Logo

सीमापारी अड्किए प्याजका गाडी



विराटनगर, असोज १ । भारत सरकारले निकासीमा प्रतिबन्ध लगाएपछि विराटनगरको जोगवनी नाका हुँदै नेपाल आउनुपर्ने प्याजका गाडी सीमापारी नै अड्किएका छन्।

व्यवसायीका अनुसार निर्यातमा रोक लगाउने भारत सरकारको निर्णयसँगै सीमापारी भारतको जोगवनी बजारमा प्याज लोड भएका १२ वटा ट्रक रोकिएका हुन्। ती ट्रक विराटनगर भन्सार हुँदै बुधबार नेपाल ल्याउने तयारी थियो।

विराटनगरको गुद्री बजारस्थित प्याजका थोक विक्रेता पशुपति भगतले अचानक भारत सरकारले निर्णय गरिदिएपछि नेपाली व्यापारीले खरिद गरेर ल्याउन खोजेको तीन सय ६० मेट्रिकटन प्याज जोगवनीमै रोकिएको जानकारी दिए।

उनले आफ्नो मात्रै प्याज लोड भएका सातवटा ट्रक जोगवनीमा रोकिएको जानकारी दिए। ‘सरकारको निर्णयसँगै भारतीय प्रहरीले गाडी रोकेका छन्’, भगतले भने, ‘जसका कारण मेरोमात्रै दुई सय १० मेट्रिकटन प्याज रोकियो।’ भारतको इन्दौरबाट आयात हुँदै आए पनि एकाएक रोक लगाइएपछि आफ्नो एक करोड ८२ लाख बढी मूल्यको प्याज ल्याउन नसकिएको जानकारी उनले दिए।

नेपाली व्यवसायीको मात्रै तीन करोड १२ लाख रुपैयाँ बढीको प्याज जोगवनीमै रोकिएको उनको भनाइ रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्