Logo

क्यालिफोर्नियाको आगलागी झन् फैलिदै



२४ भदौ: अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरनजिकैको जंगलबाट शुरु भएको यस वर्षको आगलागी निकै ठूलो क्षेत्रसम्म नै फैलिएको पछिल्लो समाचारमा जनाइएको छ ।

प्राप्त सो समाचारमा सो क्षेत्रमा लागेको भीषण आगो यस वर्ष करिब २० लाख हेक्टर जमिनसम्म पुगीसकेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । क्यालिफोर्नियाको वन विभाग र आगलागी नियन्त्रण केन्द्रले सो जानकारी दिएको बताइएको छ ।

आगलागीका कारण जंगलनजिकै रहेको बस्तीका कैयौँ घर जलेर नष्ट भएका छन् भने सयौँ मानिस विस्थापित पनि भएका त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।उक्त विभागले दिएको जानकारीमा यहाँका घर तथा अन्य सरकारी तथा निजी गरी ३ हजार ३०० भन्दा बढी संरचनाहरु जलेर नष्ट भएका छन् ।

यस वर्षको आगलागीका कारण आठ जनाको मृत्यु भएको छ भने राजमार्ग तथा अन्य आवश्यक मार्गहरु पनि बन्द भएका जनाइएको छ । आगलागीसँगै हावा तीब्र गतिमा चलिरहेकाले आगो निभाउन समस्या भएको र यसका कारण ठूलो जंगल क्षेत्र जलेर सखाप भइसकेको अधिकारीहरुले जनाएका छन् ।

यहाँ अहिले पनि तिब्र गतिमा हावा चलेको छ र आगोका मुस्लोहरु निस्किएर निकै टाढा टाढासम्म पनि पुगेका छन् । यसले गर्दा यहाँको हावा प्रदुषित हुनुको साथै तातो हावाको वहाब बढेको छ ।आगो निभाउनका लागि यहाँ सयौँको संख्यामा अग्नी नियन्त्रक परिचालन गरिएको छ । आगो तिब्र रुपमा फैलिरहेका कारण आसपासका सयौँ भवनहरु खाली गराइएको छ ।

विमानबाट पानी हालिएको छ तर पनि अत्यधिक गर्मी र तेज हावाका कारण आगो नियन्त्रणमा लिन समस्या भइरहेको छ । आगलागीका कारण शहरका विभिन्न भागमा धुँवाको मुस्लोले आकाश ढाकेको छ ।

यहाँका गभर्नरले क्यालिफोर्नियामा संकटकाल घोषणा गरेका छन् । आगो नियन्त्रणमा आएर सर्वसाधारणलाई सहज वातावरण नहुदासम्मका लागि यहाँ संकटकाल घोषणा कायमै रहेको बताइएको छ ।-एएनआई



प्रतिक्रिया दिनुहोस्