Logo

मन्त्रीबिनाको अर्थमन्त्रालय, कर्मचारी वालुवाटार धाउँदै



भदौ २९, काठमाण्डौ । डा. युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अहिले सो मन्त्रालय खाली रहेको छ । सरकारले नयाँ अर्थमन्त्री नियुक्त नगरेकाले सो मन्त्रालयबाट हुने कामकारबाहीमा समेत असर पुगेको छ । राष्ट्रपति विद्यादेबी भण्डारीले अर्थमन्त्रीको समेत कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी जिम्मेवार दिएपछि अहिले सचिवहरु फाईल बोकेर बालुवाटारको गोलचक्करमा परेका छन् ।

नयाँ अर्थमन्त्री चयन बेलैमा नगर्दा दैनिक राजस्व संकलनदेखि रकम निकासासम्मको दबाबमा अर्थमन्त्रालय परेको छ । त्यो बाहेक अर्थतन्त्रका विभिन्न आयामहरुका बारेमा समेत अध्ययन अनुसन्धान गर्नुपर्ने काम समेत हुन सकेको छैन । दैनिक ठूला रकम निकासा गर्नुपर्ने दायित्व समेत अहिले अबरुद्ध हुन पुगेको छ ।

कोभिड–१९ नियन्त्रणका लागि लगाइएको लकडाउन र निषेधाज्ञाका कारण स्रोतमा पनि ठूलो दबाब छ । त्यसैले अहिले अर्थमन्त्रीको भूमिका अझै प्रभावकारी हुनुपर्नेमा त्यो भएको छैन । डा. युवराज खतिवडाले राजीनामा दिएपछि अर्थमन्त्रालयको दैनिकीमा पहिलो प्रथमिकता मन्त्रालयबाट सचिबले फाईल बोकेर प्रधानमन्त्री केपी ओली निवास बालुबाटार पुग्नु पर्ने कार्यक्रम रहेको छ ।

अर्थबाट हुने दैनिक काम कारवाहीको ‘ब्रिफिङ’ अर्थसचिब शिशिरकुमार ढुंगानाले प्रधानमन्त्री ओलीलाई गर्दै आएका छन् । नीतिगत निर्णयका लागि अर्थसचिव ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी र सहसचिवहरु फाइल बोकेर बालुवाटार नै गएर सदर गराउँ आएका छन् । सचिव ढुंगाना दैनिक बालुवाटार जाने गरेका छन् । यसैसम्बन्धमा अर्थसचिब ढुंगानालाई सम्र्पक गर्दा उनले फोन रिसिभ नगरि व्यस्त भएको सन्देश पठाउदै जिम्मेवारीबाट पन्छिएका छन् ।

अर्थमन्त्रीको अभावमा कोभिडबाट प्रभावित उद्योग व्यवसायका लागि ल्याइएको ५० अर्बको कोषको कार्यविधिको टुंगो सोही कारण लाग्न सकेको छैन । बजेटमा विनियोजित पुँजीगत खर्च बढाउन आवश्यक रणनीति बनाउने लगायतका छलफल पनि अगाडि बढ्न सकेको छैन । राजस्व संकलनमा समेत प्रभावित बनेको छ । दुई महिना सकिन लाग्दा एक खर्ब मात्रै राजस्व संकलन भएको छ अहिलेसम्म ५३ अर्ब ७४ करोड रुपैयाँ मात्रै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

यस्तो संकटपूर्ण समयमा यसरी नै राखिरहनु अर्थतन्त्रको विकासमा आत्मघाती समेत हुनसक्ने अनुमान अर्थविद्हरुको रहेको छ । यसैगरी, खतिवडाले सम्हाल्दै आएको सूचना तथा सञ्चारमन्त्रालयको समेत जिम्मेवारी प्रधानमन्त्री ओलीले नै सम्हालेका कारण सो मन्त्रालयको काम कारबाही पनि उही बालुबाटारमा गएर जानकारी गराउदैमा वित्दै गएको छ । सञ्चार सचिव हरिप्रसाद बस्याल मन्त्रालयको फाइल बोकेर बालुवाटार धाउनुको विकल्प छैन । सचिब बस्याल दैनिक गर्नुपर्ने निर्णय र फाइल बोकेर बालुवाटार नै जाने कार्यतालिका पहिलो प्राथमिकतामा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्