Logo

कोरोना प्रभावितलाई सहुलियतपूर्ण कर्जा: ५० अर्बको राहत कोषको कार्यविधि आगामी मन्त्रिपरिषद्मा पेश गरिँदै



काठमाडौं, असोज २ । कोरोना महामारीबाट प्रभावितलाई उद्यम तथा व्यवसाय सञ्चालनका लागि पूँजीको जोहो गरिदिन ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने कार्यविधि तयार भएको छ ।

चालू वर्षको बजेटमार्फत घोषणा गरिएको सहुलियतपूर्ण कर्जाअन्तर्गतको ५० अर्बको राहत कोष सञ्चालन गर्न अर्थ मन्त्रालयले आगामी मन्त्रिपरिषद् बैठकमा कार्यविधि पेश गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले यससम्बन्धी कार्यविधि तयार गरेर अर्थ मन्त्रालयमा बुझाइसकेकाले अर्थले उक्त कार्यविधिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी गरेको अधिकारीहरूले बताएका छन् ।

कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गरिएका बन्दाबन्दी र निषेधाज्ञाका कारण धराशयी बनेको निजीक्षेत्रलाई उकास्न बजेटमा उल्लिखित व्यवस्था कार्यान्वयनमा ल्याउन कार्यविधि पास गरेर लागू गर्न लागिएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख एवं सहसचिव झक्कप्रसाद आचार्य आगामी मन्त्रिपरिषद् बैठकमै कार्यविधि पठाउने गरी मन्त्रालयले सम्पूर्ण तयारी पूरा गरेको बताउँछन् । ‘अर्थले कार्यविधिमा गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरिसकेको छ । अब सीधै मन्त्रिपरिषद्मा लगिनेछ,’ उनले भने ।

मन्त्रिपरिषद्बाट कार्यविधि छिट्टै पास गरी ५ प्रतिशत ब्याजमा सहुलियतपूर्ण ऋण उपलब्ध गराई कोरोनाबाट प्रभावित क्षेत्रको पुनरुत्थानको काम अघि बढ्ने उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्