Logo

हजारौं मजदूरको रोजगारी गुम्यो



विराटनगर, भदौ ३० । कोरोना महामारीका कारण ६ महीनादेखि सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा हजारौं मजदूरको रोजगारी गुमेको छ ।
सानाठूला गरी कोरिडोरमा रहेका ५०० उद्योगमा कार्यरत ५० हजार मजदूरमध्ये अहिले १५ हजार पूर्ण बेरोजगार भएका छन् भने १४ हजार अर्ध बेरोजगार छन् ।

सामान्यतया तीन सिफ्टमा सञ्चालन हुने ठूला उद्योग अहिले दुई सिफ्टमात्रै चल्दा तथा मझौला तथा साना उद्योगहरूको उत्पादन क्षमता घट्दा ३० प्रतिशत मजदूरको रोजगारी गुमेको हो ।

कोरिडोरका उद्योगीका अनुसार कच्चापदार्थ, श्रमिक व्यवस्थापन र उत्पादित वस्तुको बजारीकरणमा अहिले चुनौती थपिएको छ । कोरिडोरमा जुट, धागो, चाउचाउ, तेल, चामल, दूध, साबुन, कुकिज, दाना उत्पादन गर्ने उद्योग हाल सञ्चालनमा रहे पनि अधिकांशले ६० देखि ७० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् ।

कोरिडोरभित्र सबैभन्दा बढी मजदूर कार्यरत अरिहन्त मल्टिफाइबर्स र रघुपति जुट मिलका सञ्चालक राजकुमार गोल्छाका अनुसार यस अघि तीन सिफ्ट चलिरहेका दुुवै उद्योग अहिले दुई सिफ्टमा मात्र सञ्चालनमा छन् । एक सिफ्ट बन्द हुँदा ३० प्रतिशत मजदूर कामविहीन बनेको गोल्छाको भनाइ छ । उद्योगले मजदूरलाई १५र१५ दिनको आलोपालोमा (१५ दिन काम र १५ दिन आराम) काम लगाइरहेको छ ।

सामान्य अवस्थामा अरिहन्त मल्टिफाइबर्समा ४५०० मजदूर र रघुपति जुट मिलमा २५०० मजदूर गरी दुवै उद्योगमा ७ हजार मजदूर कार्यरत थिए । तर, कोरोना महामारीका कारण पछिल्लो ६ महीनामा ३० प्रतिशतले अर्थात् २ हजार १ सयले रोजगारी गुमाइसकेका छन् । यसरी रोजगारी गुमाउनेमा नेपाली र भारतीय मजदूर दुवै रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्