर्छ, जसले गर्दा परिवार वा समाजमा महाभारत निम्तिने गर्छ । त्यसैले सबैलाई समान व्यवहार गर्नु, आफ्नो साथै सबैको कमजोरीलाई महशुस गरी कमजोरीलाई हटाउने कोशिस गरी आफ्नो परिवार, संस्था, समाजलाई बलियो बनाउने गर्नुपर्दछ । अहिले मान्छे सामाजिक उत्तर दायित्वबाट पन्छिन खोज्छ । ऊ आफ्नो निहित स्वार्थमा केन्द्रित भएको देखिन्छ । मान्छे कसैले केही गर्छ भने त्यसले समाजमा के सकारात्मक सहयोग पुग्यो भन्ने विचार गर्नुपर्छ । आफू मात्र बाँच्न त जन्मेपछि प्रकृतिले नै बचाउँछ । हामीभन्दा कमजोर प्राणी पनि बाँचेकै छन् । हामीले आफ्नो जन्म र जीवनलाई सार्थक रूप दिनको लागि आफ्नो समाजलाई मैले केही गर्नुपर्छ भन्ने जिम्मेवारी बोध हुनुपर्छ । यही नै जीवनको सार्थकता हो ।

धुम्बाराही, काठमाडौँ । २०७७ भाद्र १५ ।

 



प्रतिक्रिया दिनुहोस्