Logo

विरोध प्रदर्शनका क्रममा पत्रकारमाथिको आक्रमण बढ्दो: यूनेस्को



२९ भदौ: संसारभरि विरोध प्रदर्शनको समाचार सङ्कलनका लागि खटिएका पत्रकारमाथि आक्रमणका घटना बढेको संयुक्त राष्ट्रसंघीय निकाय, यूनेस्कोले सोमबार बताएको छ ।

प्रहरी र अन्य सुरक्षाकर्मीले पत्रकारलाई नै मुख्य अपराधीका रूपमा पत्रकारमाथि दुव्यवहार गर्ने गरेको यूनेस्कोको ठहर छ ।

यो वर्षको जनवरीदेखि जुनसम्ममा विरोध प्रदर्शनका क्रममा समाचार सङ्कलनका लागि खटिएका पत्रकारलाई आक्रमण, पक्राउ वा हत्या गरेका घटना २१ रहेको यूनेस्कोको तथ्याङ्कमा उल्लेख छ ।

सञ्चार क्षेत्रका गतिविधि अनुगमनसमेत गर्ने जिम्मेवारी रहेको राष्ट्रसंघीय निकाय यूनेस्कोले आफ्नो प्रतिवेदनमा भनेको छ, “प्रहरी तथा अन्य सुरक्षा बलले विगत पाँच वर्षमा गैर–कानुनीरूपमा पत्रकारमाथि हस्तक्षेप गरेको घटना बढ्दो क्रममा रहेको छ ।”

सन् २०१५ देखि सन् २०२० बीचमा भएको प्रदर्शनमा कम्तिमा १० जना पत्रकार मारिएका प्रतिवेदनमा उल्लेख छ । यो अवधिमा विश्वका विभिन्न ६५ मुलुकमा प्रहरी वा सुरक्षा बलबाट समाचार सङ्कलनका लागि खटिएका पत्रकारमाथि आक्रमण वा पक्राउ भएका घटना १२५ रहेको युनेस्कोले जनाएको छ ।

विगत पाँच वर्षमा समाचार सङ्कलनका क्रममा मारिएका पत्रकारहरू सिरिया, मेक्सिको, इजरायल, निकारागुआ, उत्तरी आयरल्यान्ड, नाइजेरिया र इराकका रहेको यूनेस्कोको तथ्याङ्कमा उल्लेख छ ।

रिपोर्टमा भनिएको छ, “ उक्त अवधिमा विश्वभरका सयौँ पत्रकारहरुलाई आन्दोलनको समाचार सङ्कलन गर्दैगर्दा दुव्र्यवहार गर्ने, धम्क्याउने वा तर्साउने, पक्राउ गर्ने, निगरानीमा राख्ने र अपहरण गर्नेगरेको साथै समाचार सङ्कलनका लागि बोकिएका उनीहरूका प्राविधिक सामान फुटाउने वा विगारिदिनेजस्ता काम भएको छ र अधिकांश घटनामा प्रहरी तथा अन्य सुरक्षा बलको सम्लग्नता भेटिएको छ ।”

“प्रहरीले रबर वा बारूदको गोली, अश्रुग्यासलगायतको प्रयोग गरी पत्रकारमाथि आक्रमण गर्ने गरेको र यसका कारण केही सञ्चारकर्मीले एउटा आँखाको दृष्टि गुमाउनुसमेत परेको छ ।”

अक्सर समाचार सङ्कलन गरेकै आधारमा पत्रकारहरूले प्रहरीबाट सजायको भागिदार बन्नु नपर्ने युनेस्कोले बताएको छ । “पछिल्ला वर्षहरुमा प्रेसमाथि गरिएको हमलालाई लक्षित गर्दै दण्डहीनताको मापदण्ड बनेको छ ।”

युनेस्कोका महानिर्देशक अड्रे अड्रे अजौलेले सुरक्षाको कुनै त्रासबिना पत्रकारहरूले आफ्नो काम गर्न सक्ने कुरा सुनिश्चित गर्न सरकारहरूलाई आग्रह गरे ।

“पत्रकारहरूको आन्दोलनको बारेमा नागरिकलाई सूचित गर्ने र जानकारी गराउने पत्रकारहरुको महत्वपूर्ण भूमिका हुन्छ,” उनले भने ।

“हामी अन्तर्राष्ट्रिय समुदाय र सबै सम्बन्धित अधिकारीहरूलाई यी आधारभूत अधिकारहरूको सुनिश्चित गर्न आग्रह गर्दछौं ।”

युनेस्कोका अनुसार विरोध प्रायः आर्थिक अन्याय, सरकारी भ्रष्टाचार, राजनीतिक स्वतन्त्रताको अभाव र बढ्दो निरङ्कुशताका बारेमा हुन्छन् । केही सरकारले सन्तुलित समाचार रोक्ने निहित स्वार्थका लागि समाचार सङ्कलनमा खटिएका पत्रकारमाथि दुव्यवहार गर्नेगरेको देखिन्छ ।

संयुक्त राष्ट्र संघले धेरै प्रस्तावहरूमा प्रेसविरूद्ध राजनीतिक नेताहरूले गरेको प्रतिकूल बयानबाजीबारे चिन्ता व्यक्त गरेको यूनेस्कोले बताएको छ ।-एएफपी



प्रतिक्रिया दिनुहोस्