Logo

मुख्यसचिव बन्न दौडधुप



काठमाडौं, भदौ २८ । करिब पाँच सातापछि रिक्त हुने मुख्यसचिव पदका लागि बहालवाला सुरु भएको छ। मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल कात्तिक ६ मा सकिँदैछ। मुख्यसचिवका लागि ६ जना सचिव आकांक्षी छन्।

रेग्मीले कार्यकाल पूरा हुनुभन्दा १५ दिनअघि पदबाट राजीनामा गरे भने शंकरदास बैरागी, केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटामध्ये एक मुख्यसचिव हुनेछन्। तर उनले कार्यकाल पूरा गरी अवकाश लिए भने यी तीनैजना मुख्यसचिवको दौडबाट बाहिरिने छन्।

किनभने उनीहरूले असोज २२ मा निजामती सेवाबाट अनिवार्य अवकाश पाउँदैछन्। बैरागी परराष्ट्र, अधिकारी संस्कृति पर्यटन र सापकोटा सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिव छन्। तीनैजना २०७२ असोज २२ मा सचिवमा बढुवा भएका हुन्।

रेग्मीले पूरा कार्यकाल काम गरे भने चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसुधन अधिकारीमध्ये एकजनाले मुख्यसचिव हुने अवसर पाउनेछन्। घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति, ओली वन र अधिकारी सहरी विकास मन्त्रालयमा कार्यरत छन्।

घिमिरे २०७२ माघ ८, ओली २०७३ वैशाख ७ र अधिकारी २०७३ वैशाख २४ मा सचिवमा बढुवा भएका हुन्। मुुख्यसचिव बन्न नसके घिमिरेले आगामी माघ ८, ओलीले २०७८ वैशाख ७ र अधिकारीले २०७८ वैशाख २४ मा पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाउनेछन्। यी तीनजनामा जेष्ठताको हिसाबबाट घिमिरे पहिलो नम्बरमा छन् तर निजामती सेवा ऐन, २०४९ मा मुख्यसचिव पदमा सरकारले बहालवाला सचिवमध्येबाट ज्येष्ठता र कार्यकुशलताका आधारमा छनोट गरी बढुवा गर्ने व्यवस्था छ।

स्रोतका अनुसार मुख्यसचिवका आकाक्षीहरूले हाल आफ्नो पक्षमा वातावरण बनाउन र प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकटता बढाउन विभिन्न माध्यमबाट लबिङ थालेका छन्।
अहिले एउटा पक्षले मुख्यसचिव रेग्मीलाई अन्य कुनै महत्वपूर्ण ठाउँमा राजनीतिक नियुक्ति दिलाएर पूरा कार्यकाल सकिनुभन्दा १५ दिनअघि नै पदबाट राजीनामा गराउन लबिङ गरिहेको छ भने अर्को पक्ष उनले पूरै कार्यकाल बिताएर अवकाश लिनुपर्ने लबिङमा रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्