Logo

अज्ञात रोगका बिरामी बढे



हुम्ला, १ असोज । हुम्ला सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले २० जना बिरामी परेका छन् । केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको संख्या बढ्दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिनुभयो ।

दैनिकरुपमा बिरामीको संख्या बढेसँगै स्वास्थ्य संस्थामा औषधीको पनि अभाव हुँदै गएको छ । बिरामीको संख्या बढेसँगै उपचारका लागि स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा जाँदा औषधीको पनि अभाव हुँदा थप समस्या भएको कार्कीले गुनासो गर्नुभयो ।

गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधी नगएपछि बिरामीलाई थप समस्या भएको हो । थप उपचारका लागि एक बिरामीलाई गएको साता जिल्ला अस्पताल सिमकोट ल्याइएको भए पनि उनको ज्यान गएपछि त्रसित भएका स्थानीयबासीले स्वास्थ्यकर्मीको टोली खटाइदिन आग्रह गरेका छन् ।

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले समन्वय नगरेका कारण औषधी भए नभएको थाहा नहुने स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभयो । उहाँले उनापनीका बिरामी र स्वास्थ्य इकाइमा औषधीको अवस्था बुझेर जानकारी गराउने बताउनुभयो ।

सर्केगाड गाउँपालिका स्वास्थ्य शाखामा औषधी अभाव भएका कारण स्वास्थ्य संस्थाहरुमा समेत अभाव देखिएको संयोजक सन्तोष धामीले बताउनुभयो । केही दिनअघि गाउँपालिकामा पुगेको औषधी दाखिला गरिनसकेको उहाँले बताउनुभयो । औषधीको मुचुल्का भएको र दाखिला गरी सबै वडाका स्वास्थ्य संस्थामा पठाउने तयारी भइरहेको धामीले बताउनु भएको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्