Logo

सुदीपले ‘पत्नी र छोराको हत्यापछि आत्महत्या गरेको’ हुनसक्ने



काठमाडौं, २६ भाद्र । भक्तपुरमा एकै परिवारको तीनजनाको शव भेटिएको घटनामा प्रहरीले एउटा कोणबाट अनुसन्धान बढाएको छ । जस अनुसार मृतक सुदीप अधिकारीले पत्नी सम्झना अधिकारी र छोरा सुशास्त अधिकारीको हत्या पछि आत्महत्या गरेको हुनसक्ने देखिएको छ ।

प्रहरी स्रोतका अनुसार सुदीपको शव सडेको छैन भने पत्नी र छोराको शव सडेको छ । कुकुरको शव पनि केही सडेको अवस्थामा छ । सीसीटीभी फुटेजबाट थिमीको निकोसेरास्थित उनको घरमा अन्य कोही व्यक्ति पसेको या निस्किएको देखिदैन । सुदीपले विष पिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । उनले ट्वाइलेट नजिकै भोमिट समेत गरेको र विषको बट्टा समेत भेटिएको छ ।

सम्झना र सुशान्तमाथि भने धारिलो हतियार प्रहार भएको छ । पहिलो तल्लामा सुशान्त र कुकुरको शव भेटिएको छ । दोस्रोमा सम्झनाको र तेस्रोमा सुदीपको शव भेटिएको छ । उक्त घरमा हरेक तल्लामा एउटा मात्र कोठा छ ।

शवमध्ये सम्झना र सुशान्तको शवमा चोट छ । उनीहरुलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

तीनजनाको सानो परिवार भएपनि सुदीप र सम्झनाबीच झगडा भइरहन्थ्यो । पारिवारिक कलहबारे छिमेकीले समेत प्रहरीलाई बयानका क्रममा भनेका छन् । सुदीप ऋणमा समेत थिए । पसल थियो । एक वर्ष अघि उनी जागिर गुमाउन पुगेका थिए । यसको कारण मद्यपान गर्ने बानी कारण थियो ।

छोरा सुशास्तले यसै वर्ष एसइइ पास गरेका थिए । कलेज भर्नाको प्रक्रियामा थिए । २२ भाद्र सम्म सुदीपले पसल खोलेका थिए । उनले छोरा र पत्नीको हत्या गरेको कम्तिमा पाँच दिन भइसकेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । उनको सम्भावित आत्महत्या भने २४ या २५ भाद्रमा भएको प्रहरीको अनुसन्धानले देखाएको बुझिएको छ । घटनाको जानकारी भने २६ भाद्रमा भएको थियो ।

घटनामा ३६ वर्षीय सुदिप अधिकारी, उनकी पत्नी ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमा फेला परेको थियो । कुकुरसहित परिवारका सबै सदस्यको शव भेटिएपछि योजनावद्ध तरिकाले हत्या भएको निष्कर्षमा प्रहरी पुगेको थियो । जसमा घरभित्रकैको संलग्नता हो या होइन भन्ने मात्र प्रश्न थियो । अब अनुसन्धानको दायरा साँघुरो बनाउँदै सुदीपले किन हत्या गरे भन्ने अनुसन्धानमा प्रहरी लागेको छ ।

 



प्रतिक्रिया दिनुहोस्