Logo

१७० प्रकारका कोरोनाविरुद्धको भ्याक्सिन विकास हुँदै, नौवटाले अन्तिम परीक्षण पुरा गर्दै



प्रभात सिंहः विश्वभर कोरोना भाइरसविरुद्धको भ्याक्सिनको प्रतिक्षा छ । सँसारभर मानव संकट रहेको र जनजीवन नै अस्तव्यस्त पारिरहेको कोरोना संक्रमणविरुद्ध भ्याक्सिन अमृत सावित हुने भएकाले यसको व्यग्र प्रतिक्षा भएको हो । विश्वका नाम चलेका औषधी कम्पनि देखि रिसर्च संस्थाहरु भ्याक्सिन विकासमा जुटेका छन् । अहिलेसम्म एक सय ७० प्रकारका भ्याक्सिनको विकास भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ९ वटा भ्याक्सिन तेस्रो चरणको परीक्षणका क्रममा छन् । १८ वटा दोस्रो, २९ वटा पहिलो र एक सय ४२ वटा पूर्व परीक्षणकालमा छन् । विश्व स्वास्थ्य संगठनले कुनैपनि भ्याक्सिनलाई अनुमोदन गरिसकेको अवस्था छैन । रुसको भ्याक्सिन उसैले मात्र अनुमोदन गरेको छ ।

भ्याक्सिन विकासमा निकै मिहनेत, धैर्यता र समय लाग्छ । वैज्ञानिकहरु १२ देखि १८ महिनाभित्र कोरोनाविरुद्धको भ्याक्सिन विकासमा सक्रिय भएका छन् । यो भ्याक्सिन विकासमा लाग्ने निकै छोटो समय हो । त्यसैले यस क्रममा समस्या पनि आउन सक्छ ।

विश्वभर कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको तिव्र प्रतिष्पर्धा छ । नौ प्रकारका भ्याक्सिन तेस्रो चरणको अन्तिम परीक्षणका क्रममा भएकाले सन् २०२० भित्र नै कपिय भ्याक्सिन प्रयोगमा आउने आशा गरिएको छ । जसमध्ये रुसको गेमिलियाद्वारा विकास गरिएको भ्याक्सिन उक्त देशमा अनुमोदन भई सेम्टेम्बर महिनामै प्रयोगमा ल्याइने टुंगो लागिसकेको छ । भ्याक्सिन उत्पादन गरी रुसका विभिन्न क्षेत्रमा पठाइसकिएको छ ।

गेमिलिया निर्मित स्पुतनिक भी भ्याक्सिन यसै महिना सर्वसाधारणका लागि प्रयोगमा ल्याइने भएको छ । यसको अन्तिम तयारी भइसकेको छ । भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षणको अध्ययन ल्यान्सेट जर्नलमा प्रकाशित भइसकेको छ । तथ्यांकले उक्त भ्याक्सिन प्रभावकारी र सुरक्षित रहेको निष्कर्ष निकालिएको छ । स्पुतनिक भी नामको भ्याक्सिन साउदी अरेबिया, युएई, ब्राजिल, फिलिपिन्सलगायतका देशहरुमा ४० हजार स्वयंसेवीमाथि परीक्षण भइरहेको छ ।

अन्तिम अर्थात् तेस्रो चरणको मानव परीक्षणको क्रममा रहेका भ्याक्सिनहरुमा चिनियाँ कम्पनि सिनोभाक बायोटेकको कोरोनाभ्याक, ब्रिटेन र स्वीडेनको कम्पनि एस्ट्राजेनेकाको अक्सफोर्ड भ्याक्सिन, अमेरिकाको मोर्डना र फाइजर बायोनटेक यसै वर्ष अनुमोदन गरी प्रयोगमा ल्याउने क्रममा छन् । ती भ्याक्सिनको प्रयोग २०२० को अन्तसम्ममा गर्ने योजनाका लागि तयारी भइसकेको छ ।

चीनको बेइजिङस्थित क्यानसिनो बायालोजिक्सको भ्याक्सिन, युनिभर्सिटी अफ मेलबर्न र मुरुडकको भ्याक्सिन, वुआन इन्स्टिच्युट अफ बायोलोजिकल प्रटक्स्टको सिनोफार्म, चिनियाँ भ्याक्सिन सिनोफार्म पनि तेस्रो चरणको परीक्षणको क्रममा छन् ।

अक्सफोर्ड र मोर्डना भ्याक्सिन उत्पादन नहुँदै कतिपय देशले चासो बढाइसकेका छन् । अक्सफोड भ्याक्सिनको परीक्षण केही समय रोकेपनि पुनः सुचारु गरिएको छ । एकजना स्वयंसेवीको स्वास्थ्यमा समस्या आएर रोकिएको थियो ।

यसैगरी, भ्याक्सिनको पहुँचका लागि लबिङ शुरु भइसकेको छ । चीनको भ्याक्सिन जोखिममा काम गर्ने स्वास्थ्यकर्मीका लागि प्रयोगको अनुमती दिइसकिएको छ ।

अहिले विश्वभर एक सय ७५ वटा भ्याक्सिन विकासको चरणमा छन् । जसमध्ये ३३ वटा मानव परीक्षणको क्रममा छ ।

अक्सफोर्ड भ्याक्सिन प्रभावकारी भ्याक्सिनको अग्रपंक्तिको दौडमा छ । यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र भारतमा भइरहेको छ ।

भारतमा कोभिशिल्ड दोस्रो र तेस्रो चरणको मानव परीक्षणको क्रममा छ । भारतको १७ स्थानमा १६ सय स्वयंसेवीमाथि यसको परीक्षण भइरहेको छ । यो पुणास्थित सेरम इन्स्टिच्युट अफ इन्डियाले विकास गरिरहेको छ ।

फाइजर कम्पनिको भ्याक्सिनको तेस्रो चरणको परीक्षणको नतिजा डाटा अक्टोबर महिनाभित्र आइसक्नेछ । त्यसपछि २०२० भित्र नै यसलाई प्रयोगमा ल्याउने गरी तयारी भइरहेको छ ।

अमेरिकाको मोर्डना कम्पनिको भ्याक्सिन तेस्रो चरणको परीक्षण १३ हजार स्वयंसेवीमाथि गरिरहेको छ । उसले प्रत्येक भ्याक्सिनको मूल्य समेत ६० डलर हरेक कोर्सका लागि पर्ने गरी योजना बनाइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोर्डना भ्याक्सिन १० करोड डोज भ्याक्सिन खरिद गर्ने घोषणा गरिसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्