Logo

खिम्ती स्वामित्व हस्तान्तरणः प्राधिकरण र हिमाल पावरबीच अन्तरिम सम्झौता



काठमाडौं, भदौ ३१ । खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व हस्तान्तरणको प्रक्रिया नटुंगिएसम्मका लागि नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक कम्पनी हिमाल पावर लिमिटेडबीच अन्तरिम सम्झौता भएको छ ।

अहिलेका लागि आयोजना सञ्चालनलाई निरन्तरता दिन प्राधिकरण र हिमाल पावरबीच विद्युत् किनबेच दरलगायत विषयमा गतसाता अन्तरिम सम्झौता भएको हो ।

प्राधिकरण र हिमाल पावरबीच हालका लागि खिम्ती आयोजनाबाट प्रतियुनिट २ रुपैयाँमा विद्युत् किन्ने सम्झौता भएको छ । तत्कालका लागि आयोजना सञ्चालन गर्न लाग्ने खर्च पुग्ने गरी अन्तरिम रूपमा पीपीए दर तोकिएको हो, जसलाई विद्युत् नियमन आयोगले अनुमोदन गर्नुपर्ने हुन्छ । प्राधिकरणका अनुसार अन्तरिम सम्झौता अनुमोदनका लागि विद्युत् नियमन आयोगमा पठाउने तयारी भइरहेको छ ।

सरकार र प्रवर्द्धक कम्पनीबीच यसअघि भएको आयोजना विकास सम्झौता ९पीडीए०, विद्युत् किनबेच सम्झौता (पीपीए) को म्याद असार पछि सकिएको छ । हाल आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रयोग गरिरहेको छ ।

तर, स्वामित्व हस्तान्तरणका बारेमा सहमति हुन नसक्दा प्राधिकरणले खिम्तीलाई असारयता विद्युत् खरीदको भुक्तानी गर्न सकेको छैन । यिनै व्यावहारिक समस्यालाई दृष्टिगत गर्दै हालका लागि अन्तरिम सम्झौता गरिएको प्राधिकरण सञ्चालक समितिका एक सदस्यले बताए । दुवै पक्षलाई मर्का नपर्ने गरी अन्तरिम पीपीए दर तोकिएको प्राधिकरणको भनाइ छ ।

अन्तरिम सम्झौता गत असार ३० गतेदेखि आगामी माघ ३० गतेसम्मका लागि गरिएको छ । र, यही अवधि बीचमा नै आयोजनाको स्वामित्व हस्तान्तरणको सम्पूर्ण प्रक्रिया टुंग्याउने तयारी प्राधिकरणको रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्