Logo

पर्यटन क्षेत्रलाई लयमा फर्काउन पाँच वर्ष लाग्ने



काठमाडौं, भदौ २३ । कोभिड–१९ का कारण क्षतिग्रस्त पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार–पाँच वर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन्।

कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउने उनीहरुको भनाइ छ। नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले सोमबार आयोजना गरेको सेजन अर्थनीति बहस अन्तर्गत पर्यटनको सम्भावना विषयक भिडियो कन्फेरेन्समा उनीहरुले यस्तो धारणा राखेका हुन्।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्र लगायत निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए। कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै अब ठूलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताए। ‘अब मास टुरिजमको एरा गयो,’ पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने, ‘अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ जहाँ कुनै विशेष इन्ट्रेसको आधारमा सेवा दिन सकिन्छ।’ त्यसो भयो भने मात्रै पर्यटक भित्र्याउन सकिने उनले बताए। त्यस्तै, उनले पर्यटन क्षेत्रमा केही नयाँ आविष्कार गर्न सके पर्यटक भित्र्याउन सकिने बताए। कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिश्चितता बढेको श्रेष्ठको भनाइ छ। त्यसैले डरलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

तर निरन्तरता दिन पनि अनिश्चितताका कारण समस्या भएको श्रेष्ठको भनाइ छ। नेपालको पर्टयन क्षेत्रले पर्यटकका लागि के के दिन सक्छन् भन्ने निश्चित पनि गर्नुपर्ने उनको भनाइ थियो। पर्यटन क्षेत्रका लागि २०२० सबैभन्दा बढी नकारात्मक भएको भन्दै त्यसबाट माथि उठ्नुको विकल्प नभएको समेत पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ थियो।

भूकम्पका बेला पर्यटन क्षेत्रमा परेको असरलाई छोटो समयमा व्यवस्थापन गर्न सफल भएको तर यसपालिको समस्या भने केही फरक भएकाले पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन केही समय लाग्नेमा उनको जोड थियो। व्यवसाय खुलेपछि प्रसारप्रचार गर्ने बेला पनि यही भएको र यही आधारमा यति मात्रै पर्यटक ल्याउँछौ भनेर बजार व्यस्थापनमा जान सकिने उनले बताए।

कोरोनाले पर्यटन क्षेत्रमा मात्रै नभई, स्वासथ्य, अर्थतन्त्र र सामाजिक क्षेत्रमा पनि समस्या निम्त्याउन थालेको भन्दै त्यसका लागि सरकारले नीतिगत व्यवस्थापन गर्नुपर्ने उनले बताए। सरकारले २०२० मा नेपाल भ्रमण वर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। त्यसैलाई लक्षित गर्दै सरकारी तथा निजी क्षेत्रले गरेको लगानी जोखिममा परेको श्रेष्ठले बताए।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रका लागि उत्प्रेरणा प्याकेज ल्याए पनि कार्यान्वयन नहँुदा प्रभावकारी नभएको पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए। त्यस्तै, फरक स्वार्थ भएका धेरै स्टेकहोल्डरहरु पर्यटन क्षेत्रमा भएका कारणले यी सबैको स्वार्थलाई समन्वय गर्न सके पर्यटक भित्र्याउन सकिनेमा उनको जोड थियो।

त्यसैगरी, पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चार–पाँच वर्ष लाग्ने बताए। ‘२०२४–२५ यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न,’ शाक्यले भने। पर्यटन क्षेत्रलाई जीवन्त राख्न सरकार र निजी दुवै क्षेत्रको समन्वय आवश्यक पर्नेमा शाक्यले जोड दिए। त्यस्तै, पर्यटन भित्र्याउन विमानस्थलको सम्पूर्ण व्यवस्थापन गर्न निजी क्षेत्र तयार रहेको शाक्यको भनाइ छ।



प्रतिक्रिया दिनुहोस्