Logo

क्याबिनेट बस्ने अनिश्चित भएपछि कुलमान घिसिङ भोलिदेखि प्राधिकरणबाट बिदा



काठमाडौं, २८ भाद्र । गत हप्ता क्याबिनेट बस्दै बसेन । हप्तैपिच्छे बस्ने क्याबिनेट यसपटक नबस्नुको मुख्य कारण हुन् नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उनलाई पुनः कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएनन् । तर, नेकपा अध्यक्ष प्रचण्डको जोडबल रहिरह्यो । ऊर्जामन्त्री वर्षमान पुन कुलमानलाई पुनः नियुक्तिको प्रस्ताव ठिक्क पारेर बसे । ओलीले भने ग्रिन सिग्नल नै दिएनन् ।

विश्वस्त स्रोतका अनुसार कुलमान घिसिङले बालुवाटारलाई मिलाउन अझै सकेका छैनन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न निकै प्रयास गरेपनि भेट्न पाएका छैनन् । ओलीले न त भेट दिए न त क्याबिनेट राखेर उनको नियुक्ति गर्ने संकेत गरे । आज पनि क्याबिनेट बस्ने हल्ला चलेको छ । तर, अझैसम्म यसको कुनै संकेत मिलेको छैन ।

यसको अर्थ हो अब प्राधिकरण निमित्तबाट केही समय चल्न सक्छ । कुलमानको पुर्ननियुक्तिको सम्भावना कमजोर भइसकेको छ । कुनै राजनीतिक लेनदेन या सहमति विकास भएमा मात्र कुलमानको पुर्ननियुक्ति हुनसक्छ । नत्र उनले निरन्तरता पाउने सम्भावना लगभग अन्त भइसकेको छ ।

सामाजिक सञ्जालमा कुलमान लोकप्रीय छन् । उनले लोडसेडिङ अन्त र विद्युत चुहावट कम गरको जस लिएका छन् । यत्रो लोकप्रीयता कमाएपनि घिसिङसँग बालुवाटार किन खुशी भएन ? यो चासोको विषय बनेको छ । तर, कुलमान अझै प्रयासरत छन् ।

भोलिबाट प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ घर जाने छन् । उनी २९ भदौ २०७३ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनको पुर्ननियुक्तिको सम्भावना लगभग कमजोर भइसकेको छ । प्रयास भने जारी छ । यसमा उनले किन यत्रो इच्छा देखाइरहेका छन् चासो बनेको छ ।



प्रतिक्रिया दिनुहोस्