Logo

अख्तियारमा आयुक्तसहित तीन पदमा क-कस्को नाममा जुट्ला सहमति ?



काठमाडौं, १ असोज । आज प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच महत्वपूर्ण भेटवार्ता हुँदैछ । विरलै हुने तीन नेताबीचको भेट संवैधानिक आयोगमा रिक्त पदमा नियुक्तिबारे सहमति जुटाउन केन्द्रित हुने बुझिएको छ ।

विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त र दुई आयुक्तको रिक्त पदका लागि कुरा मिलाउन छलफल केन्द्रित हुने बुझिएको छ । अख्तियारमा कामु प्रमुख आयुक्तमा गणेशराज जोशी छन् । सदस्यमा सावित्री गुरुङ छिन् । बाँकी तीन पदमा तीन नेताले बाँडफाँड गर्ने सम्भावना पनि छ । तर, ओलीले दुई पद आफ्नो रोजाइकालाई बनाउने अडान लिदै आएका छन् । एक पदमा प्रचण्ड या देउवाको रोजाई पर्न सक्छ । अन्य संवैधानिक आयोगमा भागवण्डा गरेर मिलाउने सम्भावना पनि बलियो छ ।

अख्तियारमा आयुक्तको आकांक्षीमा पूर्व गृहसचिव प्रेम राई, पूर्व आइजीपी सर्वेन्द्र खनाल, पूव डिआइजी केशरी घिमिरे, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दिलिप रेग्मी, पूर्व एआइजी जयबहादुर चन्दलगायत छन् । तर, चन्दलाई प्रधानमन्त्री ओलीले रुचाएका छैनन् ।
केही पूर्व सचिवहरु पनि अख्तियारको आयुक्त बन्ने दौडमा छन् । तर, उनीहरु प्रधानमन्त्री ओलीको रोजाइमा परिसकेका छैनन् ।

गृहसचिव हुँदा प्रेम राई र तत्कालिन आइजीपी सर्वेन्द्र खनालको ट्युनिङ मिलेकाले दुवैलाई ल्याउने पक्षमा प्रधानमन्त्री ओली सकारात्मक रहेको बुझिएको छ । दुवै जोखिम मोलेर काम गर्ने भएकाले ओली सकारात्मक रहेको बुझिएको छ ।

सम्भवत आज महत्वपूर्ण छलफल भई अख्तियारको आयुक्तमा सहमति जुट्न सक्छ । सहमति जुटेलगत्तै आउँदो हप्ता संवैधानिक परिषद्को बैठक बसी नियुक्ति हुनसक्छ ।

अख्तियारमा धेरैको चासो छ । तर, विभिन्न संवैधानिक आयोगका ४० भन्दा बढी पद रिक्त छन् । यसपटक भने प्याकेजमा सहमति जुट्ने सम्भावना छ ।

संवैधानिक आयोगको नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बसी निर्णय लिनुपर्ने हुन्छ । परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख रहने व्यवस्था छ । सर्वसम्मतिले निर्णय नभएमा बहुमतबाट निर्णय लिनुपर्ने अवस्था समेत आउनसक्छ ।



प्रतिक्रिया दिनुहोस्