Logo

पीडकसँग बयान लिने तयारीमा बेपत्ता आयोग



काठमाडौं, ३१ भाद्र । सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारिएका भनी आरोप लागेका पीडकसँग बेपत्ता पारिएका व्यक्तिको बारेमा छानबिन गर्न गठित आयोगले बयान लिने तयारी गरेको छ । आयोगले केही दिनअघि सरकारलाई पठाएको पत्रमा पीडकसँग यथाशीघ्र बयान लिने कार्यको थालनी गर्ने तयारी गरेको जानकारी दिएको हो ।

२०५२ साल फागुनदेखि १० वर्षको अवधिमा सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र दोषी देखिएकालाई कारबाही गर्न सिफारिस गर्ने उद्देश्यले सरकारले गत चैतमा बेपत्ता आयोग गठन गरेको थियो । आयोगले दिइएको जिम्मेवारीलाई पूरा गर्न विभिन्न गतिविधि सञ्चालन गरेको भए पनि हाल देखिएको कोरोना भाइरसको महामारीले गर्दा यस्ता गतिविधिमा केही रोकावट आएको पनि पत्रमा उल्लेख गरिएको छ ।

तर पनि आयोगले सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारेको भनी आरोप लागेकाहरुसँग बयान लिने कार्य यथाशीघ्र सञ्चालन गर्ने उल्लेख गरेको छ । आयोगले सरकारलाई पठाएको पत्रमा पीडकसँग बयान लिने, परिपूरणको सिफारिस, परिचयपत्र वितरण, कारबाहीको सिफारिसलगायतका कार्य यथाशीघ्र थालनी गर्ने उल्लेख गरेको छ ।

आयोगलाई आफ्नो जिम्मेवारी पूरा गर्नका लागि अदालतलाई भए सरहको अधिकार प्रयोग गर्न सक्ने बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २७१ को दफा १४ मा उल्लेख छ । सोबमोजिम बयान दिन नआउनेलाई पक्राउ गर्न सक्नेसमेत अधिकार दिइएको छ ।

यसै गरी आयोगले सरकारलाई पठाएको पत्रमा बन्दाबन्दी वा स्थान विशेषमा भएको निषेधाज्ञा जारी भएको समयमा समेत आयोगले सुरक्षा र स्वास्थ्यका मापदण्डहरु अपनाई आन्तरिकरुपमा गर्न सकिने गतिविधिलाई निरन्तरता दिइरहेको उल्लेख गरिएको छ ।

आयोगमा तीन हजारभन्दा बढी उजुरी परेको छ । यसमध्ये केहीलाई आयोगले विस्तृत अनुसन्धान प्रक्रियामा समेत लगेको छ । केही भने प्रारम्भिक अनुसन्धानमा नै रहेका छन् । विस्तृत अनुसन्धानमा रहेका केही उजुरीमाथि लगाइएको आरोपको सम्बन्धमा छानबिन गर्दा केहीलाई बयान गराउनुपर्ने देखिएको आयोगका एक कर्मचारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

विस्तृत छानबिनमा रहेका उजुरीहरुलाई प्रदेशअनुसार चारवटा समूहमा विभाजन गरी आवश्यक अनुसन्धान तथा छानबिन भइरहेको आयोगले जनाएको छ । आयोगका अध्यक्ष युवराज सुवेदीले विश्वव्यापीरुपमा रहेको कोरोना भाइरसका कारण योजना कार्यान्वयन गर्न तथा पीडितको आकांक्षाअनुसार काम सञ्चालन गर्न अवरोध सिर्जना भएकोे बताउनु भएको खबर आजको समाचारपत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्