Logo

प्राधिकरणमा कुलमानका चार वर्षः डुब्नै लागेको संस्था खूद नाफामा



काठमाडौँ, ३१ भाद्र। नेपाल सरकारका सार्वजनिक संस्थानमा को कसले राजनीतिक नियुक्ति लिएर आउँछ भन्ने कुराको चासो आम मानिसलाई हुँदैन । ती संस्थामा पुग्ने मानिस कोही चर्चाको शिखरमा पुग्ला वा नपुग्ला त्यो कर्मले निर्धारण गर्दछ । नागरिकलाई सेवा दिने लक्ष्यका साथ सरकारले स्थापना गरेका अधिकांश सार्वजनिक संस्थानले जनतालाई सेवा दिएको र नाफा कमाएको पाउनसमेत मुस्किल छ । अर्थ मन्त्रालयको विवरण हेर्ने हो भने त्यस्ता संस्थाहरु केवल खर्चका भारी मात्रै बनिरहेका छन् ।

केही वर्ष पहिलेसम्म नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा को आयो र गयो आम मासिलाई थाहै हुँदैनथ्यो तर पछिल्ला चार वर्षमा अवस्था फेरिएको छ । प्राधिकरणको गरिमा र मर्यादा बढेको छ । त्यसले सरकारी संस्थान पनि सबल र सक्षम बन्न सक्छ भन्ने तथ्य स्थापित भएको छ । त्यसको पछाडि सरकारले छानेको सही व्यक्तित्व नै प्रमुख कारक बन्यो ।

सही व्यक्ति छनोट गर्दा सरकारी संस्थान पनि नाफामा जान सक्छ, आम मानिसको नजरमा पर्न सक्छ भन्ने कुराको उदाहरण बनेको छ, प्राधिकरण । सही व्यक्तिलाई सही स्थान दिँदा कुनै समय झण्डै रु ३४ अर्ब सञ्चित नोक्सानी व्यहोरेको प्राधिकरणले आर्थिक वर्ष २०७६र७७ सम्म आइपुग्दा झण्डै रु ११ अर्ब नाफा गरेको छ ।

यसको पछाडि त्यसको बागडोर सम्हाल्ने नेतृत्व र त्यसलाई सहयोग गर्ने कर्मचारीको प्रमुख हात रहेको छ । कुनै समय रु २९ अर्ब अपलेखन गर्दासमेत वार्षिक झण्डै आठ अर्बका दरले घाटामा गइरहेको प्राधिकरणलाई नाफाको युगमा परिणत गर्न पछिल्लो चार वर्षमा भएका प्रयास नै निर्णायक भएको छ ।

दैनिक १४ घण्टासम्म विद्युत्भार कटौतीमा परेका, उज्यालो देख्नसमेत मुस्किल भएका नेपाली नागरिकलाई आशा जगाउने, नेपालको ऊर्जा क्षेत्रमा केही गर्न सकिन्छ भन्ने सरकारको कामलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्ने कामसमेत यस अवधिमा भएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्काली ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका कुलमान घिसिङले प्राप्त गरेको चार वर्षको अवधिमा नेपाली जनतालाई अँध्यारोबाट उज्यालो यात्रामा डो¥याउनुभयो ।

कार्यावधि यही भदौ २९ गते सकिए पनि प्राधिकरणले आज बिदाइ समारोहको आयोजना ग¥यो । बिदाइ समारोहमा सहभागी अधिकाशंले कार्यकारी निर्देशक घिसिङको पहिलो सत्रमात्रै सकिएको भन्दै चाँडै नै उहाँ पुनः कार्यकारी निर्देशक भएर आउने विश्वाससमेत व्यक्त गरेका छन् । आम मानिसको चाहना छ, सक्षम व्यक्ति पुनः दोहोरिऊन् र संस्थालाई थप सबल बनोस् । यो खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्