Logo

सरकारले भनेजस्तो ५० प्रतिशत यात्रु क्षमतामा उडान गर्न सक्दैनौं : प्रवक्ता कँडेल



वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कंडेलले सरकारले भनेजसरी जहाजको क्षमताको ५० प्रतिशतमात्रै यात्रु राखेर उडान गर्न नसकिने स्पष्ट पारेका छन् । उनले आफूहरुले पूर्ण क्षमतामै जहाज उडाउन पाउनुपर्ने माग राखेको पनि जनाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता कँडेलले यस्तो बताएका हुन् । पत्रकार धमलाले ‘ देश महासंकटमा छ । तपाईहरूले उडान गर्न पाउनुभएको छ । यसलाई तपाईहरूले सदुपयोग गर्नुपर्ने होइन र ?’ प्रश्नमा उनले भने,‘होइन हजुर होइन । यसै त हामी छ महिनादेखि डुबिनै रहेका छौँ । यहाँ पोखरीमा छौँ, अझै समुद्रन्मा हाम फाल भनेर सरकारले भन्छ भने त्यो गर्न सकिदैँन ।’ प्रस्तुत छ कँडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईहरूले किन विमान उडान गर्न चाहनुभएन ? के कारणले ?

हिजो मात्र यात्रु बोक्न पाउने भनेर जुन शर्तहरू राख्यो, हाम्रो वायुसेवाहरूको कमसेकम न्युनतम वि.ई.पी. आउँछ, जहाजको प्रकृति हेरिकन व्यक्तिगत प्वाइन्ट आउने भएको कारणले ५० प्रतिशत सिट क्षमताको उडान गर्नु भनेको हामीलाई सिधै घाटामा गर भनेको हो । यदि कुनै क्षतिपूर्ति दिने व्यवस्था गरिदिएको भए हामीलाई समस्या थिएन ।

देश महासंकटमा छ । तपाईहरूले उडान गर्न पाउनुभएको छ । यसलाई तपाईहरूले सदुपयोग गर्नुपर्ने होइन र ?

होइन हजुर होइन । यसै त हामी छ महिनादेखि डुबिनै रहेका छौँ । यहाँ पोखरीमा छौँ, अझै समुद्रन्मा हाम फाल भनेर सरकारले भन्छ भने त्यो गर्न सकिदैँन ।

होइन, सरकारले भनेको काम गर्न सकिदैँन ?

सरकारले यसमा के विश्लेषण गर्नुपर्छ भने युरोप, अमेरिका संसारका मुलुकहरूमा हेर्नुहुन्छ भने संसारले वर्षौँ कर तिरेका व्यवसायीहरूलाई क्षतिपूर्ति दिएको छ । अबको आगामी दिनमा यसलाई कसरी उन्नतितिर लग्न सकिन्छ ? भनेर धेरै कुराहरूमा फोकस गरेर उनीहरूले सुविधाहरू दिएका छन् । हाम्रोमा सुविधा त कहाँ हो कहाँ, अझ त्यसमा भएकोलाई पनि डुब्नेगरी तिमीहरू गर भनिएको छ । हामी त भोलि उठ्नै सक्दैनौँ, यसरी गर्ने हो भने त ।

तर पनि देशको आवश्यकता हो, दशैँ, तिहार आउँदैछ । चाडवाडको सुरुवातको समय छ । अहिले त उडान त गर्नैपर्ने होइन र ?

हामी उडान गर्न तयार छौँ ।

जनताको माग हो, उडान गर्नुपर्छ भनेर । जनता अहिले त समस्यामा छन् नि ?

तपाईले भनेको जायज हो । त्यसकारण उडान गर्न चाहन्छौँ । तर के हो भने वि.ई.पीमा आउनेगरी उडान गरौँ । यसमा जनतासँग धेरै पैसा लिन मिल्दैन । सरकारलाई बुझाएको हिजो रातिको पत्रमा पनि हामीले के भनेका थियौँ भने हामी पैसा बढि लिदैँनौँ, जनतासँग । तर जाहजको क्षमताअनुसार १०० प्रतिशत उडान गर्न दिनुहोस् र जहाजमा चढ्ने प्यासेन्जरको हकमा हामीले ३ देखि ४ लेभल स्क्रिनिङ्ग गर्छौँ भने स्वस्थ यात्रुमात्रै हवाईजहाजमा चढ्छन् भन्ने निश्चित हुनुपर्छ ।

त्यसो भए हवाईजहाज अब नउड्ने भयो, आजबाट ?

अब यसमा सरकारले आज रिभ्यु गर्छ, बैठकमा बोलायो, केही कुरामा परिवर्तन गर्छ भने उड्छ । होइन भने अन्यथा, घाटामा लगेर यत्रो क्षतिमा यसरी उड भन्दा हामी उड्न सक्दैनौँ । सरकारकै मात हतमा रहेको एन.ए.सी पनि उड्न सक्दैँन ।

पर्यटनमन्त्री योगेश भट्टराईले पनि भन्नुभएको थियो, प्लेन त चलाउनैपर्छ, चलाउनको लागि उहाँहरूले कदम चाल्नैपर्छ, निजी विमान सञ्चालक संघसँग हामीले कुरा गरेका छौँ, अब उहाँहरू सरकारको निर्णयभन्दा ब्याक हुन मिल्दैन भनेर ?

हिजो हामीले सरकारी निकायहरूलाई यसको सम्बन्धमा बैठक भएको थियो । त्यहाँ पनि निरीह कुरा भयो । कुरा के भयो भने सि.सि.एम.सिको निर्णय सुनाउनुभयो, एकचौथाई उडान गर्ने, त्यसमा हामीले मान्यौँ । त्यसपछि गएर भाडा बढाउन पाइँदैन भनियो । एकदम मान्यौँ, भाडा बढाउने पक्षमा हामी पनि छैनौँ । स्वास्थ्य मापदण्डहरू पूर्ण रूपमा पालना गर्ने, त्यो पनि मान्यौँ । तर ५० प्रतिशत, कुनै पनि संसारको मुलुकमा हेर्नुहोस्, कही पनि भनेको छैन, ५० प्रतिशत यात्रुको यस्तो गर्नुपर्छ भनेर । प्लेनको त दुईओटा लहरको दुबैतिर बस्न मिल्छ । स्वास्थ्य मापदण्ड पनि पूर्ण रूपमा लागू गर्ने रे अनि १०० प्रतिशत यात्रु राखेर उडान गर्न नदिए त कसरी हुन्छ ?

भौतिक दूरी त कायम राख्नुपर्छ नि त, प्लेन चढ्दाखेरि पनि त । त्यतातिर तपाईहरूको पनि ध्यान जानुपर्छ नि ?

नेपाल सरकार, आईकाओ, विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागले स्वास्थ्य मापदण्डको आधारमा हामीले एस.ओ.पी. तयार गरेका छौँ । यसमा हामी भाद्र १ गतेदेखि तयारी अवस्थामा बसेका छौँ । भाद्र १ बाट भाद्र १५, भाद्र १५ बाट भाद्र ३१ अनि फेरि गएर असोज ५ भनेर भनिएको छ । अहिले आएर यति कुर्दाकुर्दा यो कन्डिशनल कुराहरूले गर्दाखेरि अप्ठ्यारो परेको हो ।

अब तपाईहरूको मागलाई सरकारले सम्बोधन गरेन र सरकारले आफ्नो नीति अपनाउन चाह्यो भने तपाईहरू उडाउनुहुन्छ ?

होइन, घाटामा उडाऊ भनेको यो सरासर राम्रो होइन । यो कदापि गर्न मिल्दैन । तपाईलाई कसैले घाटामा गर भन्दा गर्नुहुन्छ ?

होइन, देश र जनताको लागि गरिदिनुस् न, अहिलेको परिस्थितिलाई मध्यनजर गरेर ?

होइन, हामीले जनताकै लागि गर्न खोजेको हो । होइन, त्यसो भए डबल भाडाको निर्धारणमा ५० प्रतिशत प्यासेन्जर लिन्छौँ, उहाँहरूले भनिदिनुपर्छ । ५० प्रतिशतसम्म बढि लिन पाईन्छ भनेर भन्नुपर्छ । एयरलाइन्सको हकमा निर्णय नगर्ने ? हामी स्वास्थ्य निर्देशिकाको बारेमा कुनै पनि लापरबाही गर्दैनौँ । जान्दाजान्दै नेपाल सरकारलाई के थाहा छ भने हवाई के के इन्डिकेटरको आधारमा गरिन्छ भन्ने । यो कुरा फेरि सरकारले नै निर्धारण गर्छ । विशेषगरी भरतपुर, तुम्लिङटारको हकमा कुनै पनि हालतमा गर्न सकिन्न । न्युनतम जहाजको ६० देखि ७० प्रतिशत प्यासेन्जर भएपछि मात्रै ब्रेकिङ प्वाइन्ट आउने भएकोले उडान हुनसक्छ । कि त सरकारले भनिदियोस् कि हामी यति दिन्छौँ भनेर, तपाईहरूले जनताको लागि गरिदिनुस् भनेर, त्यसपछि हामी दिन्छौँ । Photo Source: Nepal Tara News/YouTube



प्रतिक्रिया दिनुहोस्

Screenshot