Logo

पाँच हजार सुरक्षाकर्मीमा सङ्क्रमण,सबैभन्दा बढी नेपाल प्रहरीमा



काठमाडौँ,२९ भाद्र। सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा आज बिहान आएको विनाशकारी भेल–पहिरामा परेकाको उद्धारमा सुरक्षाकर्मी तत्काल खटिए । उक्त घटनामा ठूलो जनधनको क्षति भएको छ । अहिले पनि उद्धार जारी छ ।

उद्धारका क्रममा घाइते महिलालाई पिठ्यूँमा बोकेर सशस्त्र प्रहरीका एक जवान गन्तव्यतर्फ जाँदै गरेको तस्बिर राससको न्युजलाइनमार्फत सार्वजनिक भयो । गम्भीर घाइते महिलालाई मजेत्रोको नाम्लो बनाएर बोकेको कारुणिक तर सराहनीय दृश्य त्यसमा देख्न सकिन्छ ।

सुरक्षाकर्मी र बिरामीले कोभिड–१९ बाट जोगिनका लागि चाहिने आवश्यक सुरक्षा मापदण्ड प्रयोग गर्न सकेको देखिँदैन । आपत्कालीन अवस्थामा एक त त्यस्ता सामग्री पाउन सकिँदैन, पाइए पनि प्रयोग गर्ने अवस्था नहुनसक्छ । आपत्विपत्मा परेका व्यक्तिको जीउ जोगाउनुपर्ने गम्भीर अवस्थामा सुरक्षाकर्मीले चाहेर पनि स्वास्थ्य मापदण्ड अपनाउन सक्दैनन् भने यो एउटा उदाहरण हो ।

“जिम्मेवारी पूरा गर्ने क्रममा परिस्थितिले कुनै बेला केही अफ्ठ्यारो गराउन सक्छ तर स्वास्थ्य मापदण्ड पूरा गर्नेमा स्पष्ट निर्देशन छ”, सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्याल भन्नुहुन्छ ।

यस्तै घटना विगतमा पनि नभएको होइन । काठमाडौँमै भएको सडक आन्दोलन होस् या क्वारेन्टिनमा बसेका व्यक्ति ह्वारह्वार्ती निस्कँदा सुरक्षाकर्मीले स्वास्थ्य मापदण्ड प्रयोग गर्न नसकेका दृष्टान्त छन् जुन अधिकांशतः सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । केही अघि ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्न लाग्दा भीड नियन्त्रणमा खटिएका केही सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भएको थियो ।

ज्यानको बाजी थापेर नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मी यस्तै आपत्विपत्का बेला कोभिड–१९ बाट सङ्क्रमित हुन पुगेका हुन् । कतिपय अवस्थामा सुरक्षाका सबै उपाय अपनाउँदा अपनाउँदै पनि सङ्क्रमण हुन्छ । सुरक्षा मापदण्ड अपनाएर उपचारमा खटिएका स्वास्थ्यकर्मी सङ्क्रमित हुनुले त्यस कुरा प्रस्ट्याउँछ ।

कार्यक्षेत्रमा खटिएकै बेला सङ्क्रमित भई उपचारपछि निको भएर पुनः सेवामा खटिएका प्रहरी उपरीक्षक विमलराज कँडेल जस्तोसुकै परिस्थिति आए पनि सुरक्षाकर्मी राज्यले दिएको जिम्मेवारीबाट विमुख हुन नहुने बताउनुहुन्छ । उच्च आत्मबल भयो भने कोरोनालाई जित्न सकिने दृढ विश्वास सुरक्षाकर्मीमा छ । त्यसैले अहिलेसम्म धेरै सुरक्षाकर्मी कोरोना जितेर काममा फर्किइसकेका छन् ।

पछिल्लो समयमा मुलुकभर सङ्क्रमितको सङ्ख्या बढेसँगै सुरक्षा निकायमा पनि दर बढ्दो छ । नेपालका चार सुरक्षा निकाय ९नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग० बाट प्राप्त विवरणअनुसार आजसम्म पाँच हजार १३५ सुरक्षाकर्मीमा कोभिड–१९ देखिसकेको छ । त्यसमध्ये दुई हजार १८ जना कोरोना जितेर कार्यक्षेत्रमा खटिइसकेका छन् । निको भएकामा उच्च मनोबल देखिएकाले अन्य प्रहरी कर्मचारीलाई समेत हौसला मिलेको नेपाल प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायत बताउनुहुन्छ । यो खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्