Logo

लामो दूरीका यातायात सुचारु



काठमाडौं, असोज २ । संघीय सरकारले बिहीबारबाट लामो दूरीका सम्पूर्ण सार्वजनिक यातायात खोल्ने निर्णय गरे पनि स्थानीय तहसँग सहकार्य नहुँदा काठमाडौंबाट बाहिरिएका गाडी विभिन्न जिल्लामा होल्ड भएका छन् ।

सरकारले मन्त्रिपरिषद्को निर्णयबाट सार्वजनिक यातायात खुलाए पनि बाटोमा प्रहरीले रोकेर दुःख दिएको यातायात व्यवसायीहरूले बताएका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि चैत ११ देखि लगाइएको देशव्यापी बन्दाबन्दीसँगै लामो दूरीमा चल्ने सवारीसाधन ठप्प भएका थिए । साउनमा बन्दाबन्दी खुकुलो पारिँदा छोटो दूरीको यातायात सञ्चालन खुला गरिएको थियो ।

सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गरी गाडी चलाए पनि स्थानीय सरकार र केन्द्र सरकारबीच समन्वय नहुँदा बाटोमा प्रहरीले गाडी रोकेर दुःख दिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए ।

सुनसरी, धादिङ, विराटनगर, चितवन र झापालगायत जिल्लामा गाडी रोकिएको उनले बताए । ‘कतिपय ठाउँमा ५ गतेबाट मात्र यातायात खोल्ने निर्णय भएको भन्दै रोकिएको रहेछ र कतिपय ठाउँमा आपूmसँग समन्वय नभएको भन्दै प्रमुख जिल्ला अधिकारीले रोकेका छन्,’ उनले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहीवार पहिलो दिन ६९ वटा सार्वजनिक बस काठमाडांै भित्रिएकामा ५६ वटा मात्र बाहिरिएका छन् ।

थोरै मात्रामा सार्वजनिक सवारीको चहलपहल भएकोमा निजी सवारी, मालवाहक सवारीसहित पहिलो दिन काठमाडौंबाट बाहिरिनेको संख्या ५ हजार ३ सय ३३ र काठमाडौंमा भित्रिनेको संख्या ४ हजार ७५ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्