Logo

‘स्काभेटरको प्रयोग गरेर बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ’–एसपी अधिकारी (सिन्धुपाल्चोक)



सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले हिजो रातिदेखि बिहान ५ बजेसम्म सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे र भीरखर्कलगायत ३ ठाउँमा गएको पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी कार्य तिव्र रुपमा भैरहेको जनाएका छन् । उनकाअनुसार उक्त पहिरोमा जम्मा २२ घरमा ३१ जना व्यक्तिमा २० जना बेपत्ता छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै एसपी अधिकारीले यस्तो बताएका हुन् । उनले भने,‘त्यहाँ हिजो बेलुकीसम्म खोजी कार्य जारी थियो । त्यसपछि जोखिममा परेका घरहरूमध्ये अलि सुरक्षित स्थानमा १५ ओटा टेन्ट राखेर सुरक्षित स्थानमा राखिएको छ भने केही घरपरिवारहरू आफन्तकहाँ जानुभएको अवस्था छ । रातभरि पनि त्यहाँ सुरक्षाका तीनओटा नै निकायबाट सुरक्षा प्रदान गरिएको छ । आज फेरि मेशिनहरूको प्रयोग गरेर, स्क्याभेटरको समेत प्रयोग गरेर बेपत्ता भएकाहरूको खोजीकार्य आज हामीले गर्ने योजना बनाएका छौँ ।’ प्रस्तुत छ एसपी अधिकारीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

के छ त्यहाँको पछिल्लो अवस्था ? ताजा अपडेट गराउनुहोस् त । सुरक्षाकर्मीहरू कसरी काम गरिरहेका छन् ? कसरी परिचालित छन् ? त्यहाँ कस्तो अवस्था छ ? कसरी पीडित जनताको त्यहाँ बसोबासको व्यवस्था गर्नुभएको छ ?

हिजो रातिदेखि बिहान ५ बजेसम्म सिन्धुपाल्चोक बा¥हबिसे नगरपालिका ७ वीरखर्क लगायत ३ ठाउँमा पहिरो गयो । त्यो पहिरोमा जम्मा २२ घरमा ३१ जना व्यक्तिमा २० जना बेपत्ता हुनुहुन्छ । त्यहाँ हिजो बेलुकीसम्म खोजी कार्य जारी थियो । त्यसपछि जोखिममा परेका घरहरूमध्ये अलि सुरक्षित स्थानमा १५ ओटा टेन्ट राखेर सुरक्षित स्थानमा राखिएको छ भने केही घरपरिवारहरू आफन्तकहाँ जानुभएको अवस्था छ । रातभरि पनि त्यहाँ सुरक्षाका तीनओटा नै निकायबाट सुरक्षा प्रदान गरिएको छ । आज फेरि मेशिनहरूको प्रयोग गरेर, स्क्याभेटरको समेत प्रयोग गरेर बेपत्ता भएकाहरूको खोजीकार्य आज हामीले गर्ने योजना बनाएका छौँ ।

तपाईहरूले खोजी गरिरहुनभएको छ तर परिणाम आएको छैन । अहिलेसम्म धेरै बेपत्ता भएका छन् । खोजीकार्यमा तीव्रता देखिएन त ?

तीनओटै सुरक्षा निकायबाट खबर प्राप्त हुनासाथ परिचालन भएर अथक हिसाबले बिना विश्राम खोजी गर्ने कार्य भएको छ । त्यहाँका नागरिकहरू समेत लागेर खोजी गर्ने कार्य जारी छ । त्यो विकट भौगोलिक बनावट भएको ठाउँ हो । ठुलो एरियाहरू पहिरोले कभर गरेको अवस्था छ । करिब करिब ३ देखि ४ किलोमिटरको उचाईबाट पहिरो खसेर आएको अवस्थामा एकदमै विकट जोखिम भौगोलिक बनावट भएको कारणले गर्दाखेरि अथक प्रयासबाट यो उपलब्धि प्राप्त भएकोले ११ जना हामीले खोजीकार्यबाट प्राप्त गर्न सक्यौँ र खोजीकार्य जारी नै छ ।

बस्ती नै खस्दाखेरि हिजो ठुलो विपत्ति भएको छ । ११ को मृत्यु भएको छ । २० जना बेपत्ता भएका छन् । उनीहरूलाई अब हामीले खोजी पनि गर्न सक्छौँ ? पत्ता लगाउन सक्छौँ ?

हामीले खोज्ने हो, हामीले प्रयास गर्ने हो । त्यसको लागि अन्तिमसम्म खोज्ने प्रयास गर्ने हो । सम्भावना रहेसम्म खोज्ने हो । त्यसको लागि हामी सबै निकाय लागिपरेका छौँ । खासगरी यहाँको भौगोलिक बनोटको बारेमा यो एकदम विकट जिल्ला हो । अहिलेको मौसम पनि यो वर्षाको कारणले गर्दाखेरि जोखिमका बस्तीहरू छन् । हामीले अन्य जोखिम भएका ठाउँहरूमा पनि स्थानीय तह, त्यहाँका नागरिकहरूसँग समन्वय गरेर टेलिफोनबाट जानकारी गराएर आफै पुगेर पनि जोखिममा भएका बस्तीहरूबाट बासिन्दाहरूलाई सुरक्षित ठाउँमा लगेर राख्ने लगायतको हामीले यो पूर्वतयारीका साथ जोखिम नहोस् भनेर हामी त्यत्तिकै रूपमा लागिरहेका छौँ । केही गरी पहिरोहरू फेरि गयो भने त्यसमा थप क्षति हुन नदिनका लागि प्रतिकार्यको काम गर्छौँ । हामीले तत्काल जोखिममा परेका त्यहाँका बासिन्दाहरूलाई सुरक्षित ठाउँमा लग्ने र त्यहाँको सुरक्षा व्यवस्थापन गर्ने हामीले काम हामीले अहोरात्र खटेर गरि नै राखेका छौँ ।

त्यसोभए नेपाली, सशस्त्र प्रहरी, नेपाल प्रहरीका जवानहरू लागिपरेका छन् ?

सबै खटेका छन् । तपाईहरूले देखिनै रहनुभएको छ । जुन एउटा प्रतिकुल अवस्था छ । भौगोलिक बनोटको हिसाबले त्यो ठाउँमा जान नै निकै लामो समय लाग्ने हनसक्छ । त्यसका बाबजुत पनि यस विपदबाट आउनसक्ने जोखिमलाई हेरेर जुन हामीले कार्ययोजना बनाएर हामीले प्रयास गरेका छौँ । जुन रोकथामका लागि हामीले प्रयास गरेका छौँ, विपदको घटना घटिहालेमा जुन हाम्रो तयारी छ, हामी परिचालित भएर हामीले गर्नुपर्ने कामहरूमा व्यवस्थित ढंगले अगाडि बढाईरहेका छौँ ।

उद्धार तीव्र गतिमा होस् । किनभने त्यहाँका जनताहरू समस्या र पीडामा परेका छन् । उनीहरूको परिवारको पनि विचल्ली छ । राहतको लागि त्यहाँ के भईरहेको छ ?

अहिले बाँकी रहेका जोखिममा परेका बस्तीहरू छन्, उनीहरूलाई नजिकै अलि सुरक्षित स्थानमा स्थानीय विपद व्यवस्थापन समिति पनि छ, त्यहाँ । स्थानीय तहको समन्वयमा प्राप्त भएका टेन्टहरूमा लगेर हामीहरूले राखेका छौँ । केही घरपरिवारका व्यक्तिहरू आफन्तजनकहाँ सुरक्षित स्थानमा जानुभएको अवस्था छ । त्यसमा यहाँ बसेका परिवारहरूलाई विपद व्यवस्थापन समितिले आवश्यक पर्ने लत्ताकपडा र खानाको व्यवस्था गरेको अवस्था छ ।



प्रतिक्रिया दिनुहोस्