Logo

अख्तियारलगायत संवैधानिक आयोगमा नियुक्तिका लागि ओली, प्रचण्ड र देउवाबीच भोलि बैठक हुने



काठमाडौं, ३१ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्ताले संवैधानिक आयोगमा नियुक्तिको प्रक्रिया बढाउने सहमति निर्माण गरेको छ । अब निर्णयमा पुग्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई राखेर तीन नेताले भेटवार्ता गर्ने तय भएको छ ।

भोलि ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा भेट हुने तय भएको छ । यो भेट संवैधानिक आयोगमा नियुक्तिका लागि निर्णायक हुनसक्ने बुझिएको छ । तीनैजना नेताहरुले संवैधानिक आयोगमा आफ्नो तर्फबाट नियुक्तिको भागवण्डा मिलाउने प्रयास गर्नेछन् ।

अख्तियारमा प्रमुख आयुक्तसहित दुई आयुक्त पद खाली छ । जसमा तीनै नेताले आफू निकटस्थलाई बनाउन खोजेका छन् । ओलीले कम्तिमा प्रमुख आयुक्तसहित अर्का एक आयुक्त आफू निकटस्थलाई बनाउन खोजेका छन् । तर, प्रचण्ड र देउवाको पनि दाबी रहेको छ ।
संवैधानिक आयोगका ४० भन्दा बढी पद रिक्त छन् । त्यसका लागि प्रमुख तीन नेताहरुबीच सहमति बन्न सकेको छैन । यसपटक भने सहमति निकाल्न नेताहरु सक्रिय भएका छन् ।

संवैधानिक आयोगको नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बसी निर्णय लिनुपर्ने हुन्छ । परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख रहने व्यवस्था छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्