Logo

अलपत्र नेपालीको उद्धारमा उडान अपर्याप्त



काठमाडौं, भदौ २९। कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न हवाई उडानको अभाव भएको छ ।

सरकारले बेखर्ची बनेका नेपालीको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर भए पनि उद्धार गर्ने बताइरहँदा उडानको अभावमा उनीहरूलाई नेपालमा ल्याउन कठिनाइ भइरहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत रहेको वैदेशिक रोजगार बोर्डका अनुसार अहिलेसम्म मलेशियाबाट १५ जनालाई मात्रै प्रवद्र्धन बोर्डको रकम खर्चेर ल्याइएको छ । बहराइन, यूएई, कतारलगायत देशबाट अलपत्र कामदारको उद्धार गर्ने तयारी भए पनि उडानको अभावमा ल्याउन कठिनाइ भएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए ।

‘पैसा तिरेर नेपाल आउँछु भन्ने त आउन पाएका छैनन्, उडान सहज नभएसम्म हामीले खर्च गरेर ल्याउन सक्ने अवस्था रहेन,’ उनले भने । उनका अनुसार सरकारले तत्काल हवाई उडानलाई सहज बनाई उद्धारमा सहयोग गरिदिनुपर्छ । श्रम मन्त्रालयका अनुसार अहिलेसम्म करीब ५० हजार नेपाली महँगो भाडा तिरेरै भए पनि नेपाल आउन चाहेका छन् । ४० हजारभन्दा बढीलाई सरकारले उद्धार गरेर ल्याउनुपर्ने अनुमान छ ।

यसैबीच, सरकारले उद्धारमा गरिरहेको ढिलाइप्रति संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले १ महीनाभित्र विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आइतवार सिंहदरबारमा बसेको बैठकले वैदेशिक रोजागरीमा विभिन्न मुलुकमा पुगेका र रोजगारी गुमाई अलपत्र अवस्थामा परेका नेपालीहरूलाई १ महीनाभित्र ल्याइसक्न श्रम मन्त्रालयलाई निर्देशन दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्