Logo

बामदेवले अर्थमन्त्री नपाउने, गृहमा सम्भावना



काठमाडौं, २७ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम सरकारमा जान इच्छुक देखिएका छन् । त्यसैका लागि उनले राष्ट्रियसभा सदस्यमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने चाहना व्यक्त गरेका हुन् ।

गौतमलाई सम्भवत आउँदो क्याबिनेटले मनोनित गर्ने भएको छ । त्यसका लागि सम्पूर्ण प्रक्रिया पूरा गरी तयारी गरिएको छ ।

अब उनको सरकारमा जाने ढोका पनि खुल्न सक्छ । सरकारमा उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय सम्हाल्ने गौतमको चाहना छ । उनले त्यसका लागि पुरक बजेट ल्याउने सम्मको रणनीति बनाएका छन् ।

तर, गौतमलाई अर्थमन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री केपी शर्मा ओली तयार छैनन् । उनलाई अर्को कुनै मन्त्रालयमा लाने ओलीको इच्छा रहेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार ओलीले गौतमलाई अर्थबाहेकको विकाससम्बन्धी मन्त्रालय रोजे सहमत हुनसक्ने बताएका छन् । गृहमा पनि ओली तयार छन् । तर, त्यसका लागि रामबहादुर थापा बादलको व्यवस्थापन चुनौती बन्न सक्छ ।

दुई पटक गृह मन्त्रालय सम्हालिसकेकाले गौतमको उक्त मन्त्रालयमा राम्रो अनुभव छ । उपप्रधानमन्त्रीसहित कुनै एक मन्त्रालय पाउनसक्ने गौतमले गृह पाउन भने ठुलै कसरत गर्नुपर्छ । उनले प्रचण्डलाई त्यसका लागि मनाउनुपर्ने हुन्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्