Logo

भारतद्वारा नेपाल-भारत महिलामैत्री समाजलाई आपतकालिन राहत सामग्री प्रदान, ५ जिल्लामा वितरण गरिने



काठमाडौं, २८ भदौ । भारत सरकारले नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुलाई वितरण गर्नेगरि आपतकालिन राहत सामग्री प्रदान गरेको छ । भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पाले प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिलामैत्री समाजकी अध्यक्ष चन्दा चौधरीलाई उक्त आपतकालिन राहत सामग्री आज हस्तान्तरण गरेकी हुन् ।

दूतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘टेन्ट तथा त्रिपाललगायतका उक्त राहत सामग्रीहरु नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुलाई वितरण गरिनेछ । बाढी र पहिरोका कारण हालसालै भएको विनाश र जनधनको क्षतिलाई ध्यानमा राख्दै यी राहत सामग्रीहरु नेपाल–भारत महिला मैत्री समाजले प्रदेश नम्बर २, ३, ५ र ७ का महोत्तरी, कलैलाली, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी वितरण गर्नेछ ।’

भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायताअन्तर्गत उक्त राहत सामग्री नेपाललाई वितरण गरिएको पनि दूतावासले स्पष्ट पारेको छ ।  तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्