Logo

किसान क्रेडिट कार्डको तयारी अन्तिम चरणमा



काठमाडौं, असोज १। कृषि ऋणमा किसानको सहज पहुँच पुर्‍याउन पहिलोपटक जारी हुन लागेको किसान क्रेडिट कार्डको तयारी करीब अन्तिम चरणमा पुगेको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले किसान क्रेडिट कार्ड जारी गर्ने अधिकार कृषि विकास बैंकलाई दिएपछि प्राविधिक तयारी भइसकेको र कार्यविधि पूरा हुन केही समय लाग्ने बैंकले बताएको छ ।

कृषि विकास बैंकका सचिव तथा प्रवक्ता हेमलाल पौडेलका अनुसार यस्तो कार्डमार्फत किसानहरूले करीब ५ हजार रुपैयाँ बराबरको कर्जा प्रयोग गर्न सक्छन् । किसान क्रेडिट कार्डसम्बन्धी कार्यविधि तथा सञ्चालक समितिले यसमा फेरबदल गर्न सक्ने उनको भनाइ छ । कार्डधारकले उक्त रकम बराबरको कर्जा सकिएमा नियमअनुसार फेरि सोही बराबर कर्जा थप्न पाउने व्यवस्था भएको उनले जानकारी दिए ।

क्रेडिट कार्डबाट किसानले तोकिएको रकम बराबरको मल, बीउबिजन खरीद गर्न सक्नेछन् । कार्डसँगै बैंकले एप्स पनि बनाएको छ, जसबाट किसानले तरकारीलगायत उत्पादनको बजार मूल्य, मौसम, बीउबिजनको मूल्य लगायतबारे जानकारी पाउन सक्छन् ।

यो एप्सबाट व्यावसायिक किसानका लागि लाभ हुनेछ तर स्मार्ट फोन प्रयोग नगर्ने किसानका लागि भने यो खासै उपयोगी नहुने उनको भनाइ छ ।

किसानले बैंकबाट कर्जा स्वीकृति गराएपछि कार्डमा कर्जाको रकम लोड गरिन्छ र किसान एपमा ऋणी किसानको प्रोफाइल तयार हुन्छ । किसानले लिएको कर्जा, सरकारबाट पाएको अनुदान, कृषि औजारको उपलब्धता, उत्पादनको बजारीकरण र मूल्यसमेत ड्यासबोर्डमार्पmत किसानले जानकारी पाउन सक्छन् ।

कार्डबाट मल, बीउ आदि खरीद गर्न सकिन्छ तर त्यसबाट रकम निकाल्न भने पाइँदैन । यसले किसानलाई आपूर्ति शृंखलामा जोड्ने विश्वास बैंकले लिएको छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्