Logo

अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर



वासिङ्टन, १९ भाद्र । कोरोनाभाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्तराज्य अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ । अमेरिकी बजेट तयार पार्ने कङ्ग्रेस बजेट कार्यालयका अनुसार अर्थतन्त्रलाई जीवन्त राख्न सरकारले गरेका खर्चका कारण संघीय बजेटमा २० खर्ब डलरभन्दा बढी भार थप भएको छ ।

बजेट घाटाको अंक बढ्नुको अर्थ हो, अर्को वर्ष संघीय ऋण वार्षिक कूल गार्हस्थ्य उत्पादनभन्दा बढी हुनेछ । यो स्थितिमा अमेरिका यसअघि दोस्रो विश्वयुद्धपछि मात्र पुगेको थियो । त्यसबखत कूल राष्ट्र ऋण समग्र अमेरिकी अर्थतन्त्रको आकारभन्दा बढी थियो ।

बुधबार सार्वजनिक गरिएको ३३ खर्ब डलरको अंक सन् २०१९ को कूल घाटाभन्दा तीन गुणा बढी हो । कोरोनाभाइरस महामारीबाट सिर्जित समस्यापछि घोषणा गरिएका चार पटकका राहत प्याकेजका कारण सरकारको कूल खर्च ६६ खर्ब डलर पुगेको छ, र यो रकम सन् २०१९ को भन्दा २० खर्ब डलरभन्दा बढी हो । आर्थिक मन्दीका कारण राजश्वमा कमी आएको छ । व्यक्तिगत आयकरको संकलन गत वर्षको भन्दा ११ प्रतिशतले न्यून छ । कर्पोरेट राजश्व पनि ३४ प्रतिशतले घटेको छ ।

कोरोनाभाइरसका कारण गरिएको लकडाउनले समग्र अर्थतन्त्रमा व्यापक असर पारेको भन्दै संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यवसायीलाई अनुदान, बेरोजगारी भत्ता, १,२०० डलर प्रत्येक व्यक्तिका खातामा सोझै भुक्तानी र अरु राहत योजनाले छोटो अवधिका लागि भए पनि अर्थतन्त्रलाई जोगाउन मद्दत गरेको थियो ।

अधिकांश अर्थशास्त्रीहरु अर्थतन्त्र ठूलो संकटमा परेका बखत ठूलो मात्रामा राष्ट्रऋण उठाउनु स्वाभाविक रहेको बताएका छन् । तर अहिले सांसदहरु र ह्वाइट हाउसबीच पाँचौं राहत प्याकेजका बारेमा गम्भीर विचारविमर्श जारी छ । डेमोक्राट पार्टीको नियन्त्रण रहेको कंग्रेसले गत मे महिनामा ३५ खर्ब डलरको राहत योजना पारित गरेको थियो ।

यस वर्षको अन्त्यसम्ममा राष्ट्रिय ऋण अमेरिकाको कूल गार्हस्थ्य उत्पादनको ९८ प्रतिशत पुग्नेछ, र यो वस्तु तथा सेवाको कूल अंक बराबर हो । बजेट कार्यालयले सन् २०२१ मा राष्ट्रऋण कूल जिडिपीको १०० प्रतिशत पुग्ने जनाएको छ । आगामी दशकमा राष्ट्रऋण करिब १३० खर्ब डलर पुग्ने समाचार आजको वीनेपालीले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्