Logo

भारतमा जहिलेसम्म नियन्त्रण हुँदैन, हामीले पनि उहाँहरूसँगै टाइअप भएर गएनौँ भने संक्रमण बढ्न सक्छ : डा. पाण्डे



इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले भारतमा कोरोना नियन्त्रण नभएसम्म नेपालमा पनि संक्रमण नियन्त्रण नहुने टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. पाण्डेले यस्तो बताएका हुन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको कुरा गर्दा हामी कहाँ चुक्यौं ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने,”हाम्रो यो छुट्टै आइल्याण्ड होइन । हामीकहाँ तीनतिरबाट इण्डियाको सिमानाले जोडेको छ । भारतमा अहिले पनि प्रत्येक ८० देखि ९० हजार संक्रमित देखिएका छन् । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउनेहरूको संख्याको क्रम रोकिएको छैन । रोक्नपनि सकिँदैन । त्यो हिसाबले व्यक्तिहरू नेपालमा आउन सक्छन् । उहाँहरूलाई बेलैमा हामी क्वारेन्टाइनमा राख्छौँ । सबैभन्दा मुख्य कुरा जसलाई लक्षण छ, उहाँहरू सेल्फ क्वारेन्टाइनमा बसिदिनुपर्छ र व्यक्तिले पनि स्वयम् बुझिदिनुपर्छ । यसमा सबैले लागेर गर्नुपर्छ । भारतमा जहिलेसम्म नियन्त्रण हुँदैन, हामीले पनि उहाँहरूसँगै टाइअप भएर गएनौँ भने संक्रमण बढ्न सक्छ ।” प्रस्तुत छ डा. पाण्डेसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

अब नेपाली जनताले पि.सि.आर टेस्ट गर्न नपाउने भए ? किन, तपाईले यस्तो निर्णय के कारणले गर्नुभयो ? तपाईहरूले किन बन्द गर्नुभयो, पि.सि.आर टेस्ट ?

कहाँ बन्द भएको छ र ?

तपाईहरूले के भन्नुभयो भन्दाखेरि लक्षण नभएका मान्छेहरूलाई नगर्ने भन्नुभयो नि ?

हामी सबै साइन्सबाट निर्देशित छौँ । हामीले वैज्ञानिक आधारमा हेर्ने हो । अरू देशमा पनि यो कोरोना भाइरस भनेको नयाँ रोग हो । मैले भाइरसको विषय पढेको भए पनि यो देशमा रिसर्चहरू के भएको छ, त्यो अनुसार हामीले काम गर्ने हो । त्यही अनुसार पि.सि.आर टेस्ट भईरहेको छ । संक्रमितहरूको संख्या पनि बढिरहेको हामीलाई जानकारी छ ।

तर तपाईहरूको जुन एउटा निर्णय बाहिर आएको छ, त्यो निर्णय विवादमा छ नि त ?

मैले के निर्णय गरेँ र ? निर्णय त पब्लिकलाई सार्वजनिक रूपमा गर्नुपर्ने निर्णय हो ।

सरकारले के भन्यो भने अहिलेको अवस्थामा पि.सि.आर टेस्ट गर्नको लागि लक्षण देखिनुपर्छ, कोरोनाको संक्रमणको, अनि मात्र गर्न सकिन्छ ?

अब यो कुरा के होला भने त्यो निर्णयको कुरा मलाई पनि आएको छ । स्वास्थ्य मन्त्रालयबाट पनि त्यो निर्णय भएको छ । अब हामीले के गर्छौैँ भने पि.सि.आर टेस्ट भनेको को मान्छेलाई गर्ने, को मान्छेलाई नगर्ने भन्ने कुरामा विज्ञान के हो भन्ने आधारमा गर्ने हो । स्वास्थ्य मन्त्रालयले के कुरामा बढी ध्यान दिनुपर्छ भने, उहाँहरूले निर्णय के हुनसक्छ भने अहिले कोरोनाको जुन व्यापक पि.सि.आर भएको कुरा भएको छ नि, हामीले टेस्ट त गर्नुपर्छ तर पहिले एक दुई ठाउँमा थियो, पि.सि.आर । अब जसलाई शंका लाग्छ, उहाँहरूले गएर टेस्ट गर्न सक्नुहुन्छ । त्यसमा केही समस्या भएन । जुन हामीले रेगुलर रूपमा गरेका थियौँ, अब संक्रमित भएर जसलाई लक्षण भएको छ र अहिले सबैभन्दा ठुलो समस्या के छ भने त्यो लक्षण भएका व्यक्तिहरू केही हदसम्म बढेको हुनाले उहाँहरूलाई दिनुपर्ने सेवा, अस्पतालको सुविधालाई बढाउनुपर्छ । पहिलो कुरा विरामी संक्रमित भयो भने के देखिँदो रहेछ भने जुन लक्षण भएका व्यक्तिहरू छन्, तिनीहरूमा अक्सिजनको मात्रा कम हुने हुन्छ । त्यसकारण अक्सिजनको सुविधा अस्पतालहरूमा मिलाउनुपर्छ । पि.सि.आर टेस्ट गर्न चाहनुहुन्छ भने छुट्टै भन्दा पि.सि.आर टेस्टको लागि सरकारले तोकेको मूल्य थियो, ५५०० थियो, मलाई थाहा भएको कुरा के भयो भने यो टेस्ट २००० मा गर्न सकिन्छ । त्यो हिसाबले सबैले गर्न सकिन्छ । टेस्ट कुनै लहरमा नगरिकन गर्न पर्नेलाई गर्ने, गर्न नपर्नेलाई नगर्ने भन्ने कुरा हो ।

त्यसोभए अब समुदायमा कोरोना फैलिन सक्छ कि सक्दैन ? अब सबै क्षेत्र खुल्ला हुँदैछ नि त भोलिबाट ? यातायात पनि, आन्तरिक उडान पनि ?

हजुर, यो खुल्ला हुँदैछ । पहिलो कुरा त के हो भने यो ६ देखि ७ महिनामा हाम्रा मान्छेले धेरै कुरा बुझिसके । यो लकडाउन साउनको ६ गतेबाट जुन खुल्यो नि, त्यसपछि हाम्रो संक्रमणको दर बढेको थियो । अब प्लेन पनि खुल्यो, सबै कुरा खुल्यो, अब केही पनि छैन भन्ने हिसाबले लिनुभएन । यो त एकजना व्यक्तिको मात्र कुरा होइन, समुदाय, व्यक्तिहरूमा अब सधैँ लकडाउन गरेर गाडी रोकेर सकिँदैन, तर सधैँ मास्क लगाउनुपर्छ । बस खुल्यो भन्दैमा हिँड्नुपर्ने जरुरी छैन । यो समुदायमा केही हदसम्म गएको निश्चित छ । अहिले हामीले अस्पतालमा टेस्ट गरेकोमा संक्रमणहरू देखिएको छ । संक्रमण भएको सबै व्यक्ति त्यस्तो भएका छैनन् । लक्षण भएका व्यक्तिहरू हामीसँग धेरै छैनन् । त्यो हिसाबले हामीले खोल्दै पनि जाने, टेस्ट पनि गर्दै जाने भन्ने छ ।

टेस्ट पैसा तिरेर गर्नुपरेको छ नि त ?

जोसँग पैसा छैन, जो विपन्न हुनुुहुन्छ, त्यस्तोलाई सरकारले गर्छ । यसमा कुनै कुराको समस्या हुँदै हुँदैन ।

कसैले आफु खुशी गर्छ भने पैसा तिनुपर्छ ?

म त रोग हो कि होइन, डर लाग्यो, भन्ने हुन्छ नि, त्यो लहर खालकाले अहिले पि.सि.आरको रेट पनि कम भईसक्यो । त्यसकारण पहिला ५५०० मा हुने टेस्ट अहिले २००० मा हुन्छ । यसको साथसाथै हामीले अरू खालको पनि टेस्टहरू स्वीकृत गरिएका छन् भने त्यसमा हामीले करेक्सन गर्छौँ । समुदायलाई मर्का पार्ने काम स्वास्थ्य मन्त्रालयले गर्छ जस्तो मलाई लाग्दैन ।

पि.सि.आर टेस्ट र देशमा कोरोनाको संक्रमणको कुरा गर्दाखेरि हामी कहाँ चुक्यौँ ? कहाँ अल्झियौँ ?

हाम्रो यो छुट्टै आइल्याण्ड होइन । हामीकहाँ तीनतिरबाट इण्डियाको सिमानाले जोडेको छ । भारतमा अहिले पनि प्रत्येक ८० देखि ९० हजार संक्रमित देखिएका छन् । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउनेहरूको संख्याको क्रम रोकिएको छैन । रोक्नपनि सकिँदैन । त्यो हिसाबले व्यक्तिहरू नेपालमा आउन सक्छन् । उहाँहरूलाई बेलैमा हामी क्वारेन्टाइनमा राख्छौँ । सबैभन्दा मुख्य कुरा जसलाई लक्षण छ, उहाँहरू सेल्फ क्वारेन्टाइनमा बसिदिनुपर्छ र व्यक्तिले पनि स्वयम् बुझिदिनुपर्छ । यसमा सबैले लागेर गर्नुपर्छ । भारतमा जहिलेसम्म नियन्त्रण हुँदैन, हामीले पनि उहाँहरूसँगै टाइअप भएर गएनौँ भने संक्रमण बढ्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्