Logo

निःशुल्क पाएको औषधिमा पनि अल्झन



काठमाडौं, भदौ २९ । सत्र दिनअघि बंगलादेश सरकारले निःशुल्क दिएको रेमडिसिभिर औषधि शनिबार बल्ल काठमाडौं आएको छ। कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई चलाइने यो औषधि तत्कालै ल्याउनुपर्नेमा औषधि व्यवस्था विभागले बेलैमा अनुमति नदिँदा यति ल्याउन ढिला भएको हो।

विभिन्न निजी औषधि सप्लायर्स कम्पनीहरुले ल्याएको रेमडिसिभिर बजारमा बाँकी रहेकाले व्यापारीहरूको चलखेलमा निःशुल्क औषधि ल्याउन ढिला गरिएको स्रोतको दाबी छ। व्यापारीको चलखेलमा औषधि व्यवस्था विभागले निःशुल्क रेमडिसिभिर ल्याउन ढिलो गरी अनुमति दिएको स्रोत बताउँछ।

बंगलादेशको काठमाडौंस्थित दूतावास स्रोतका अनुसार स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागलाई पटकपटक अनुरोध गरेपछि मात्रै नेपाली सेनाको स्काई ट्रकमार्फत शनिबार रेमडिसिभिर काठमाडौं ल्याइएको हो। स्रोतका अनुसार १८६ कार्टुनमा पाँच हजार भाइल रेमडिसिभिर औषधि आएको छ।

‘सत्र दिनअघि बंगलादेश सरकारले सित्तैमा औषधि दिँदा पनि नेपाल सरकारले छिटो ल्याउन पहल गरेन। बिरामीका आफन्तले व्यापारीहरुले ल्याएको औषधि किन्नु प¥यो,’ स्रोतले भन्यो ‘औषधि व्यवस्था विभागले अनुमति दिन आलटाल गर्दा ल्याउन ढिला भएको हो।’

स्रोतका अनुसार सित्तैमा आएको औषधि राजस्व लिने कि नलिने भन्ने विवादका कारण भन्सारमा रोकिएको छ। ‘बंगलादेश सरकारले सित्तैमा औषधि दिएको छ। विमानस्थल भन्सारमा औषधिको राजस्व लिने कि नलिने भन्ने विवाद हुन्छ, समस्या पनि कहाँकहाँ हुन्छ भन्ने सरकारी निकायलाई नै थाह हुँदैन’, स्रोतले भन्यो।

कोभिड–१९ का बिरामीलाई उपचारमा प्रयोग गरिने ‘रेमडिसिभिर’ ५ हजार भाइल भदौ ११ गते बंगलादेश सरकारले त्यहाँस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो। हस्तान्तरणलगत्तै दूतावासले नेपाल सरकारलाई जानकारी गराउँदै औषधि ल्याउने व्यवस्था मिलाउन आग्रह गरेका थियो। त्यतिबेला भन्सार विभागले भदौ १२ गते बिहानसम्म सबै प्रक्रिया पूरा गर्ने जानकारी बंगलादेशस्थित नेपाली राजदूतलाई गराएको थियो।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्