Logo

जंगबहादुरद्वारा शुरु गरिएकोे बली प्रथा १ सय ७२ वर्षमा पहिलो पटक रोकियो



काठमाडौं, भदौ २९ । कोभिड–१९ का कारण यो वर्ष दशैंमा बली रोकिने भएको छ । पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाले विसं १९०३ मा कोतपर्वलगत्तै दशैंघर र मूलचोकमा शुरु गरेको बलीप्रथा पहिलोपटक स्थगित हुने भएको हो ।

बली व्यवस्थापन गर्ने निकाय कौशितोषाखानामा बसेको बैठकले यो वर्षको दशैंमा मूल घरमा दिइने बली रोक्ने निर्णय गरेको हो । यो निर्णय करिब एक साताअघि भएको थियो ।

कौशितोषाखानका शाखा अधिकृत राजभाइ श्रेष्ठले गृह र संस्कृति मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, पुरोहित र सरोकारवाला निकायको बैठकले कोरोना महामाहारीका कारण यो मूलचोकमा दिने बली स्थगित भएको जानकारी दिए। उनले भने– ‘अष्टमी (कालरात्रि), नवमी र चतुदर्शीको दिनमा मूल चोकको बली यो वर्षका लागि स्थगित गर्ने निर्णय भएको छ ।’

तीन दिन गरी १ सय ६२ बोका, त्यति नै संख्यामा राँगा बली दिइन्थ्यो । दशैंमाकाठमाडौंमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको कारण बली रोक्नुपरेको श्रेष्ठको भनाइ छ । दशैंमा मूलचोकमा बली दिँदा भीडभाड बढ्ने भएपछि यो वर्ष बली नदिने निर्णय भएको उनले बताए । मूलचोकमा बली नदिए पनि अन्य पीठमा भने बली जारी रहेको उनको भनाइ थियो ।

सरकारले यो वर्षको चैते दशैंमा पनि मूलचोकको बली स्थगित गरेको थियो । तलेजुका मूल पुजारी उद्धव कर्माचार्यले जंगबहादुरले कोतपर्व भएको दुई वर्षपछि देवीलाई खुसी पार्न बली दिन थालेको किंवदन्ती बताउँदै करिब १ सय ७२ वर्षपछि पहिलोपटक मूलचोकको बली रोकिएको हुन सक्ने बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्