Logo

कञ्चनपुरका आठ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाइने



कञ्चनपुर, ३१ भदौ: कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि कञ्चनपुरका आठ वटा स्थानीय तहमा पाँच बेडको ‘कोभिड–१९ अस्थायी अस्पताल’ निर्माण हुने भएको छ ।

कोभिड– १९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई पाँच बेडको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि कञ्चनपुरका आठ स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माण हुने भएको हो ।

कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको आइतबार बसेको ११ औं बैठकले अस्पताल नभएका स्थानीय तहमा अस्थायी अस्पताल निर्माण गर्नका लागि बजेट समेत पठाएको छ । अस्थायी अस्पताल निर्माणका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत प्रत्येक स्थानीय तहमा रु १० लाखका दरले बजेट निकासा भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए ।

उहाँका अनुसार जिल्लामा कृष्णपुर, पुर्नवास, बेदकोट, बेलौरी, महाकाली र शुक्लाफाँटा नगरपालिका तथा बेलडाँडी र लालझाडी गाउँपालिकामा पाँच बेडका कोभिड अस्थायी अस्पताल निर्माण हुने भएका छन । “प्रत्येक अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगीको व्यवस्था हुनेछ” उनले भने, “यसका लागि स्थानीय स्तरकै जनशक्तिलाई प्राथमिकतामा राखिएको छ ।”

निर्माण हुने अस्थायी अस्पताल व्यवस्थापनमा प्रतिबेड रु दुई लाखका दरले खर्च गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै स्थानीय तहले तीन महिनाका लागि पाँच बेडमा रु पाँच लाख, औषधिका लागि रु ५० हजार तथा चकित्सक, नर्स र कार्यालय सहयोगीको पारिश्रमिकबापत रु चार लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरिएको छ । तत्काल पाँच बेडको अस्पताल निर्माण हुने भएपनि कोभिड बिरामीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै त्यसलाई बढाएर १५ बेडसम्म पु¥याउन सक्ने योजना रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख सुनारले बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका ७६ स्थानीय तहमा कोभिड अस्थायी अस्पताल निर्माण हुने भएका छन् । तीमध्ये सबैभन्दा बढी कैलाली र बझाङमा ११÷११ वटा स्थानीय तहमा कोभिड अस्थायी अस्पताल निर्माण हुने भएका छन् । त्यस्तै बाजुरा डोटी, दार्चुला, अछाम र कञ्चनपुरका आठ-आठ, बैतडीका नौ र डडेल्धुराका पाँच स्थानीय तहमा अस्थायी कोभिड अस्पताल सञ्चालन हुने भएका छन ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्