Logo

एक महिनाभित्रै कोरोनाविरुद्धको भ्याक्सिन ल्याएर चुनाव जित्ने ट्रम्पको रणनीति



एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एउटा महत्वपूर्ण भविष्यवाणी गरे । उनले ठोकुवाका साथ भने कि अमेरिकी जनताले अक्टोबर महिनामै कोरोनाविरुद्धको भ्याक्सिन प्राप्त गर्नेछन् । कोरोनाविरुद्धको भ्याक्सिन विकासमा लामो समय लाग्ने विज्ञहरुले बताइरहँदा ट्रम्पको पछिल्लो भनाई आएको हो । यसले अमेरिकाभित्रै विवाद जन्माएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोगथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले यो वर्षको अन्तमा या जनवरीमा कोरोनाको जोखिममा काम गरिरहेकाहरुलाई भ्याक्सिन उपलब्ध गराउने बताइरहँदा ट्रम्पको फरक भनाई सार्वजनिक भएको हो । यतिसम्मकी ट्रम्पले रेडफिल्ड द्वुविधामा परेको हुनसक्ने टिप्पणी गरे ।

ट्रम्पको कोरोनाविरुद्धको भ्याक्सिनको भनाई यस्तो समयमा आएको छ जुन समयमा अमेरिकी राष्ट्रपति चुनाव आउँदैछ । ३ नोभेम्बरका लागि तय भएको चुनावको मिति कोरोना भाइरसको महामारीले पनि नरोकिने निश्चित छ । ट्रम्पले यसैलाई लक्षित गरी कोरोनाविरुद्धको भ्याक्सिन शिघ्र उत्पादनमा दबाब दिएको हुनसक्ने विश्लेषणहरु भइरहेको छ । हुनपनि ट्रम्प भ्याक्सिन विकासको जस लिएर चुनावमा पल्लाभारी बनाउन चाहिरहेका छन् ।

ट्रम्प चुनाव अघि नै कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन चाहन्छन् । त्यसको संकेत पटक पटक गरिसकेका छन् । उनले केही हप्ताभित्रै भ्याक्सिनसम्बन्धी महत्वपूर्ण परिणाम आउने अभिव्यक्ति दिइसकेका थिए । अमेरिकामा मोर्डना, फाइजर र जोन्सन एन्ड जोन्सन कम्पनिको भ्याक्सिन विकास भइरहेको छ । जसमध्ये मोर्डना भ्याक्सिन अन्तिम चरणको परीक्षणमा रहेको छ । ट्रम्पले यसैलाई देखाइरहेका छन् । उनले अक्टोबरमै भ्याक्सिनको प्रयोगको जस लिएर नोभेम्बरमा चुनावी माहोल आफ्नो पक्षमा पार्न खोजिरहेका छन् ।

कोरोनाविरुद्धको भ्याक्सिन घोषणा भएलगत्तै ट्रम्प फेरि लोकप्रीय हुनसक्नेछन् । उनले यसलाई चुनाव जित्ने एउटा बलियो आधार देखेका छन् । तर, हतारमा भ्याक्सिनको घोषणा गरेर चुनावमा बलियो बन्ने ट्रम्पको रणनीति रहेको भन्दै टाइम म्यागाजिनले एउटा विश्लेषणात्मक रिपोर्ट सार्वजनिक गरेको छ । वैज्ञानिक र मेडिकल रिसर्चरहरुले ट्रम्प प्रशासनलाई २०२० भित्र भ्याक्सिन तयार नहुने बताइरहेको रिपोर्टमा उल्लेख गरिएको छ । यसलाई मान्न ट्रम्प तयार छैनन् ।

ट्रम्प भने २०२० भित्र मात्र नभई अक्टोबर महिनाभित्रै भ्याक्सिन विकास भइसक्ने बताइरहेका छन् । उनले सोमबार भ्याक्सिन अक्टोबरमा विकास भइसक्ने बताए । चुनाव ३ नोभेम्बरमा हुने र भ्याक्सिन अक्टोबरमा विकास गरेर घोषणा गर्ने ट्रम्पको रणनीति पनि हुनसक्छ । यसले उनको पक्षमा महोल तयार गर्न सक्छ ।

ट्रम्पले चुनाव नजिकिदै गर्दा खाडी क्षेत्रमा तरंग ल्याउने अर्थपूर्ण योगदान गरेका छन् । इजरायलको युएई र बहराइनसँग शान्ति सम्झौता गराइदिएका छन् । लगत्तै उनी नोबल पुरस्कारको दाबेदार पनि बनेका छन् । उनको नाम २०२१ को नोबेल शान्ति पुरस्कारको दाबेदारको सुचीमा परेको छ । फक्सन्युजका अनुसार ट्रम्प नोबल शान्ति पुरस्कारको मनोनयन सुचीमा परेका छन् । शान्ति सम्झौताको ऐतिहासिक कदमले ट्रम्पको उचाई बढाइदिएको छ ।

राष्ट्रपति नहुँदै कुसल मध्यस्थकर्ताको परिचय बनाएका थिए ट्रम्पले । उनले त्यो खुबी राष्ट्रपति हुँदा पनि देखाए । जसले उनलाई दोस्रो कार्यकाल राष्ट्रपतिमा विजयी बनाउन सहयोग पुग्न सक्छ ।-एजेन्सीको सहयोगमा  तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्