Logo

राजधानीका ५ सय कोराना संक्रमित सम्पर्कविहीन



काठमाडौं, २ असोज । राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको छ ।

काठमाडौं महानगरपालिकाले जारी गरेको तथ्यांकमा ४ सय ५२ र ललितपुर महानगरपालिकाले दिएको तथ्यांकमा ७५ जनाले स्वाब परीक्षण गर्दा गलत फाराम भरेपछि उनीहरुको खोजीमा समस्या आएको हो । दुई महानगरपालिकाभित्र टेकु अस्पताल र विभिन्न ल्याबमा परीक्षण गर्न स्वाब संकलन गर्दा गलत ठेगाना, मोबाइल नम्बर दिँदा समस्या भएको हो ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले परीक्षणकर्ताले गलत सूचना दिँदा समस्या आएको बताउनुभयो । उहाँले राजधानीका विभिन्न ल्याबमा परीक्षण गर्दा पोजेटिभ आएका संक्रमितले दिएको मोबाइल नम्बर र ठेगाना गलत हुँदा समस्या आइरहेको बताउनुभयो ।

‘हाम्रो तथ्यांकमा ४ सय ५२ देखिएको छ, प्रहरीको सहयोगमा केहीलाई पक्राउ गरे पनि तथ्यांक घट्न सकेको छैन । परीक्षण गर्ने क्रममा काठमाडौं लेखेका हुन्छन्, मोबाइल नम्बर अर्कै दिन्छन् । परीक्षण गर्दा पोजेटिभ आएर सम्पर्क गर्दा स्विच अफ हुने गरेको छ।’ –उहाँको भनाइ थियो ।

कामपा कोभिड–१९ सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले आफ्नै कर्मचारी खटाएर ट्रेसिङ गर्दा पछि झुटो विवरण उल्लेख गर्ने संक्रमितलाई फेला पार्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विवरणअनुसार संक्रमण देखिएको व्यक्ति नभेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य सेवा विभागमा विवरण पठाउँछौं ।’

प्रहरीको सहयोगमा केहीलाई फेला पारेको हुन सक्ने उहाँको भनाइ थियोे । ‘संक्रमित भागेपछि उनीहरुले कतिलाई संक्रमणको जाखिम बढाउछन् भन्ने विषयमा कुनै तथ्यांक छैन । तैपनि हामीलाई यही विषयले सधैंजसो तनाब हुने गरेको छ।’ –विभागीय प्रमुख कुँवरले भन्नुभयो । कामपाले सार्वजनिक गरेको तथ्यांकमा त्यस्तो संख्यालाई नखुलेको भनी उल्लेख गरेको छ ।

स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले राजधानीमा स्वाब दिएर संक्रमित देखेपछि मोबाइल स्विच अफ गर्ने व्यक्तिको सम्पर्क गर्ने जिम्मा कामपालाई दिने गरेको छ । कामपाले फेला नपारेपछि सरकारले ती व्यक्तिलाई खोजी गर्न प्रहरीलाई जिम्मा दिने गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले शुरुआती चरणमा यस्ता घटना भएपछि अहिले कमी हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘केहीलाई खोजी गर्न पत्राचार भएको थियो, केहीलाई पक्राउ गरी बुझाइसकेका छौं ।’ तर कामपाको स्वास्थ्य विभागले अझै संक्रमण भएर भाग्नेको संख्या बढ्दो क्रममा रहेको दाबी गरेको छ ।

एसएसपी ज्ञवालीले भने शुरुमा विदेशबाट जहाजमा आएका नेपालीले ढाँट्ने गरेको र उनीहरुलाई पत्ता लगाएर आइसोलेसनमा राख्ने काम भइरहेको बताउनुभयो। जनस्वाथ्य विभाग प्रमुख कुँवरले केही दिनअघि मात्र काठमाडौंबाट भागेर चितवन पुगेका एक संक्रमितलाई पक्राउ गरेर ल्याइएको बताउनुभयो ।

लतितपुर महानगरपालिका कोरोना सम्पर्क अधिकृत देवी गुरुङले ललितपुरमा करिब ७५ जनाले झुटो विवरण पेस गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘तीमध्ये केहीलाई खोजी गरेर सम्बन्धित ठाउँमा पु¥याएका छौं ।’

स्वास्थ्य सेवा विभागले जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुर र जिल्ला जनस्वास्थ्यले महानगरपालिकालाई गलत सूचना दिने संक्रमितको खोजी गर्न आग्रह गर्दै पत्र पठाउने गरेको र सोही आधारमा गलत सूचना दिनेको कन्ट्याक्ट ट्रेसिङ गरी खोजी गर्ने गरेको छ ।

काठमाडौं परिसर प्रमुख ज्ञवालीले अहिले यस्ता घटना कम हुने गरेको दाबी गर्दै सम्बन्धित निकायले आग्रह गरेअनुसार खोजी गर्ने गरेको जानकारी दिनुभयो । गलत सूचना उल्लेख गरेर संक्रमित भएको जानकारी हुनेबित्तिकै फरार हुनेको संख्या सरकारले गोप्य राखेको छ । कामपाले भने सबै विवरण पारदर्शी गर्र्नुपर्ने भन्दै लिस्ट सार्वजनिक गर्ने गरेको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्