Logo

सभापतिको लागि म पनि उपयुक्त पात्र हुँ, मेरो दाबी छ : अर्जुननरसिंह केसी



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले आगामी १४औं महाधिवेशनमा सभापतिको लागि आफूपनि उपयुक्त पात्र भएकोले उक्त पदमा आफ्नो दाबी रहेको स्पष्ट पारेका छन् । तर, उनले आफ्नो समूहबाट अहिले सभापतिको लागि चर्चामा रहेका नामबीच सहमति हुने र तीमध्येबाट एक जनाको मात्रै उम्मेद्धवारी हुने पनि विश्वास दिलाए । केसीले सभापति शेरबहादुर देउवाले अहिले आएर विभिन्न विभागहरु गठन गर्नु भनेको पार्टी कब्जा गर्न खोज्नु रहेको पनि टिप्पणी गरेका छन् । आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले यस्तो बताएका हुन् । प्रस्तुत छ केसीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश ः

अब नेपाली कांग्रेस कसरी अगाडि बढ्दैछ ? कांग्रेसभित्रको विवादको अन्तर्कथा बताउनुहोस् त ?

अन्तर्कथा त तपाईले बुझ्नु नै भएको छ । अहिले हामी सम्पूर्ण रूपबाट तोकिएको मिति भन्नाले फागुन महिनामा गर्ने भनिएको अधिवेशन जुन छ, त्यो फागुन महिनामा तोकिएको मितिभित्र गरौँ । त्यसलाई निष्पक्ष, पारदर्शी रूपबाट गरौँ । विधि र विधानअन्तर्गत कुनै किसिमको प्रश्न नउठ्ने गरेर महाधिवेशनमा केन्द्रित होऔँ । महाधिवेशन भन्नासाथ लोकतान्त्रिक पद्धतिमा महाधिवेशनको नीतिगत निर्णय गर्ने पक्षहरू त छँदैछन्, नीतिगत निर्णय सँगसँगै भोली नेतृत्वका लागि हुने प्रतिस्पर्धामा पनि मित्रवत प्रतिस्पर्धाको एउटा वातावरण निर्माण गर्दै अगाडि बढौँ भन्ने हाम्रो प्रयत्न हो । त्यो प्रयत्नमा धेरै ढंगमा जो विधानविपरीत कामहरू भएका छन्, त्यसलाई सच्याउनुपर्छ भनेर हामीले निरन्तर आग्रह गरेका छौँ । त्यो सच्चिने स्थिति अझै देखिएको छैन । त्यही विवाद अहिले मोड केन्द्रको रूपमा रहेको छ ।

महाधिवेशन त फागुनमा नहुने भयो, पार्टी सभापति शेरबहादुर देउवाले भनिसक्नुभएको छ । अब विभागहरू गठन प्रक्रिया पनि नरोक्ने संकेत गर्नुभएको छ । अब तपाईहरूसँग के छ त अस्त्र ?

उहाँले भन्नुभयो होला । केन्द्रिय कार्यसमितिको निर्णयमा म नै पहिलो थिएँ, तोकिएकै मितिमा फागुनभित्रै गर्ने भन्ने प्रस्ताव कार्यप्रस्ताव प्रस्तुत गर्दाखेरि एकातिर यो कोभिडको महामारी, अर्कोतिर वर्षातको समय, त्यसपछि आउने दशैँ, तिहार, छठ लगायतका पर्वहरू अनि मंसिर, पुसमा हुने हिमाली भेगको हिमपात, यी सबैलाई दृष्टिगत गरेर समय नै बढाउनुपर्ने भए बढाऔँ भनेर प्रस्तावित गर्ने मान्छेहरूमध्ये म पनि हुँ । मैले स्पष्ट रूपले भनेको थिएँ, अहिले स्पष्ट अवधारणा बनाएर सबैबारे छलफल गरेर अगाडि बढौँ भन्दा स्वयम् सभापतिले बीचमा नै मैले बोल्दा बोल्दै होइन, होइन तोकिएकै मितिमा हुन्छ, भन्नुभयो । अरूपनि धेरै साथीहरूले यो कुरा राखेका थिए । अहिले अब सभापतिले के कारणले अलिकति पनि दुरदर्शी दृष्टिकोण नराखिकन यसरी प्रस्तुत गर्नुभयो ।

महाधिवेशन नसार्दा पनि त समस्या छ नि त ? तपाईहरू विभाग गठनमा किन विवाद गरिरहनुभएको छ ?

किन विवाद गरिरहेको भन्दा पनि एकचोटी नेपाली कांग्रेसको विधान पढ्नुपर्ने हुन्छ । विधानमा महाधिवेशन भएको छ महिनाभित्र विभागहरू गठन गरिसक्नुपर्ने भन्ने स्पष्ट रूपमा विधानमा उल्लेख छ । अर्को कुरा, चार वर्ष समाप्त भईसकेपछि छ महिनामा नभएपनि चार वर्षको कार्यकालमा उहाँले विभागहरू गठन गर्नुभएन । चार वर्षको कार्यकालपछि पनि म्याद थपिसकेको पनि एक महिना बितिसक्दा दोस्रो चोटी अधिवेशन तोकिएको छ महिना बितिसक्दाखेरि अहिले विभाग गठन हुँदैछ । महाधिवेशनको दृष्टिकोणले महाधिवेशन भनेको नीतिगत निर्णय गर्ने मात्र थलो होइन, नेतृत्वको निर्णय गर्ने पनि थलो हो । यो विश्वव्यापी लोकतन्त्रभित्र पर्ने आचारसंहिताले पनि अहिले विभागहरू, संयन्त्रहरू गठन गर्न मिल्दैन भनेको छ ।

सभापतिका मान्छेहरूको कुरा गर्दाखेरि र उहाँहरूको तर्क सुुन्दाखेरि यदि उहाँले विभाग गठन नगरेको भए शेरबहादुर देउवाले आफ्नो कार्यकालमा विभाग त गठन गर्न सक्नुभएन भनेर अरू पक्षले विरोध गर्नुहुन्थ्यो, भनेर भनेका छन् नि ?

चार वर्षसम्म किन गठन नगरेको ? उहाँले त्यही विभागलाई छ महिनाभित्रै गठन गरेको भए गाउँपालिका, नगरपालिका, प्रदेश निर्वाचनमा यत्रो ठुलो जमात साथीहरू आफ्ना जिल्लामा प्रभावकारी काम गरेको भए कति फाइदा हुन्थ्यो ? उहाँ पार्टीको फाइदाको दृष्टिकोणले भन्दा पनि अहिले कुनै औचित्य, उपादेयता केही नभएको, कुनै खालको काम गर्न स्थिति नभएको अवस्थामा खाली आफुलाई पार्टी कब्जा गर्न र सभापति हुनमात्रै उहाँले जुन ढंगले गठन गर्नुभएको छ, यसको कुृनै औचित्य छैन । नेपाली कांग्रेसको विधानलाई सोझो चुनौती गरेको हो, अरू केही होइन ।

त्यसोभए अब महाधिवेशन, नेतृत्वको कुरा गर्दा नेपाली कांग्रेस पार्टीभित्र तपाईहरूको एउटा तर्क आएको छ । आगामी १४ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्न नदिने ? यो सही हो ?

कसलाई बन्न दिने, कसलाई बन्न नदिने ? भन्दा पनि उहाँको चारवर्षे कार्यकाल वास्तवमा पार्टी विधिमा चलेन । गुटबाट भन्दा पनि एउटा गिरोहबाट पार्टी सञ्चालन भयो । आम रूपबाट संगठन ध्वस्त भएको र जनस्तरमा नेपाली कांग्रेसका छवि हुनुपर्ने, एउटा प्रतिपक्ष भूमिका न सशक्त र जीवन्त हुन सक्यो, न अहिले समसामयिक रूपमा देखिएका विभिन्न मुद्दाहरूमा ख¥हो रूपमा सरकारको मनपरीतन्त्रको विरोधमा जनतामा आत्मविश्वास, दृढता र निश्चय सिर्जना गर्ने खाले हाम्रा कुनै गतिविधिहरू हुन सके । ३३ केजी सुनदेखि ओम्नी प्रकरणसम्म, त्यस्तै सेक्युरिटी प्रिन्टिङ्गसम्बन्धी यावत भ्रष्टाचारका जघन्य अपराधहरू भए । हामीले प्रभावकारी रूपमा जनस्तरमा परिचालन गर्नुपर्ने, संसदमा परिचालन गर्नुपर्ने, त्यो गर्न सकेनौँ ।

अब सभापतिमा तपाई लड्ने कि रामशरण महत लड्ने कि प्रकाशमान सिंह लड्ने कि शेखर कोइराला लड्ने कि रामचन्द्र पौडेल लड्ने कि कृष्णप्रसाद सिटौला लड्ने कि को लड्ने ?

जो लडेपनि सामूहिक रूपबाट छलफल गरेर लड्छौँ । म पनि उपयुक्त पात्र हुँ भनेर मेरो पनि दाबी हो । अरू साथीहरूको पनि त्यस्तै दाबी होला । हामीमध्ये छलफल गरेर तत्कालीन समय र परिवेशले जसको आवश्यकता उपयुक्त हुन्छ, त्यो मान्छे लड्छ । हामी सल्लाह गरेर नै लड्छौँ ।

त्यसोभए छ जनामा एकजना, उम्मेदवार हुनुहुन्छ ? त्यसमा एकदम ढुक्क भए हुन्छ ? तपाईहरूको गुटबाट एकजना मात्र सभापतिको उम्मेदवार बन्ने सम्भावना छ ?

हामी एकजना मात्र बनाउने कोशिस गर्छौँ ।

कोशिस गर्छौँ त भन्नुभयो, तर तपाईले पनि त घोषणा गर्न सक्नुभएन ?

कोशिस भन्दा पनि त्यही पहिलाको घोषणा मैले भनेँ । म पनि उपयुक्त पात्र हुँ र मेरो दाबी छ । तर यो सबैको संयोजन गर्दाखेरि हेरौँ परिस्थिति कस्तो हुन्छ ?

कोरोना रोकथाम र नियन्त्रणका लागि सरकार कहाँ असफल भयो ? तपाईलाई के लाग्छ ? तपाई स्वास्थ्यमन्त्री भएर काम गरिसकेको व्यक्ति ? सफल हो सरकार ?

सरकारको त हेर्नुस्, महिनौँ दिनदेखि न कोरोना महामारी सरकारको विषय बन्यो, न यो वर्षातको प्राकृतिक प्रकोपबाट पीडितको आर्तनाद सरकारको विषयवस्तु बन्यो, जनता भोकभोकै मर्नुपर्ने स्थिति छ । सुत्केरीहरूले सात हस्पिटल चाहार्दा पनि भर्ना नपाएर अकाल मृत्युवरणको स्थिति छ । आत्महत्याको संख्या यति बढेको छ, यही कोभिड महामारीभित्र ७३ भन्दा बढी सुत्केरीको उपचार नभएर मृत्यु भएको छ । यसको न पूर्वतयारी गर्नको निम्ति सरकार सफल रह्यो, न वर्तमान चुनौतीलाई सामनाको गर्नको निम्ति उचित व्यवस्थापन हुन सक्यो, न किसान, मजदुर, बिहानदेखि बेलुकासम्म परिश्रम गरेर खानुपर्ने भोकभोकै मर्ने अवस्थामा रहेका छन्, तिनीहरूलाई राहत प्याकेज दिने काम न सरकार लाग्यो, खाली महिनौँ दिनसम्म सरकार आफ्नो आन्तरिक द्वन्द्व, सत्ता र कुर्सीको संघर्षमा नै अलमलियो । त्यसकारणले सरकारलाई नेपाली जनता र अहिलेको महामारी, प्राकृतिक प्रकोप, जनताको समस्यासँग न चिन्ता छ, न गम्भीरता छ । अहिले पनि स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुन सकेको छैन । स्वास्थ्यकर्मीहरूले सहुलियत प्राप्त गर्न सकेका छैनन् । सुरक्षाकर्मीहर चौध घण्टाको ड्युटी सिंगो तलबको भरमा गरिरहेका छन्, उनीहरूलाई पनि सुरक्षाको प्रत्याभूति छैन भने आम जनता त्राहीमान छन् । सरकार त्यतातिर पटक्कै केन्द्रित छैन ।

त्यसोभए अख्तियारका पूर्वप्रमुखदेखि वर्तमान प्रमुखसम्मकाहरूको सम्पत्ति छानविन गर्नुपर्छ ?

सबैको सम्पत्ति छानविन गर्नुपर्छ । एउटा निश्चित सीमा राखिदिऔँ, कुन मितिबाट सुरु गर्ने ? त्यो सीमा सबै मिलेर नै निर्णय गर्दा हुन्छ । केही आपत्ति छैन । १७ साल राख्ने कि, ४७ साल राख्ने कि, ६२/६३ राख्ने ? एउटा सीमादेखिको सम्पत्ति सबैको छानविन गरेर अगाडि बढे पनि हुन्छ । अहिले जुन इस्युहरू नीतिगत रूपमा सार्वजनिक भएर भ्रष्ट्राचारका यत्रो ठुलो हल्ला मच्चिएका छन्, तिनीहरूलाई छानविन गरेर पारदर्शि निर्णय गराउने गरे पनि हुन्छ । त्यो आजको सबैभन्दा महत्वपूर्ण एजेण्डा हो । १४ औँ महाधिवेशनको एजेण्डा हाम्रो नेपाली कांग्रेस यो वन अफ दि महत्वपूर्ण एजेण्डाहरूमध्ये भ्रष्ट्राचारविरुद्धको अभियान पनि एउटा महत्वपूर्ण एजेण्डा हुनुपर्छ भन्ने मेरो दृष्टिकोण छ ।



प्रतिक्रिया दिनुहोस्