Logo

भारतमा १७ सांसद कोरोना सङ्क्रमित



नयाँ दिल्ली, ३० भाद्र । भारतका १७ जना सांसद कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको छ । संघीय संसदको बर्षे अधिवेशन शुरु हुनु अघि परीक्षण गरिएको नतिजा अनुसार उनीहरु सङ्क्रमित भएको सोमबार देखिएको हो ।

सङ्क्रमित भएकाहरुको सूचीमा सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली सांसदहरु मिनाक्षी लेखी, अनन्त कुमार हज्डी र प्रवेश सहिब सिंहलगायत रहेका छन् । भारतको संघीय संसदको वर्षे अधिवेशन सोमबारदेखि शुरु भएको छ । कोरोनाभाइरसको महामारीका कारण यो अधिवेशन ढिलागरी शुरु गरिएको हो ।

बैठकमा सहभागी हुँदा कोरोनाभाइरसबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका सवै उपायहरु अपनाउन अनिवार्य गरिएको छ । स्वास्थ्य निर्देशिका अनुसार सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, हात धुनेलगायतका उपायहरु अबलम्बन गर्न लगाइएको छ ।

त्यसैगरी सांसदहरुको हाजिरी सोमबार पहिलो दिन एउटा एप मार्फत् गरिएको लोक सभा सचिवायले जनाएको छ । कुनै हाजिरी पुस्तिका वा मेसिनमा हाजिर गर्दा कोरोनाको सङ्क्रमण एक अर्कामा सर्न सक्ने भएकाले एपको प्रयोग गरिएको हो । लोकसभाका सांसदहरुले प्रयोग गर्नेगरी एटेन्डेन्स रजिष्टर उपस्थिति दर्ता नामक एप बनाइएको र पहिलो दिन पनि प्रयोग गरिएको सचिवालयका अधिकारीहरुले बताएका छन् । सो एप राष्ट्रिय सूचना केन्द्रले बनाएको हो ।

सांसदहरु संसद भवनमा उपस्थित भएपछि सचिवालयको सहयोगमा एप मार्फत् उनीहरुको उपस्थिति दर्ता हुने व्यवस्था गरिएको छ । सभामुख ओम बिर्लाले सवै सांसदहरूलाई स्वागत गर्दै अहिलेको विषेश परिस्थितिलाई ख्याल गर्न सवैलाई आह्वान गर्नुभएको थियो ।

त्यसैगरी कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिनका लागि तय गरिएको निर्देशिका तथा मापदण्डहरु पालना गर्न पनि उहाँले सवैलाई अपिल गर्नुभएको थियो । “यो अधिवेशन विषेश परिस्थितिका साथ शुरु गरिएको छ, सुरक्षा सावधानी हामी सवैले अपनाउन आवश्यक छ, सावधानीका साथ अधिवेशनलाई अगाडि बढाइनेछ,” सभामुख बिर्लाले भन्नुभयो ।

बैठक भोलि बुधबार ३ बजे दिउसो बस्नेगरी स्थगित भएको समाचार वीनेपालीले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्