Logo

पत्नी र छोराको हत्या गरेको दुई दिनसम्म ‘सुदीप छटपटिइरहे’, अन्तमा आफैलाई समाप्त गरे



काठमाडौं, ३१ भाद्र । पत्नी र छोरालाई धारिलो हतियारको प्रयोग गरेको दुई दिनसम्म उनले छटपटाहटमा समय बिताएका थिए । उनले मोबाइल समेत स्वीच अफ गराइदिएका थिए । त्यसपछि आफूले पनि आत्महत्या गरेका थिए ।

भक्तपुरमा एकै परिवारको तीनजनाको शव भेटिएको घटनामा मुख्य दोषी मृतक सुदीप अधिकारी नै रहेको प्रहरी लगभग निष्कर्षमा पुगेको छ । पोष्टमार्टम रिपोर्टले पनि सुदीपकी पत्नी सम्झना अधिकारी र छोरा सुशान्त अधिकारीको धारिलो हतियार प्रहारबाट हत्या भएको देखाएको प्रहरीले जनाएको छ । पत्नी र छोराको हत्या भएको दुई दिनपछि सुदीपको आत्महत्या देखिएको छ ।

सुदीपले छोरा सुशान्तको घाँटी रेटेर टाउकोमा पटक पटक धारिलो हतियारले प्रहार गरेको अनुसन्धान र पोष्टमार्टम रिपोर्टबाट पत्ता लागेको छ । उनले त्यसपछि पत्नीको हत्या गरेका थिए । घरनजिकैको धानबारीमा सल्फस विषको दुईवटा बट्टा समेत भेटिएबाट उनले आत्महत्याका लाग सोही विषादी प्रयोग गरेको देखिएको छ ।

सुदीपले २३ भाद्रमा पत्नी र छोराको हत्या गरेका थिए । हत्याको दुई दिनपछि दुवैजनाको मोबाइल स्वीच अफ गरिदिएका थिए । पोष्टमार्टममा सुदीपले २५ भाद्रको विहान तिर आत्महत्या गरेको देखिएको छ । २६ भाद्रमा मात्र घटनाबारे जानकारी भएको थियो । उनको आफन्त घरमा पुग्दा विभत्स घटना देखी प्रहरीलाई खबर गरेका थिए । चार दिन अघि हत्या भएकाले पत्नी र छोराको शव गन्हाइसकेको थियो । सुदीपको शव भने सग्लै थियो ।

कुकुरको शव पनि केही सडेको अवस्थामा रहेकाले सबैभन्दा पहिलो कुकुरको हत्या भएको अनुमान गरिएको छ । सीसीटीभी फुटेजबाट थिमीको निकोसेरास्थित उनको घरमा अन्य कोही व्यक्ति पसेको या निस्किएको नदेखिएको प्रहरीले जानकारी दिएको छ ।

तीनजनाको सानो परिवार भएपनि सुदीप र सम्झनाबीच झगडा भइरहन्थ्यो । पारिवारिक कलहबारे छिमेकीले समेत प्रहरीलाई बयानका क्रममा भनेका छन् । सुदीप ऋणमा समेत थिए । पसल थियो । एक वर्ष अघि उनी जागिर गुमाउन पुगेका थिए । यसको कारण मद्यपान गर्ने बानी कारण थियो । कृषि विकास बैंक र ससुरालीको गरी उनी २५ लाख ऋणमा थिए ।

छोरा सुशास्तले यसै वर्ष एसइइ पास गरेका थिए । कलेज भर्नाको प्रक्रियामा थिए । २२ भाद्र सम्म सुदीपले पसल खोलेका थिए ।

घटनामा ३६ वर्षीय सुदिप अधिकारी, उनकी पत्नी ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमै फेला परेको थियो । हरेक तल्लामा एउटा कोठा रहेको र तीनवटा शव तीनवटा अलग तल्लामा भेटिएको थियो ।



प्रतिक्रिया दिनुहोस्