Logo

खर्चको कारणले विदेशमा कोही पनि नेपालीहरुलाई अलपत्र हुन दिँदैनौं : कुमार पन्त (भिडिओसहित)



काठमाडौं, ३० भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले विश्वभरि कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित भएका नेपालीहरुलाई स्वदेश पठाउनको लागि आफूहरुले काम गरिरहेको स्पष्ट पारेका छन् । हिजो राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष पन्तले कोरोनाका कारण प्रभावित बनेका विश्वभरिका नेपालीहरुलाई सकुशल घर फर्काउनको लागि नेपाल सरकारसँग समन्वय गरेर काम गरिरहेको विश्वास दिलाए ।

कुराकानीको क्रममा उनले भने,“जसरी विश्व नै अहिले कोरोनाबाट प्रभावित बनेको, हामी गैरआवासी नेपालीहरु पनि प्रभावित छौं । खासगरि संक्रमित साथीहरुको उद्धार, र घर फर्कनैपर्ने बाध्यतामा हुनुभएका हजारौं संख्याका साथीहरु हुनुहुन्छ, उहाँहरुलाई सुरक्षित तवरले घर फर्काउने काममा हामी लागिरहेका छौं । आफ्नो काम गरिरहेका छौं । हामी मूलतः त्यसमै केन्द्रित छौं । श्रमिकहरु घर फर्कने बाध्यतामा हुनुहुन्छ । कम्पनीले काम दिन नसक्ने अवस्था छ । त्यस्ता साथीहरुलाई घर फर्काउन पहल गरिरहेका छौं ।”

घर फर्कन चाहने साथीहरुलाई सहज रुपमै आउन दिने वातावरण नेपाल सरकारले बनाईदिनुपर्नेमा उनको जोड छ । सरकारको तवरबाट विदेशमा अलपत्र र पीडामा रहेका नेपालीहरुलाई उद्धार गर्ने काम सुस्त भएको पन्तको गुनासो छ । “अहिले ७० देखि ८० हजार हाराहारीमा नेपालीहरु घर जानुपर्ने अवस्थामा हुनुहुन्छ । अब दैनिक ८ सय कोटा राखिएको छ । यो कोटा राख्न जरुरी छैन् । नेपाल जान पाउने कुराको ग्यारेण्टी गर्नुपर्छ ।”–पन्तले भने ।

उनले स्वदेश फर्किने गैरआवासी साथीहरुले नेपालमा कोरोना संक्रमण नलैजानेपनि विश्वास दिलाए । सबै जनस्वास्थ्यका मापदण्ड पूरा गरेर खासगरेर पिसिआर परीक्षण गरेर नै उनीहरुलाई स्वदेश पठाईने भएकोले गैरआवासी नेपालीहरुबाट नेपालमा कोरोना संक्रमण नहुने उनको जिकिर छ । उनले भने,“गैरआवासीय नेपालीहरुबाट संक्रमणको रिस्क छैन् । पिसिआर परीक्षण गरेकाहरुले घर आउन पाउनुपर्छ ।”

पन्तले आफूहरुले चन्दा उठाएर भएपनि नेपालीहरुलाई घर पठाउने वातावरण बनाउने विश्वास दिलाए । उनले थपे,“सरकारले घर आउने सहज वातावरण बनाईदिनुपर्छ । पैसाको अभावले कोही पनि नेपालीहरु घर जानबाट बञ्चित हुनुपर्दैन् । हामी पठाउँछौं । पैसा भएकाहरुसँग लिएर र नभएकाहरुलाई पैसा हालेर पनि पठाउँछौं । हामी अहिले यसमै केन्द्रित भएर काम गरिरहेका छौं ।”

उनले विश्वभरि हालसम्म कोरोना संक्रमणका कारण दुई सय ४३ जनाको निधन भैसकेको र ३७ हजार भन्दा बढि संक्रमित बनेको तथ्यांक पेश गरे । त्यस्तै, कोरोनाबाहेक अन्य कारणले पनि तीन सय ३९ जनाको निधन भएको उनले सुनाए । उनले भने,“विश्वभरि छरिएर रहेका नेपालीहरु जो अहिले कोरोनाका कारण रोजगार गुमाएर बसेका छन्, उनीहरुको उद्धार गर्न हामी सक्षम छौं । हामी अहोरात्र यही काममा खटिएका छौं ।”

अध्यक्ष पन्तले लकडाउनपछि विश्वभरिबाट ६२ हजार ४ सय ९४ जनालाई उद्धार गरेर नेपाल पठाईएको पनि सुनाए । र, अझैपनि ७० देखि ८० हजारको हाराहारीमा नेपालीहरु स्वदेश जानैपर्ने बाध्यतामा रहेको पन्तले सुनाए । उनले भने,“यो संख्या बाध्यतात्मक अवस्थाले गर्दा नेपाल जानुपर्नेको संख्या हो । मैले अहिले होलिडे र दशैं मनाउन जानेको संख्या जोडेको छैन् ।”

उनले कोरोनाको कहरका कारण एनआरएनएले थालनी गरेका केही महत्वपूर्ण काममा बाधा पुगेको भएपनि आफूहरुले गरेका प्रतिबद्धता र घोषणाहरु पूरा गर्ने अभियानमा जुटिरहेको सुनाए । उनले भने, हामीले कम्तिमा पनि १० अर्बको लगानी ल्याउँछौं भनेका थियौं । त्यसको लागि कम्पनी बनाएर फण्ड कलेक्शन गर्ने तयारीमा थियौं । विश्भरि छरिएर रहेका नेपालीहरुले हाँसिल गरेको स्किल र नलेज भित्र्याउन भव्य नलेज सम्मेलन गर्ने योजना छ । नलेज सम्मेलनको यसअघि काठमाडौंमा सम्पन्न गरेका थियौं । त्यसको धेरै राम्रो र सकारात्मक प्रतिक्रियाहरु आएको थियो ।

उनले अहिलेपनि नेपालमा लगानी गर्नुपर्छ भनेर गैरआवासीय साथीहरु आश्वस्त रहेको बताए । उनले कोरोना कहरको समाप्तिपछि अर्थात् परिस्थिति सामान्य बनेपछि नेपालमा लगानी भित्र्याउने कामपनि द्रुत गतमिा अघि बढ्ने बताए । उनले कोरोनाकै कारण अहिले बेलायत, अमेरिकालगायतका साथीहरु नेपाल लर्को लागेर फर्किहाल्ने अवस्था भने नभएको सुनाए । “एक दिन नेपालीहरुले नेपाल फर्किएर काम पाउने वातावरण बनाउनुपर्छ । तत्काल त्यो अवस्था छैन्”- उनले भने ।

नेपाल जान नपाएकै कारण र सरकारको सुस्तताका कारण साउदी अरबमा नेपालीहरुले नाराबाजी गर्नुपरेको बाध्यात्मक अवस्थापनि उनले सुनाए । उनले भने,”अहिले विश्वभरि झण्डै ६० लाख हाराहारीमा गैरआवासीय साथीहरु हुनुहुन्छ । अधिकांश वैदेशिक रोजगारीमा हुनुहन्छ । साउदी अवरमा ५ लाख, कतारमा ४, युएईमा तीन लाख हुनुहुन्छ । काम गर्न आउनेहरुको संख्या बढि छ । साउदीको पछिल्लो कुरा गर्दा, मर्ता तो क्या नही कर्ता भनेजस्तो परिस्थिति छ । कानून उल्लंघन गर्ने अवस्था भयो । सरकारले विशेष ध्यान दिनुपर्छ ।”

उनले आफूहरुले नेपालमा लगानीको लागि वातावरण बनाउने पनि स्पष्ट पारे । उनले भने-“जस्तोसुकै परिस्थितिको बावजुदपनि हामी नेपालमा लगानी भित्र्याउने काममा लाग्छौं ।” उनले नेपालीहरुलाई उद्धारको नाममा हवाई भाडा महँगो भएको आफूहरुको पनि गुनासो रहेको सुनाए । उनले भने,”यसमा मेरो पनि गुनासो छ। अहिले ८० हजार नेपालीहरु स्वदेश फर्कन चाहनुहुन्छ । उहाँहरुलाई सहज रुपमा घर फर्किने वातावरण बनाए भाडा स्वतः घटेर आउँछ । सरकारले यसमा ध्यान दिनुपर्छ ।”

त्यस्तै, उनले विदेशमा रहेका नेपालीहरुमा संक्रमण दर घट्न सुरु भएको पनि तथ्यांक सुनाए । बरु, कोरोनाकै कहरले गर्दा बेरोजगारीको संख्या भयावह हुने स्थिति देखिएको सुनाउँदै उनीहरुको उद्धारको लागि सरकारले यथेष्ट ध्यान दिनुपर्ने धारणा राखे । सरकारसँग आफूहरुको राम्रो सम्बन्ध रहेको पनि उनले स्पष्ट पारे । उनले थपे,”सरकारसँग नराम्रो हुने भन्ने कुरै भएन । नेपाल सरकार, परराष्ट्र मन्त्रालय र हाम्रो संघबीच नङ र मासुजस्तै सम्बन्ध हुनुपर्छ । नेपाली जनता र सरकारसँग सुमधुर सम्बन्ध ।” उनले कोरोनालाई मानव जातिले पराजित गरेरै छाड्ने बताउँदै छिट्टै परिस्थिति सामान्य बन्ने विश्वास व्यक्त गरे । उनले कोरोनाको भ्याक्सिन आउँछ भन्ने आधारपनि देखिएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्