Logo

भदाैमा सुनचाँदीकाे मूल्य अस्थिर, भ्याक्सिन बनेको दाबीसँगै सुनकाे मूल्य घट्ने र मान्यता नपाएपछि मूल्य बढ्ने



काठमाडौँ, २७ भदौ: विभिन्न देशले काेराेना भाइरसकाे भ्याक्सिन बनेको दाबी गरेसँगै सुनकाे मूल्य घट्ने र भ्याक्सिनले मान्यता नपाएकाे भन्ने समचार आएपछि पुन सुनकाे मूल्य बढ्ने गरेकाे छ । भदाै महिनामा पनि भ्याक्सिनका कारण सुनकाे मूल्यमा सामान्य उतारचढाव अाउन पुग्याे ।

पछिल्लो समय सुन चाँदीको मूल्यमा अस्थिरता देखिएको छ। भदौ महिना लागेसँगै सुनको मूल्यमा निकै उतारचढाव देखिएको हो।

भदौ १ गते छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियाे। भदौको २ गते भने सुनको मूल्य यस महिनाको सबैभन्दा बढी तोकिएको थियो। त्यस दिन सुन प्रतितोला एक लाख ४०० रुपैयाँमा काराेबार भएकाे थियो। त्यसपछि भने सुनको भाउ लगातार घटेको थियाे। भदौ ४ गते तोलामा एक हजार ६०० रुपैयाँ घटेको सुनको मूल्य त्यसपछिका तीन कारोबार दिनमा भने ९८ हजारमा पुगेको थियाे।

नेपाल सुन चाँदी व्यवसायी महासंघको सूची अनुसार भदौ ८ गते ९७ हजारभन्दा माथि रहेको सुन सो साताको अन्त्यसम्म ९६ हजार ९०० रुपैयाँ रहेको थियो। यस महिनाको तेश्रो सातामा सुन ९६ हजारदेखि ९८ हजारको हाराहारीमा खरिदबिक्री भएको थियो।

चौथो सातामा भने सुनको भाउ ओरोलो लागेको पाइयो। भदौ २३ गते मंगलबार यस महिनाकै सबैभन्दा कम मूल्यमा सुनको कारोबार भएको थियो। सो दिन सुन ९५ हजार ८०० रुपैयाँमा झरेको हो। बुधबार छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ र बिहीबार भने प्रतितोला ९६ हजार ८०० रुपैयाँ निर्धारण गरिएको थियो।

यस हिसाबले भदौ महिनामा मात्र सुनमा चार हजार ६०० रुपैयाँको भिन्नता देख्न सकिन्छ।

भदौ २६ गते शुक्रबार सुनको भाउ ओरालो लाग्यो। यस दिन सुन तोलामा ३०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९६ हजार ५०० र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा काराेबार भएकाे थियो।

चाँदीको भाउमा पनि भदौ महिनामा सामान्य उतार चढाव देखिएको छ। यस महिनामा चाँदी एक हजार ३०० कै हाराहारीमा कारोबार भएको छ। भदौ १ गते प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भएको चाँदी भदौ १६ गते प्रतितोला एक हजार ३९५ रुपैयाँसम्म पुगेकाे थियाे। यो महिनामा चाँदीको भाउ सबैभन्दा कम एक हजार ३१० रुपैयाँसम्म तोकिएको थियाे। भदौ २६ गते, शुक्रबार पनि यहिँ भाउमा चाँदी किनबेच भएको हो। चाँदीको मूल्यमा यस महिना ८५ रुपैयाँसम्म घटबढ पाइएको हो।

अघिल्लो वर्षको साउन महिनादेखि अस्वभाविक वृद्धि हुन थालेको सुनको भाउ एक वर्षको अवधिमा सबैभन्दा उच्च विन्दूसम्म पुग्यो। कोरोना महामारीका कारण विश्व अर्थतन्त्र ठप्प बनेपछि लगानीकर्ताहरु सुनमा आकर्षित भएका थिए। विश्वबजारमा उत्पादनको तुलनामा अत्याधिक माग भएपछि सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन्। कोरोना विरुद्धको भ्याक्सिन बनेको विभिन्न देशको दाबीसँगै विश्व अर्थतन्त्र केहि चलायमान हुन थालेपछि मूल्यमा गिरावट देखिएको बताइएको छ।

कोरोना भाइरस संक्रमण फैलिएसँगै देशका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरिएको थियो। काठमाडौं उपत्यकामा भने भदौ ३ गतेदेखि जारी गरिएको निषेधाज्ञा भदौ २५ बिहीबारदेखि खुकुलो बनाइएको छ। निषेधाज्ञाका कारण अधिकांश क्षेत्रजस्तै सुनचाँदी व्यवसाय पनि ठप्प भएकाे छ।-मेरोलागानीबाट/File Photo



प्रतिक्रिया दिनुहोस्