काठमाडौं, ३० भाद्र । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनः नियुक्तिको सम्भावना लगभग टरेको छ । यसका लागि कुलमान स्वयंले निकै प्रयास गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीभित्रको पूर्व माओवादी पक्षबाट दबाब सृजना गर्न लगाएका थिए ।
ऊर्जामन्त्री वर्षमान पुनले सार्वजनिक रुपमै कुलमानको पुनः नियुक्ति हुने अभिव्यक्ति दिएका थिए । उनले क्याबिनेटमा यसबारे प्रस्ताव लाने तयारी समेत गरेका थिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुलमानको पुनः नियुक्तिबारे पटक पटक छलफल पनि गरे । तर, ओली मान्न तयार भएनन् । विश्वस्त स्रोतका अनुसार ओलीले एकै व्यक्तिलाई चार वर्ष प्राधिकरणमा जिम्मेवारी दिन नहुने र कानुनी प्रक्रियाको विषय उठाए ।
हिजो क्याबिनेट बस्नु अघि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशबाट कुलमान घिसिङको पुनः नियुक्ति हुने विश्वाससहितको धारणा सार्वजनिक भयो । सामाजिक सञ्जालमा श्रेष्ठले लेखे, ‘नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुननियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु ।’ यसप्रति व्यङ्ग्य गर्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले खुल्ला लबिङ भन्दै ‘कुम्लो बोकी ठिमीतिर जस्तो पो भयो कि ?’ भनी प्रश्न गरे । थापाले प्रक्रियामा प्रतिष्र्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छ भने ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको प्रवक्ता प्रकाशप्रतिको व्यङ्ग्यले कुलमानसँग बालुवाटार सन्तुष्ट नभएको अर्थमा बुझ्न सकिन्छ । त्यसो त निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले कुलमानप्रति प्रधानमन्त्री ओलीको टिमकै असन्तुष्टिबारे बोलिसकेका थिए । उनले सामाजिक सञ्जालले कुलमानलाई नियुक्ति दिएको होला भन्ने अभिव्यक्ति दिएका थिए ।
कुलमान लोकप्रीय बन्ने दौडमा देखिएको र उनको समर्थकहरुले प्रधानमन्त्री ओलीको विरोध गरेका कारण पनि बालुवाटार सन्तुष्ट भएन । सामाजिक सञ्जालमा घिसिङको पक्षधरहरुले ओलीको चर्को आलोचना गरिरहे । यसबाट पनि ओलीको टिम चिढियो ।
कुलमानको नेकपा अध्यक्ष प्रचण्ड र उनका निकटस्थसँगको नजिकको सम्बन्धले पनि ओलीको टिमलाई सतर्क बनायो । कुलमानको पुनः नियुक्तिको प्रत्यक्ष लाभ र जस पूर्व माओवादीले लिने बुझेर ओलीले उनलाई पुनः नियुक्ति नदिने अडान राखेको बुझिएको छ ।
त्यसो त कुलमानले प्रधानमन्त्री ओलीसँग भेट्ने पटक पटक प्रयास गरे । तर, ओलीका सल्लाहकारहरुले त्यो अवसर दिन चाहेनन् । ओली पनि भेट्ने समय दिन तयार भएनन् । यसबाट पनि घिसिङको पुनः नियुक्तिको सम्भावना टरेको संकेत मिलिसकेको छ । अब सम्भवतः घिसिङ विद्युत प्राधिकरणमा पुर्न नियुक्ति हुने सम्भावना समाप्त भएको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको सामाजिक सञ्जालमा धारणाः

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको सामाजिक सञ्जालमा धारणाः




प्रतिक्रिया