Logo

लकडाउनपछि आत्महत्याको डरलाग्दो तथ्याङ्क, के भन्छन् मनोचिकित्सक ?



भदौ २५, काठमाण्डौ । सेप्टेम्बर १०, ‘विश्व आत्महत्या रोकथाम दिवस’ । विभिन्न कार्यक्रम सहित दिवशले निरन्तरता पाएपनि आत्महत्या नेपालसहित विश्वका लागि ठूलो चुनौती बनेको छ । सन् २०१९ मा गरिएको एक अध्ययनले नेपाललाई दक्षिण एसियाकै दोस्रो धेरै आत्महत्या गर्ने देशका रुपमा उभ्याएको थियो । कोरोना महामारीसँगै नेपालमा आत्महत्या गर्नेको संख्या २० देखि ३० प्रतिशतले बढेको छ ।

आत्महत्या, विश्वका लागि चुनौती बनिरहेको एउटा समस्या । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ८ देखी १० लाखले यसैका कारण ज्यान गुमाउने गरेका छन् । यो वर्ष कोरोना महामारीका कारण उत्पन्न समस्याले विगतको तुलनामा मनोसामाजिक समस्या र आत्महत्याको दर थप बढ्ने देखिएको छ । दक्षिण एशियाकै दोश्रो धेरै आत्महत्या गर्ने मुलुकका रुपमा विभिन्न अध्ययनले देखाएको नेपालमा कोरोना महामारीका कारण लकडाउन गरिएको चैत १० गतेदेखि साउनसम्म नै २ हजार २ सय १८ जनाले आत्महत्या गरेको सरकारी तथ्याङ्क छ । कोरोना सङ्क्रमणको यो बेला औसत दैनिक १९ जनाले आत्महत्या गरेका छन् ।

कोरोनाले निम्त्याएको आर्थिक, सामाजिक, पारिवारिक समस्या र मानसिक तनाव झेल्न नसकेर कतिपयले आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ । यसअघि भुकम्पले पुर्याएको मानविय र आर्थिक क्षतिपछि आत्महत्याको दर बढेको भन्दै मनोचिकित्सकहरु कोरोनाको महामारीमा आर्थिक मारमा परेका समूदायको समस्या समाधान र सचेतनामुलक कार्यक्रम नगर्ने हो भने जोखिम थप बढ्ने बताउँछन् ।

लकडाउन, निषेधाज्ञा तथा घरभित्रै बस्नुपरेका कारण गरिखाने वर्गमा सबैभन्दा बढी असर देखिएको छ । समस्यालाई बाँड्न सके तनाव कम हुने र आत्महत्या रोक्न सकिने विज्ञले बताएका छन् । एक अध्ययनअनुसार करिब ६१ प्रतिशतले कोरोना माहामारीका कारण आफ्नो आम्दानी र जीविकोपार्जनका उपाय गुमाएको पाइएको छ । अझ बालबालिकामा समेत मानसिक समस्या बढेको देखिन्छ । सर्बेका क्रममा १३ प्रतिशतले बालबालिका उपचार गर्न जाँदा समस्या परेको र १० प्रतिशतले आफ्नो बालबालिका रिसाउने, झर्को मान्ने र उदास हुने गरेको जानकारी दिएका छन् ।

पसल, व्यवसाय र रोजगारी गुम्नेलाई आर्थिक पिरलो अनि विद्यार्थीहरूमा लामो समयसम्म शैक्षिक समस्या बन्द हुँदा भविष्य के हुने भन्ने चिन्ताले मानसिक समस्यमा थपिदिएको छ । मनमा कुरा नखेलाउन, सकारात्मक कुराहरु सोच्न र नियमित व्यायाम गर्न मनोचिकित्सक डा. अरुण कुँवरको सुझाव छ । आत्महत्या गर्ने व्यक्तिले पहिले नै परिवार, आफन्त वा साथीभाइलाई पूर्वसङ्केत दिने भन्दै मनोचिकित्सकहरु त्यस्ता व्यक्तिलाई बेलैमा सकारात्मक विकल्प देखाएर र आवश्यक पर्दा मनोचिकित्सकसँग परामर्श गराए ज्यान जोगाउन सकिने कुँवर बताउँछन् ।

आत्महत्याको बाटो रोजेका कतिपयले आफैँ मनोपरामर्शकोमा पुगेर ज्यान जोगाउन सफल भएका उदाहरणपनि छन् । तर भौतिकवादी सोच र देखासिखि गर्ने मानविय प्रबृत्तिका कारण बढ्दै गरेको मानसिक तनाब अनि आत्महत्याको दरले विश्वलाई नै चुनौती थपिदिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्