Logo

कोरोना प्रभाव : पूँजिगत खर्चमा गिरावट



असोज १, काठमाण्डौ । सरकारले विगतकै झै यस वर्षपनि पुूँजीगत खर्च बढाउन सकेको छैन । नयाँ आर्थिक वर्षको पहिलो महिना २०७७ साउनमा विगतको तुलनामा भारि मात्रामा पुँजीगत खर्च घटेको छ ।

कोरोना भाइरसको संक्रमणको कारण देखाउदै यस पटकको पुँजीगत खर्च हुन नसकेको अर्थमन्त्रालयले जनाएको छ । तर, देशको पुँजीगत खर्च गत आर्थिक वर्ष २०७५÷७६ देखि नै घट्दै गएको थियो । तर सरकारले भने कोरोनाको कारण देखाउदै ५३ दशमलव ९ प्रतिशतले पुँजीगत खर्च घटेको तथ्याङ्क सार्वजनिक गरेको छ । लकडाउन र निषेधाज्ञाका कारण विकास खर्च कम भएको अर्थ मन्त्रालयको दाबी गर्दै आएको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को साउन महिनामा चालु, पुँजीगत र वित्तीय व्यवस्थातर्फको कुल खर्च १ अर्ब ९८ करोड रुपैयाँमात्र भएको उल्लेख गरेको छ । अघिल्लो आर्थिक बर्षको साउनमा कुल खर्च ४ अर्ब २८ करोड खर्च भएको थियो । गत वर्षको तुलनामा यस वर्षको साउनमा ५३ दशमलव ९ प्रतिशत कम खर्च भएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामै पुँजीगत खर्च कमजोर रहन पुगेको छ । साउनमा पछिल्लो ५ वर्षयताकै कम खर्च भएको छ ।

नयाँ आर्थिक वर्षको पहिलो महिनामा चालु तथा पुँजीगत खर्च निराशाजनक हुनुको कारण कोभिडको संक्रमण भएको जनाएको छ । साउन महिनामा चालु खर्च १ अर्ब ७३ करोड भएकोमा पुँजीगत अर्थात विकास खर्च १३ करोड रुपैयाँमात्रै हुन सकेको छ । साउन महिनामा वित्तीय व्यवस्थातर्फ १२ करोड रुपैयाँ खर्च भएको छ । सरकार यही गतिले अघि बढ्ने हो भने विकास खर्चको अवस्था झन दयनीय हुनेछ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको मासिक बुलेटिनमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन प्रत्रृmया शुरु भइसकेका कारण आगामी दिनमा आर्थिक क्रियाकलाप विस्तार हुने दाबी गरिएको छ ।

साउन महिनामा भन्सार बिन्दुमा संकलन हुने राजस्व कम संकलन भएको छ । वैदेशिक व्यापारमा आयात खुम्चिँदा राजस्वमा त्यसको प्रभाव परेको छ । आन्तरिक राजस्वतर्फ आयकर र मुल्य अभिवृद्धि कर संकलनमा गत वर्षको तुलनामा केही सुधार देखिएको छ । समग्र कर संलकन गत आवको तुलनामा केही कम भएको बुलेटिनमा उल्लेख छ । २०७३÷७४ मा साउन महिनामा ६ अर्ब ४४ करोड खर्च भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७४÷७५ मा ६८ अर्ब १ करोड खर्च भएको छ । २०७५÷७६ मा २५ अर्ब ९१ करोड खर्च भएको छ ।

२०७६÷७७ मा ४ अर्ब २८ करोड खर्च भएकोमा २०७७÷७८ को साउन महिनामा १ अर्ब ९८ करोड मात्र खर्च भएको मन्त्रालयले जनाएको छ । साउनमा पेट्रोलियम पदार्थको तुलनामा मोवाइल फोन सेटको आयात बढी भएको छ । साउनमा २ अर्ब भन्दा बढी मूल्यको आयात भएका पाँच वस्तुहरुमा मोबाइल, भटमासको कच्चा तेल, डिजेल, चामल लगायत रहेका छन् । साउनमा ४ अर्ब बढीको मोबाइल आयात भएको छ । अर्थ मन्त्रालयका अनुसार साउनमा विप्रेषण आप्रवाहमा गिरावट आएको छ ।

वैदेशिक व्यापार घाटामा भने केही सुधार भएका कारण त्यसले चालु खाता घाटा, सोधनान्तर स्थिति र विदेशी मुद्रा संचितिमा सुधार देखाएको छ । यसवर्षको कर असुलीमा मूल्य अभिवृद्धि कर (भ्याट) को हिस्सा सकैभन्दा बढी ३६ प्रतिशत रहेको अर्थमन्त्रालयले जनाएको छ । गत वर्षको यस अवधिमा राजस्वमा भ्याटको हिस्सा ३८ प्रतिशत थियो । यस्तै, गत बर्षको साउनमा आय करको हिस्सा २३ प्रतिशत रहेकोमा यसवर्षको साउनमा बढेर २९ प्रतिशत पुगेको छ । गत वर्ष कुल राजस्वमा गैर करको हिस्सा ५ प्रतिशत रहेकोमा यसपालि ४ प्रतिशतमा खुम्चिएको छ ।



प्रतिक्रिया दिनुहोस्