Logo

ओलीले बामदेवलाई अलमलाउनुको संकेत



काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा विशेषता छ- भेट्न आउनेलाई घन्टौं कुराउने । उनले ती व्यक्तिलाई बढी कुराउँछन् जोसँग उनको निकटता कम छ र सकारात्मक पनि हुँदैनन् । ओलीले आफ्नै दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत बालुवाटार डाकेर धेरै समय कुराएको घटनाहरु छन् ।

ओलीले भेट्न आएकालाई कुराएर कुनै न कुनै सन्देश दिन खोज्छन् । यसपटक बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिशका लागि त्यस्तै शैली देखाए ।

गौतमलाई राष्ट्रियसभामा मनोनित सदस्य बनाउने निर्णय नेकपा सचिवालको अहिलेको होइन । तीन महिना अघिको यो निर्णय कार्यान्वयन गर्न ओलीले निकै अलमल गरे । पार्टीको तीन हप्ता अघि सम्पन्न सचिवालय बैठकमा दबाब बढेपछि उनले विगतको निर्णय कार्यान्वयन गर्ने बताए ।

बोलेको दुई हप्ता पछि सोमबार बल्ल बामदेवबारे निर्णय भयो । अझै पनि राष्ट्रपतिबाट सरकारको निर्णय बमोजिम बामदेव मनोनित भइसकेका छैनन् । सम्भवत आज यसबारे निर्णय आउने बताइएको छ । तर, सरकारले निर्णय गरेको चार दिनसम्म पनि यो अलमलमा छ । बरु क्याबिनेटका मन्त्रीहरुले चाल नपाउने गरी निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकारमा नियुक्ति भइसकेको छ । उनले काम समेत थालिसकेका छन् ।

बामदेवलाई भने ओलीले निरन्तर अलमलाइरहेका छन् । यसका पछाडि उनलाई उपप्रधानमन्त्रीसहित मन्त्रीमा नलाने संकेतका रुपमा पनि लिइएको छ । गौतम सांसद बन्न मात्र राष्ट्रियसभामा आउन लागेका होइनन् । उनको चाहना उपप्रधानमन्त्रीसहित अर्थ या गृहमन्त्री बन्ने छ । अर्थमा युवराज फेरि हावी भइसकेका छन् । त्यहाँ ओलीले लगिहाल्ने सम्भावना क्षीण छ ।

गृहमा रामबहादुर थापा बादल छन् । बादललाई पन्छाउन ओली तयार देखिने सम्भावना क्षीण छ । त्यसैले सरकारमा लानेमा गौतमलाई ओलीले अलमलाउन सक्छन् । यसको संकेत मिलिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्