फूटपाथ पसल तथा ठेला व्यापारमाथि पूर्ण प्रतिवन्ध लगाईयोस् : उपप्रमुख खड्गी


मुकुन्द कालिकोटे : काठमाडौं २६ भाद्र । काठमाडौं महानगरपालिकाभित्र फुटपाथ पसल तथा ठेला व्यापारमाथि पूर्ण प्रतिवन्ध लगाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापन पत्र बुझाइएको छ । शुक्रबार महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौं प्रशासनका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापन पत्र बुझाएकी हुन् । फुटपाथ पसल तथा ठेला व्यापारका कारण कोरोना संक्रमण बढ्न सक्ने भन्दै यस्तो व्यापारमा पूर्ण प्रतिवन्ध लगाउनुपर्ने उप प्रमुख खड्गीको माग थियो ।

फूटपाथ पसल र ठेला व्यापारमा सहभागी हुनेहरुको स्वास्थ्य सुरक्षाका उपायहरु न्युन रहेको भन्दै त्यस्तो व्यपारमा प्रभावकारी अनुगमन गर्न समेत समस्या हुने ज्ञापन पत्रमा उल्लेख छ । त्यस्तै त्यस्ता व्यापारिहरुमा  संक्रमण देखिएकाहरुको प्रभावकारी ढंगले कन्ट्याक्ट ट्रेसिङ समेत गर्न नसकिने तथा फुटपाथ तथा ठेला व्यापारलाई नियन्त्रण गर्ने महानगरपालिकाको नीति गरेको उपप्रमुख खड्कीले जानकारी दिईन् ।

उपप्रमुख खड्गीले भनिन्–”लकडाउन खुकुलो पार्न प्रशासनले जारी गरेको आदेशमा फुटपाथ पसल तथा ठेला व्यापारलाई पूर्ण रुपमा प्रतिवन्ध लाग्ने गरी पुनः आदेश जारी गर्न अनुरोध गरिएको छ ।” यसअघि उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने क्रममा प्रशासनले जारी गरेको आदेशमा  बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म फुटपाथ पसल तथा ठेला व्यापार सञ्चालन गर्न पाउने उल्लेख छ । ज्ञापन पत्र बुझ्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले यस बिषयमा छलफल गर्ने आश्वासन दिएका थिए ।