Logo

कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु भएपछि इजरायलमा राति कर्फ्यु



जेरुसेलम, २२ भदौ: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कोरोनाभाइरसबाट अति प्रभावित झण्डै ४० वटा शहर बजारमा रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाइने आइतबार घोषणा गरेका छन् ।

इजरायली वरिष्ट अधिकारीहरुको आइतबार अबेरसम्म घण्टौं चलेको परामर्श बैठकपछि उक्त निर्णय घोषणा गरिएको थियो । देशभर एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सरकारले नयाँ नियमहरु घोषणा गर्नु परेको हो । पछिल्ला दिनहरुमा इजरायलमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् ।

यस्तो कफ्र्यु सोमबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म लाग्नेछ । तर यो कर्फ्यु कति समयसम्म जारी रहनेछ भन्ने स्पष्ट भइसकेको छैन । मानिसहरुलाई आफ्ना घरबाट ५०० मिटरभन्दा टाढा नजान र अत्यावश्यकभन्दा बाहेकका अरु व्यापार व्यवसाय बन्द गर्न भनिएको छ ।

इजरायलले कोरोना नियन्त्रणका लागि शुरुमा अपनाएका विधिप्रति धेरैले सकारात्मक रुपमा लिएका थिए । तर मे महिनामा नियमहरुलाई खुकुलो बनाएसँगै नयाँ संक्रमितको संख्या ह्वात्तै बढेको थियो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरोधमा भइरहेको साप्ताहिक प्रदर्शनका कारणले पनि संक्रमण फैल्याउन मद्दत गरेको छ ।

पछिल्ला दिनहरुमा दैनिक तीन हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिन थालेको छ । सरकारले संक्रमण रोक्न राष्ट्रव्यापी लकडाउन गर्ने सोचाई पनि अघि सारेको छ ।

समग्रमा, इजरायलमा एक लाख ३० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् र अझै २६ हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित छन् । हाल प्रत्येक दिन तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

प्रधानमन्त्री नेतन्याहूले नियुक्त गर्नुभएका कोरोनाभाइरस परियोजना व्यवस्थापक डा रोन्नी गाम्जुको परामर्शमा सेनाले कोरोना संक्रमण रोक्न गत महिना एउटा कार्यदल गठन गरेको छ । यसले मुख्य कार्य नै संक्रमित व्यक्तिको सम्पर्क पहिचान गर्ने र संक्रमणको शृंखला रोक्ने रहेको छ ।

इजरायली अधिकारीहरुमाथि व्यवसाय र विद्यालयहरु चाँडै खोलिएको भन्दै जनस्तरबाट आक्रोश व्यक्त भइरहेको छ ।–एपी/Photo Source: The Times of Israel



प्रतिक्रिया दिनुहोस्