Logo

छ महिनापछि बाँकेमा सार्वजनिक यातायात सञ्चालन



राँझा, १ असोज: बाँकेमा कोरोना भाइरस महामारीका कारण बन्द रहेका सार्वजनिक सवारी साधन आजदेखि सञ्चालन भएका छन् । गत चैत महिनामा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै बन्द भएका लामो दूरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा आएका हुन् ।

नेपालगञ्ज बसपार्कमा आज बिहानैदेखि यातायात व्यवसायी, कर्मचारी, मजदुर र यात्रुको चहलपहल बढेको छ । लामो दूरी तथा अन्तरजिल्लाका लागि आजैदेखि बस सञ्चालनमा आएको राष्ट्रिय यातायात व्यवसायी महासङ्घका उपमहासचिव एवं भेरी बस व्यवसायी प्रालिका अध्यक्ष डेकनाथ गौतमले जानकारी दिए ।

“आजदेखि बस सञ्चालन शुरु भएको छ । आज ‘क्यू फ्री’ भएकोले यात्रु पाउनासाथ आफ्नै तरिकाले गाडी सञ्चालन भएका छन्”, उनले भने, “बसपार्कमा टिकट काउन्टर सबै खुलिसकेको छ, आजैदेखि लामो दूरीका गाडी पनि नियमित सञ्चालन हुन्छन् ।”

सरकारले कोरोना भाइरसको महामारीको समयमा गाडी सञ्चालन गर्दा बनाएको मापदण्डका आधारमा गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्ने, ५० प्रतिशतसम्म भाडा बढाउने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गरेर बस सञ्चालन भएको उनले बताए ।

“यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नुपर्नेछ । गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजरको व्यवस्था गरिएको छ”, गौतमले भने, “कोरोना भाइरसबाट जोगिनका लागि उच्च सुरक्षा सतर्कताका साथ नेपालगञ्जबाट आजैदखि मेची महाकाली सबैतिर लामो दूरीका बस सञ्चालन भएका छन् ।”

नेपालगञ्ज बसपार्कबाट सङ्घीय राजधानी काठमाडौँ, पूर्वी नेपालका धरान, काँकडभिट्टा, विराटनगर, प्रदेश २ का जनकपुर, वीरगञ्ज, गण्डकी प्रदेशका पोखरा, बाग्लुङ, प्रदेश ५ का बुटवल, दाङ, कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जुम्ला र सुदूरपश्चिम प्रदेशको धनगढी, महेन्द्रनगर, टीकापुरलगायतका स्थानमा सीधा बस सेवा सञ्चालन हुने गरका छन् ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्