Logo

चालू आवमा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतः एडीबी



काठमाडौं, भदौ ३१ । एशियाली विकास बैंक (एडीबी)ले २०२१ अर्थात् चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर १ दशमलव ५ प्रतिशत मात्र रहने प्रक्षेपण गरेको छ । एडीबीले मंगलवार सार्वजनिक गरेको ‘एशियन डेभलपमेन्ट आउटलुक २०२०’का अनुसार कोरोना महामारी नियन्त्रण गर्न अपेक्षा गरिएभन्दा बढी समय लाग्ने तथा भारतको अर्थतन्त्र खुम्चिन पुगेकाले नेपालको आर्थिक वृद्धि न्यून रहनेछ ।

एडीबीको पछिल्लो प्रक्षेपणले नेपालको कुल गार्हस्थ्य उत्पादन सरकारले अनुमान गरेभन्दा साढे ५ प्रतिशत कम हुने देखाएको छ । सरकारले चालू आवमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

एडीबीले गत जुनमा गरेको प्रक्षेपणमा चालू आवमा नेपालको आर्थिक वृद्धि ३ दशमलव १ प्रतिशत रहने बताएको थियो । तर, कोरोना महामारी नियन्त्रणका लागि चालिएको कदमले अर्थतन्त्रमा संकुचन आएपछि त्यसलाई सशोधन गर्दै १ दशमलव ५ प्रतिशतमा झारेको छ ।

एडीबीले चालू वर्ष विप्रेषण आप्रवाह घट्न गई कमजोर आर्थिक अवस्थाका जनता प्रभावित हुने र त्यसको असर निजी खर्चमा पर्ने बताएको छ । आर्थिक अवस्था कमजोर हुँदा बजारमा माग न्यून हुने र सरकारी आम्दानीमा समेत त्यसले असर गर्ने एडीबीको अनुमान छ ।

पूँजी परिचालन तथा लगानीका हिसाबले गत वर्ष नै कमजोर देखिनुले नेपालको अर्थतन्त्र यो वर्ष झनै प्रभावित हुन सक्ने, पर्यटन उद्योग अभैm पुनरुत्थान हुने सम्भावना न्यून रहेकाले यसको मार पनि अर्थतन्त्रमा पर्ने एडीबीको प्रतिवेदनमा उल्लेख छ ।

गत आव ९सन् २०२०० मा नेपाली अर्थतन्त्र २ दशमलव ३ प्रतिशतले विस्तार भएको एडीबीले बताएको छ । कोरोना महामारीका कारण यस वर्ष दक्षिण एशियाली मुलुकको समग्र आर्थिक वृद्धिदर ६ दशमलव ८ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण एडीबीको रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्