Logo

साढे पाँच महीनादेखि विदेशी मदिरा आयात ठप्प



काठमाडौं, भदौ २८ । विदेशी मदिरा आयातमा सरकारले साढे पाँच महीनादेखि लगाएको बन्देज कायमै रहेकाले विदेशी मदिरा वितरकहरूको स्टक सकिँदै गएको छ ।

विलासिताका वस्तुको आयात घटाउने रणनीतिअन्तर्गत सरकारले चैतको दोस्रो सातादेखि विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएको थियो ।

नेपालमा वार्षिक अर्बौंको विदेशी मदिरा आयात हुने गरेकोमा पछिल्लो प्रतिबन्धले बजारमा विदेशी मदिराको स्टक कम हुँदै गएको र चाडपर्व नजिकिँदै गएकाले यसले चोरी तस्करी बढ्ने सम्भावना भएको आयातकर्ताहरू बताउँछन् ।

दशैंतिहारलाई लक्षित गरी भदौ महीना लागेसँगै मदिरा बजार चलायमान हुने गथ्र्यो । मदिरा उपभोगको सिजन मानिने असोज÷कात्तिकमा उत्पादक र वितरक दुवै व्यस्त रहन्थे ।

तर, कोरोना महामारी र यसको नियन्त्रणका लागि लगाइएको निषेधाज्ञालगायत कारण अहिले अघिल्ला वर्षहरूमा जस्तो चहलपहल देखिँदैन ।

सरकारले कोरोना महामारी नियन्त्रण गर्न चैतमा विदेशी मदिरासहित अन्य विलासिताका सामानमाथिको आयातमा प्रतिबन्ध लगाउनुका पछाडि महामारीको समयमा विदेशी मुद्राको सञ्चिति बढाउने र शोधानान्तर स्थिति नियन्त्रणमै राख्ने उद्देश्य थियो ।

पछिल्लो समय शोधानान्तर स्थिति नाफामा रहेको र विप्रेषण आप्रवाह सोचेजसरी नघटेकाले विदेशी मुद्राको सञ्चितिसमेत राम्रै छ ।

त्यसैले झन्डै ६ महीनाअघि लगाइएको विदेशी मदिरा आयातमाथिको प्रतिबन्ध फुकुवा गरिनुपर्ने विदेशी मदिराका आयातकर्ताहरूको माग छ ।

उनीहरूका अनुसार चाडपर्वको समयमा मदिरा खपत उच्च हुने भएकाले आयात खुला नगरिए त्यसले चोरीपैठारीलाई बढावा दिनेछ । ‘आयातमाथिको प्रतिबन्ध कायमै रहे वैध आयातबाट आउने राजस्व गुम्ने र अवैध तरीकाबाट हुने आयातले सरकारी राजस्वमा नराम्रो धक्का पुग्नेछ,’ एक आयातकर्ताले भने । छिमेकी मुलुकहरूबाट विदेशी मदिरा तस्करीको बाटो यसले खुलाउने उनीहरूको भनाइ छ ।

सरकारले कुनै एक आयातकर्तालाई फाइदा पु¥याउन विदेशी मदिराको आयात रोकेको आरोप एकथरी आयातकर्ताहरूको छ ।

विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएपछि अहिले बजारमा महँगा मदिराको मौज्दात घट्दै गएको आयातकर्ताको भनाइ छ । ठूला मदिरा पसलमा महँगा विदेशी मदिराको अभाव हुन थालेको व्यवसायीहरूले बताए ।

राज्यले मदिरा आयातमा राम्रै कर लगाउने गरेको छ । आयातकर्ताका अनुसार मदिरा आयातमा २५० प्रतिशत राजस्व सरकारले पाउने
गरेको थियो ।

आव २०७६र७७ मा नेपालमा ह्वीस्की आयात ८२ करोड रुपैयाँको मात्रै भएको छ, जब कि अघिल्लो आवमा १ अर्ब ७ करोडको आयात भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्