काठमाडौं, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज निजी क्षेत्रका नेतृत्वकर्ताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा भर्खरै अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडापनि सहभागी थिए ।
उक्त छलफलमा प्रधानमन्त्री ओलील्े नागरिकको जीवन बचाउन नै मुख्यरूपमा सरकारले ध्यान दिएको जनाउँदै स्वतन्त्रताको असन्तुलित वकालतले ठूलो क्षति भोग्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका छन् । अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले आज निजी क्षेत्रका नेतृत्वकर्तासँगको छलफलमा कोभिड–१९ बारेको सूचना प्रवाहले भयावह तस्वीर प्रस्तुत गरेर जनजीवनलाई आतङ्कित गर्न नहुने बताए।
छलफलमा उद्योगी तथा व्यवसायी भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतीश मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले सुझाव प्रस्तुत गरेका थिए । त्यसक्रममा उद्योगी व्यवसायीले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान बनाउन र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावमा सरकारले यसबेला चालेका विभिन्न कदम, गरेको अध्ययन र सम्बोधनका बारेमा स्पष्ट गरेका थिए । तस्विर : प्रधानमन्त्रीको सचिवालय




प्रतिक्रिया