काठमाडौं, २१ भाद्र ।प्रधानमन्त्री निवास बालुवाटारबाट शुक्रबार नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमको नागरिकताको प्रतिलिपि माग भयो । उनले प्रतिलिपि पठाइसकेका छन् । यसको अर्थ अब बस्ने मन्त्रिपरिषद् बैठकले उनको नाम राष्ट्रियसभाको राष्ट्रपतिबाट मनोनित हुने सदस्यका लागि सिफारिश हुनेछ । बर्दियाबाट चुनाव हारेका गौतम अब राष्ट्रियसभा सदस्य बन्दैछन् ।
गौतमलाई राष्ट्रियसभामा मनोनित सदस्यका रुपमा लानुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका लागि वाध्यता पनि हो । उनले गौतमलाई मनोनित गर्न चाहेका थिएनन् । डा. युवराज खतिवडालाई मनोनित गरी अर्थमन्त्रीमा निरन्तरता दिने ओलीको प्रयास सफल हुन सकेन । बामदेवलाई राष्ट्रियसभामा लाने नेकपा सचिवालयको यसअघिको निर्णय कार्यान्वयन गर्नुपर्ने दबाबका कारण उनैले यसबारे निर्णय गरिने गत हप्ता बसेको सचिवालय बैठकमा जानकारी गराएका थिए ।
बामदेव अब सांसद बनेपछि उपप्रधानमन्त्रीको दाबेदार देखिएका छन् । कतिपयले यसमा संवैधानिक व्यवस्था बाधक रहेको तर्क पनि गरेका छन् । तर, गौतमको चाहना उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने देखिइसकेको छ । उनको सरकारमा जाने चाहना पनि ओलीका लागि वाध्यकारी हुनसक्छ । पार्टीभित्र उनीमाथि फेरि दबाब बढ्न सक्छ ।
सचिवालयमा गौतमको साथ विना ओली अल्पमतमा पर्न सक्छन् । त्यसैले गौतम अहिले पार्टी राजनीतिमा सुरथको एक्का बनेका छन् । उनको साथ हुँदा नहुँदा ओलीको सत्ता टिकाउने प्रयासमा फरक पर्न सक्छ । अझैपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल ओलीविरुद्ध उपयुक्त समय कुरेर बसेका छन् । यसको हेक्का गरेकाले ओलीले बामदेवलाई साथमा ल्याएका छन् ।
गौतमले ओलीलाई तत्कालिन नेकपा एमालेको अध्यक्ष बन्दा महत्वपूर्ण सहयोग गरेका थिए । तर, उनै ओलीले बामदेवलाई प्रतिनिधिसभाको चुनाव हराउने चलखेल गरेको आरोप लाग्यो । गौतमले ओलीलाई दुईपटक सत्ता संकट हुँदा अन्तिम समयमा साथ दिएर जोगाउन योगदान गरेका थिए । गौतमले पटक पटक अन्तिम समयमा दिएको साथ महत्वपूर्ण सावित भएको ओलीले बुझेको हुनुपर्छ । त्यसैले उनका लागि गौतमको साथ अनिवार्य जस्तै भएको छ । अहिले ओलीका लागि बामदेवलाई सन्तुष्ट बनाउनु वाध्यकारी बनेका छन् । यसले नेकपाको आगामी मन्त्रिमण्डल पुर्नगठनमा असर पार्ने देखिएको छ ।




प्रतिक्रिया