Logo

६ करोड रुपैयाँ बराबरको बालुवा जफत



सिन्धुपाल्चोक,असोज १ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको नदी तथा खानीजन्य पदार्थ अनुगमन समितिले रू। ६ करोड ५ लाख ५ हजार २०० बराबरको बालुवा जफत गरेको छ । समितिले हालसम्मकै उच्च परिमाणमा अवैध वालुवा जफत गरेको बताएको छ ।

जिल्लामा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन् भइरहेको जानकारी पाएपछि जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सशस्त्र प्रहरी बलका प्रतिनिधि र सम्बन्धित स्थानीय तहका प्रतिनिधि सम्मिलित एक अनुगमन टोली बनाएर खटाइएको जिल्ला समन्वय समितिले बताएको छ ।

अनुगमनको क्रममा जिल्लाका विभिन्न नदीबाट निकालिएको ३५ हजार घनमिटर बालुवा नियन्त्रणमा लिएको अनुगमन समितिका संयोजक सापकोटाले बताइन् । टोलीले हेलम्बु, इन्द्रावती, मेलम्ची, चौतारा साँगाचोकगढी नगरपालिकासहित अरनिको राजमार्गमा राखिएका बालुवा जफत गरेको हो ।

जिल्लामा बालुवाको दररेट प्रतिघनफिट रू। ४० छ । सो मूल्यका आधारमा जफत गरिएको बालुवाको मूल्य रू। ४ करोड ९३ लाख ९२ हजार हुन आउँछ । १ घनमिटरमा ३५।२८ घनफिट हुन्छ । बागमती प्रदेश सरकारले तोकेको उत्खनन् तथा विक्री कर दररेट अनुसार १ घनफिट बालुवाको राजस्व रू। ९ पर्दछ । हालको दररेट अनुसार ३५ हजार घनमिटर बालुवाको राजस्व रू। १ करोड ११ लाख १३ हजार २०० हुन आउँछ ।

जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ उत्खनन् गर्न असारदेखि भदौसम्म ३ महीना रोक लगाउने निर्णय पनि गरेको आर्थिक अभियान दैनिकममा खवर छ ।



प्रतिक्रिया दिनुहोस्